देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिलेको नयाँ नेपाल !

देशान्तर

तेजप्रसाद सिटौला
अन्ततोगत्वा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पाँच सय ९८ को सदनबाट तीन सय ६३ मत ल्याएर प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित भएका छन् । पहिलो पटक २०६५ सालमा निर्वाचित (प्रधानमन्त्रीमा) हुँदा नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो शत्रु मान्ने दाहाल यो पाला नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न सफल भएका छन् । दाहाल प्रधानमन्त्री बन्दै गर्दा देखिएको दृश्यमा दाहालभन्दा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा बढी खुसी देखिन्थे । उनी दाहालको दाहिने हात बारम्बार माथि उचालिरहेका देखिन्थे । यत्रो खुसी देउवामा किन छायो त ? (क) माओवादी केन्द्रलाई एमालेबाट अलग्याएकोमा, (ख) केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने गोटी बनेकोमा, (ग) मधेस केन्द्रित दलहरूलाई नजिक ल्याउन सकेकोमा, (घ) दाहाल प्रधानमन्त्री भएपछि कुनै चमत्कार भइहाल्छ कि भनेर, ? (ङ) सत्ता राजनीतिका खेलाडी देउवा त्यस्तै खेलाडीसित जोडी बाँधियो भनेर, (च) नौ महिनापछि सत्ता सहज रूपमा आफ्नो हातमा आउँछ भनेर, (छ) आउला ? नौ नौ महिनामा फेरिने सरकारले मुलुकलाई स्थायित्व दिने कुरामा जनता कति विश्वस्त छन् ? त्यो देउवा र दाहालले बुझेका छन् ?

पुष्पकमल दाहाल २०७२ साल असोज २३ गते १४ बुँदे सहमति गर्दै एमाले–माओवादी केन्द्रको गठबन्धन बनाएर महत्वपूर्ण मन्त्रालयहरू लिन सफल भएका थिए । सात महिना नबित्तै २०७३ साल वैशाख २१ गते कांग्रेससित मिलेर ओली सरकार गिराउन तत्पर भए । दुई दिनपछि नै नौबुँदे सहमति गरेर कांग्रेसलाई लोप्पा खुवाउँदै ओलीका प्रशंसक बने । दाहालका लागि सहमति भनेको नै तोड्नका लागि हो । २८ असार २०७३ मा गठबन्धन सरकारबाट अलग भएको घोषणा गरे । प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्दै आफू प्रधानमन्त्री बन्न नेपाली कांग्रेसको पोल्टोमा पसे । नौ महिनापछि दाहाल सहमतिअनुसार प्रधानमन्त्रीको कुर्ची देउवालाई हस्तान्तरण गर्न तैयार होलान् ? उनी फेरि एमालेको पोल्टोमा पर्न नजालान् भन्ने के ग्यारेन्टी छ ? राजनीति हो– दाहाल र ओली मिलेर माछा—माछा भ्यागुतो गर्दै देउवाको हातमा के पर्ला– माछा या भ्यागुतो ? २०६९ साल चैत ३ गते जातीय राज्यको माग गर्दै नेपाली नेपालीबीचको सद्भाव समाप्त पार्न उद्दत दाहालका निम्ति राजनीति मात्र जुवा हो । उनी सडकमै उत्रेका होइनन् र ?

कांग्रेस–माओवादी केन्द्र अर्थात् देउवा–दाहाल गठबन्धन अगाडि कसरी जालान् ! मुलुकका सामु थुप्रै चुनौतीहरू छन् । संविधान कार्यान्वयनको प्रश्न कम पेचिँदा छैन । थुप्रै नयाँ कानुनहरू ल्याउनुपर्नेछ । राज्यहरूको सीमांकन र राजधानी बनाउने कुरा सहज छैन । मधेस केन्द्रित दलका मागहरू कसरी र कुन हदसम्म सम्बोधन गर्ने ? भुइँचालो र बाढीपीडित जनताका लागि पुनर्निर्माण र पुनर्वासको व्यवस्था कम सकसपूर्ण छैन । अस्थिर सरकारका कारण दातृ राष्ट्रहरू क्षुब्ध छन् । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगद्वारा विस्तृत शान्तिसम्झौता पूरा गर्ने काम पनि सहज देखिन्न । द्वन्द्वकालमा भएका जघन्य अपराधका मुद्दाहरू कतिपय देशका अदालतमा छन् भने कतिपय अन्तर्राष्ट्रिय अदालत पुगेका छन् । सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेशहरू नजिरको रूपमा छन्– तिनको कार्यान्वयन गराउनु सरकारको जिम्मेवारी हुन्छ । पूर्ववर्ती सरकारले गरेका चीनसितका सन्धि–सम्झौतालाई लिएर भारत रुष्ट बनेको छ । (भनिन्छ, ओली सरकार गिराउन भारतको भूमिका रहेको छ ।)– दुई छिमेकी मुलुकलाई सम–दूरीमा राखेर अघि जान दाहाललाई कत्तिको सहज होला ? २०७४ साल माघ ७ गते अगावै स्थानीय, राज्य र संसद्को निर्वाचन गराउने कुरा संविधानमा नै उल्लेख छ– कति सम्भव छ ? भएन भने संवैधानिक संकट आउन पनि सक्दछ । यी सबै कार्यहरू गर्न (संसद्मा) एमालेको साथ र सहयोग आवश्यक छ । भन्नत, दाहालले संसद्मा भने– हामी सबै एउटै नाउमा सवार छौ; डुब्दा म मात्र डुब्दिनँ । उनको यो भनाइ र उनका (दाहाल) पहिलेका गराइ– भनाइलाई एमालेले कसरी लिएको छ त्यो पछि थाहा होला । अहिले भन्ने कुरा कति मात्र हो भने– दाहाललाई संविधान लागू गर्न र आवश्यक संविधान संशोधन गर्न एवं विस्तृत शान्तिसम्झौतालाई पूर्णता दिन एमालेको सहयोग जरुरी छ ।

दाहालका सामु चुनौतीमात्र छैनन्, उनी सच्चिएर गए र सबैलाई मिलाएर लान सके भने प्रधानमन्त्री पद उनका लागि अवसर पनि हो । उनको आफ्नै पार्टीभित्र र बाहिर पनि गिर्दो साखलाई बचाउने पनि यो अवसर हो । मुलुक जहिलेसम्म अस्थिर रहन्छ, जबसम्म संक्रमणको अन्त्य हुँदैन विकासको रटान नलगाए पनि हुन्छ । दाहालले माथि उल्लेख गरिएका चुनौतीहरूको सामना गर्दै सबैलाई समेट्न सके भने– राष्ट्र एकमत हुन्छ । तब नेपाललाई आर्थिक रूपमा अघि बढ्न कसैले रोक्न सक्दैन । दाहाल इतिहासमा सम्झनयोग्य नेता बन्ने छन्; राष्ट्रिय पोसाक नलगाए पनि । होइन उनले पहिलाकै रूप देखाउँदै गए र राजनीतिलाई कप्टी पासाको रूपमा मात्र बुझ्ने र सत्ता टिकाउ राजनीतिमात्र गर्ने हो भने उनी त डुब्छन् नै; नेपाली कांग्रेसका लागि पनि उनी धेरै भारी पर्ने छन् । अर्थात् दाहालको खालमा कांग्रेस पनि दाउ लाग्नेछ । नेपाली राजनीति र नेपाली नेतृत्व जनतामाझ अत्यन्तै अलोकप्रिय बन्दैछ । शान्ति, स्थिरता र विकास आकाको फल बन्दैछ । केवल सत्ताको खेलमा रमाउने, राष्ट्रिय स्वार्थलाई गौण मान्ने । प्रत्यक्ष र समानुपातिक प्रतिनिधित्वका कारण नेताहरू तानाशाह बनेका छन् र संसद् गोजीका रुमाल । नागरिक समाज पनि निष्पक्ष र स्वतन्त्र नभएकाले सबैतिर विकृत राजनीति हाबी भयो । त्यही अवस्था बुद्धिजीवीहरूको छ । यस्तो अवस्थामा छ अहिलेको ‘नया नेपाल ।’ के नेपालमा तेस्रो आन्दोलनको गर्भाधान हुँदैछ ?

 

]]>