देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार होइन संविधान कार्यान्वयलाई महत्व दिनुपर्छ : बरिष्ठ नेता पौडेल

देशान्तर

बिराटनगर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताएका छन् । सरकारले स्थानिय निकायको निर्वाचन मंसिरमा गर्ने कार्यतालिका सार्वजनिक गरेपछि कांग्रेसले त्यसको विरोध गर्दै आएको छ । तर  बरिष्ठ नेत पौडेलले सुनसरीको इनरुवामा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९३ औं जयन्ती तथा शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कांग्रेस निर्वाचनको बिरोध गरेको नभई संविधान अनुरुपको निर्वाचनको माग गरेको स्पष्ट पारे ।

उनले भने– ‘नेपाली कांग्रेस निर्वाचनबाट भाग्दैन । तर  निर्वाचन संविधानले गरेको ब्यवस्था अनुरुपको हुनु पर्छ । कांग्रेसले निर्वाचनको विरोध नगरेको उल्लेख गर्दै यहि संविधानको प्रावधान अनुसार निर्वाचन हुनु पर्छ ।’ उनले स्थानीय निकायको निर्वाचन आवश्यक छ भन्दै संविधानको संरचना अनुसार नै सबै निर्वाचन हुनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले सरकार परिवर्तनभन्दा पनि संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण रहेको स्पष्ट पारे । गिरिजाप्रसाद कोइरालाको ९३ औं जयन्तीका बिभिन्न कार्यक्रममा सहभागि हुनका लागि बिराटनगर पुग्नुभएको पौडेलले विमानस्थलमा शनिवार बिहान पत्रकारसँग कुरा गर्दै सरकार परिवर्तनका सम्बन्धमा पार्टी भित्र कुनै छलफल नभएको स्पष्ट पार्नुभयो ।  

सत्ताभन्दा पनि संविधान कार्यान्वयनतर्फ दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । संविधान पुनः लेखनका कुरा सम्भव नभएको बताउँदै बरिष्ठ नेता पौडेलले संविधान संशोधन गरेर मधेसी मोर्चाका माग सम्बोधन गर्न सकिने बताउदै सरकारले वार्ताका लागि पत्र पठाएकाले अब मोर्चालाई वार्ताको माध्यमबाट समस्या समाधानका लागि अग्रसर हुन आग्रह गरे । मधेसवादीहरु र सरकारको बीचमा आफूहरुले समन्वय गरेर यो समस्याको निकास निकाल्ने उनको  भनाई थियो । सरकारले पनि मधेसका समस्यामा मेरो गोरुको बाह्रै टक्का गर्न नहुने र मधेसवादीहरुले पनि प्राप्त उपलब्धिलाई स्वीकारेर बाँकी मागका लागि सम्झौता गर्न तयार हुनु पर्ने पौडेलको भनाई थियो । 

वरिष्ठ नेता पौडेलले सत्ताको खेलमा नलागी कसरी देशलाई समृद्ध बनाई सम्पूर्ण नेपालीको समान हैसियत बनाउन सकिन्छभन्ने विषयमा सहमति तथा सहकार्य गर्न जरुरी भइसकेको पनि स्पष्ट पारे । गिरिजाप्रसाद कोइरालाजस्ता भविष्य द्रष्टा र बिपी कोइरालाजस्ता महान् नेताले नेतृत्व गरेको पार्टी यतिखेर केही शिथिल जस्तो देखिए पनि जस्तोसुकै संकटको समेत सामना गर्न जुर्मुराएर गति लिने दृढतासमेत व्यक्त गरे । सबै जाति भूगोलमा बसोबास गर्दै आएका मानिसको साझा समस्याको पहिचान गरी राष्ट्रिय ठोस नीति बनाउन अब काँग्रेसले नै नेतृत्व गर्नेबेला आएको वरिष्ठ नेता पौडेलले बताए । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले राष्ट्रनायक जिपी कोइरालाले देशलाई गणतान्त्रिक संविधान, धर्म निरपेक्ष र समान पहुँचसहितको समावेशी राज्य बनाउने परिकल्पना गरेको उल्लेख गर्दै त्यसलाई साकार पार्नु नै उहाँप्रतिको सच्चा सम्मान गरेको ठहर्ने स्पष्ट पारे । नेपाललाई विश्वको अन्य विकसित मुलुकसरह समृद्ध बनाउन सहमति, सहकार्य र एकता जरुरी छ भन्ने गिरिजाबाबुको आदर्शलाई सबै राजनीतिक दलका शीर्ष नेताले अनुभूति गरीे अब देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेतर्फ गम्भीर भएर सोच्न आवश्यक रहेको कुरामा उनले जोड दिए । 

अर्का केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले राष्ट्रनायक स्व नेता गिरिजाप्रसाद कोइरालामा राष्ट्रप्रतिको गहन जिम्मेवारी बोध भएकै कारणले नेपालले गणतान्त्रिक संविधान प्राप्त गर्ने अभियानले सार्थकता पाएको बताए । त्यसैगरी केन्द्रीय सदस्य मीन विश्वकर्मा र सरिता प्रसाईंले बिपी कोइराला, गणेशमान सिँह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता महान् व्यक्तिले सम्हालेको काँग्रेस पार्टीले नै देशको समस्या समाधान गरी जनचाहनाअनुरुपको परिवर्तन ल्याउने कुरामा ढुक्क हुन आग्रह गरे ।

जिल्ला सभापति राजीव कोइरालाको अध्यक्षतामा भएको गिरिजाप्रसाद कोइरालाको ९३आँै जन्मजयन्ती तथा सालिक अनावरण कार्यक्रममा सांसद सूर्यदेव उराव, रामबहादुर बस्नेत, मेहता मेहन्दी हुसैन, हाजी मोहम्मद अब्दुल मियाँ, महिला संघकी अध्यक्ष विजया कट्वाल, अगमलाल चौधरी, सुजेन्द्र तामाङ र केदार भण्डारीलगायतले पनि स्व कोइरालाले लोकतन्त्र, देश विकासमा गरेका योगदानका बारेमा बोलेका थिए । 

]]>