देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज श्रीकृष्ण जन्माष्टमी, भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

देशान्तर

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।  दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

कंसले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीको कोखबाट श्रीकृष्णको जन्म भएको थियो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत् वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पु¥याऊ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।

वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिकहरु ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख गरिएको छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंसको बध गरी हजुरबा उग्रसेन, माता पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिदिएको पौराणिक विश्वास छ । 

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरका थिए । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए ।  यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भगवत गीता हो । यसैकारण श्रीमद्भगवत गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।

आजको दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौँको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको प्रा डा ऋषिराम पोखे्रल बताउँछन् । 

]]>