देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नौ वर्षपछि नेविसंघ महाधिवेशनमा, ११ औं महाधिवेशन आजबाट

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको ११ औं महाधिवेशन आजदेखि राजधानीमा सुरु हुँदैछ । नौ वर्षपछि हुन लागेको नेविसंघको ११ औं महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजे गर्ने कार्यक्रम तय भएको छ ।  नेविसंघले संगठनमा नेतृत्वका लागि ३२ वर्षे उमेरहद तोक्ने भएको छ । यो ११ औं महाधिवेशले अनुमोदन गरेर १२ औं महाधिवेशनबाट लागू हुनेछ ।हरेक दुई वर्ष तीन महिनाभित्र महाधिवेशन गर्ने बाध्यकारी व्यवस्था, समावेशी, प्रान्तीय स्वरूपजस्ता प्रावधान पनि यसपटक विधानमा समेटिएको छ । अब नेविसंघमा एक व्यक्ति एक पदको अवधारणा पनि व्यवस्था गरिने प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । महाधिवेशन निर्देशक समितिले जनाएअनुसार विद्यार्थी र युवाको भावनायुक्त नेविसंघ बनाउन ३२ वर्षको उमेरहद राख्नुपरेको हो ।

‘नेविसंघको नाममा ४० वर्ष पुगेकाले पनि राजनीति गर्नुपर्ने अवस्था आएपछि हामीले बाध्य भएर ३२ वर्षको उमेरहद राखेका हौं,’ निर्देशक समितिका एक सदस्यले भने । पार्टीले बनाएको निर्देशक समितिको संयोजकमा डा. प्रकाशशरण महत छन् भने सदस्यहरूमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल रहेका छन् । नेविसंघले एक सय ६१ सदस्यको पदाधिकारीसहितको कार्यसमिति प्रस्ताव गरे पनि निर्देशक समितिले एक सय ५१ सदस्यीय समिति रहने निर्णय गरेको छ । एक सय ५१ कार्यसमितिमा एक सय २९ निर्वाचित हुनेछन् । २२ सदस्य अध्यक्षले मनोनीत गर्नेछन् । अब एक अध्यक्ष, १३ उपाध्यक्ष, दुई महामन्त्री, १६ सहमहामन्त्री र निर्वाचित र कोषाध्यक्षसहित केन्द्रीय कार्यसमिति एक सय ५१ सदस्यीय हुने भएको हो ।

अध्यक्ष खुला प्रतिस्पर्धाका आधारमा निर्वाचित हुनेछन् । १३ उपाध्यक्षमा सातजना सात प्रदेशबाट निर्वाचित हुनेछन् । महिला, दलित, जनजाति र मधेसबाट समावेशी आधारमा चारजना उपाध्यक्ष निर्वाचित हुनेछन् । दुईजना मनोनीतमा एक महिला उपाध्यक्ष हुनेछन् । महामन्त्री दुईजना निर्वाचित हुनेछन् भने एकजना मनोनीत गरी तीनजना हुनेछन् ।

१६ सहमहामन्त्रीमध्ये सात प्रदेशबाट सातजना, दुर्गम पिछडिएको क्षेत्रबाट एकजना, उपत्यकाबाट एक, महिला, दलित, जनजाति र मधेसबाट चारजना समावेशी आधारमा निर्वाचित हुनेछन् भने एक महिलासहित तीन मनोनीत हुनेछन् ।

यसअघि कांग्रेस विभाजित हुुँदा तत्कालीन संस्थापनको ४१ सदस्यीय कार्यसमिति थियो भने शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकको ५५ सदस्यीय कार्यसमिति थियो । पार्टी एकीकरणपछि तदर्थ समितिको कार्यसमितिमा दुवैका ५५–५५ सदस्य गरी एक सय १० सदस्यीय बनाइएको थियो ।

निर्देशक समितिका सदस्य एवं नेविसंघका पूर्वसभापति प्रदीप पौडेलले नेविसंघको विधान संघीय संरचनाको स्वरूपमा बनेको जानकारी दिए । प्रान्तीय समिति बन्ने संगठन हुने गरी बलियो छुट्टै कार्यालय हुने, प्रान्तले कार्यसम्पादन गर्न पाउने विधानमा व्यवस्था गरिएको उनले बताए । कार्यसमितिमा विश्वविद्यालय, सीटीईभीटीजस्ता क्षेत्रबाट पनि प्रतिनिधित्व गरिएको पौडेलले जानकारी दिए ।

निर्देशक समितिले अधिवेशन नभएका ११ जिल्ला, केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालयसहितको अधिवेशनको टुंगो अझै लगाउन सकेको छैन । आइतबार उद्घाटन हुने भनिएपछि यो विवाद निर्देशक समितिले शनिवार अबेलासम्म पनि टुंगो लगाएको छैन् । त्यस्तै, विधिसम्मत महाधिवेशन गर्नुपर्ने मागसहित कुन्दनराज काफ्लेको समूह कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आमरण अनशनमा बसिरहेको छ ।

६ दिनदेखि गणेश सापकोटा र रत्नहरि ढुंगेल विधिसम्मत महाविधेशनको माग गर्दै आमरण अनशन बसिरहेका छन् । महाधिवेशन प्रतिनिधिका रूपमा चयन गरिएका एक हजार ६ सय प्रतिनिधि फर्जी भएको यो पक्षको आरोप छ । बिहीबारबाट विधिसम्मत महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा बाँकेको बागेश्वरी पब्लिक क्याम्पसका अध्यक्ष महेन्द्र शर्मा पनि आमरण अनशनमा छन् ।

आसन्न नेपाल विद्यार्थी संघको महाधिवेशनको समय नजिकिँदै गर्दा विवाद मिलाउनेबाहेकका अन्य सबै काम काम सकिएको प्रवक्ता यूपी लामिछानेले बताए ।  महाधिवेशन स्थल भृकुटीमण्डपमा नेविसंघका नेताहरूले चारैतिर पार्टी र नेविसंघको झन्डाले राताम्मे बनाएका छन् भने महाधिवेशन स्थल बाहिर नेविसंघको विभिन्न पदका उम्मेदवारहरूले आ–आफ्नो पक्षमा मत दिन आग्रह गर्दै पोस्टर र पम्पलेटहरू टाँस्ने काम पनि चलिरहेको छ । 

नेविसंघ केन्द्रीय समितिले दिएको जानकारीअनुसार नेविसंघको ११ औं महाधिवेशनको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । अहिले बन्दसत्रमा प्रस्तुत गरिने नेविसंघको शैक्षिक, राजनीतिक र सांगठनिक दस्तावेज तयार भइसकेको छ । त्यस्तै गरी गोपालकृष्ण घिमिरेको नेतृत्वमा पाँच सदस्यीय वकिलहरूको निर्वाचन समिति पनि गठन भइसकेको छ । महाधिवेशनस्थल सिँगार्ने काम लगभग सकिइसकेको छ भने प्रचारप्रसारको काम पनि अन्तिम चरणमा पुगेको छ । यसैगरी महाधिवेशनको सम्पूर्ण सुरक्षाको जिम्मा भूतपूर्व सैनिक संघले जिम्मा लिएको प्रवक्ता युपी लामिछानेले बताए ।  

]]>