देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनको सक्रियतामा विश्वस्तरीय कुलिनरी एकेडेमी

देशान्तर

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरू नेपालमा गफमात्र गर्छन् काम केही पनि गर्दैनन् भन्ने यदाकदा आरोप नलाग्ने गरेको पनि होइन । तर पछिल्लो समय एनआरएनहरूले नेपालमा लगानी बढाउँदै लगेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ, आजबाट काठमाडौंको बानेश्वरमा स्थापना हुन लागेको प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी ।  

अस्ट्रेलियामा बसोबास गर्दै आएका एनआरएनहरूको सक्रियतामा सञ्चालनमा ल्याइएको यो एकेडमी एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेशलाल केसीको विशेष सक्रियतामा आजदेखि औपचारिक रूपमा सञ्चालमा आउन लागेको छ । ‘गैरआवासीय नेपाली (एनआरएन) हरू नेपालमा गफमात्र गर्छन् काम गर्दैनन् भन्ने आरोपलाई चिर्न र आफ्नै देश र समाजको लागि केही गरौं भन्ने हेतुले यो एकेडेमी स्थापना गरेका हौं’, आजबाट उद्घाटन हुन लागेको प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमीका सञ्चालक तथा एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेशलाल केसीले एकेडेमी स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै देशान्तरसँग भने, ‘यो फगत व्यवसायमात्र होइन यो त पर्यटन उद्योगको सहयोगी उद्योग र रोजगारीको अवसर सिर्जना गर्ने पवित्र कार्य पनि हो ।’ 

कस्तो शिक्षा दिन्छ एकेडेमीले 
काठमाडौंको बानेश्वरमा स्थापित हुने एकेडेमीले कुलिनरी आर्टसमा कुकिङसम्बन्धी विशेष शिक्षा दिने जनाइएको छ । यस शिक्षालयबाट विद्यार्थीहरू कुकिङमा पोख्त हुने केसीले प्रष्ट पारे । अस्ट्रेलियाका कलेजहरूको सम्बन्धन लिएको यो एकेडेमीले विश्वस्तरीय मापदण्डमा आधारित कुकिङसम्बन्धी शिक्षा दिने केसीले बताए । एक वर्षको कोर्स अवधि रहेको यस एकेडेमीमा ६ महिना सिद्धान्त ६ महिना इन्टर्नसिप रहेकोमा कुल १४ सय घन्टाको कोर्स रहेको छ । नेपालका पाँचतारे होटेलहरूमा इन्टर्नको व्यवस्था मिलाइएको एकेडेमीले विश्वस्तरीय गुणस्तरको विशुद्ध भोकेसनल तालिम भएको र यसले बृहत् रोजगारी सिर्जना गर्नमा सहयोग पुर्‍याउने विश्वास लिएको केसीले लिएका छन् । 

पढ्नलाई योग्यता कति चाहिन्छ ? 

भोकेसनल शिक्षा भनिए पनि यो एकेडेमीमा भर्ना हुनको लागि न्यूनतम प्लस टु पास गरेको हुनै पर्ने मापदण्ड राखिएको बताउँदै केसीले देशान्तरसँग भने, ‘ विशुद्ध सीपमूलक तालिम भए पनि यो डिग्री अन्तर्राष्ट्रियस्तरको भएकोले न्यूनतम योग्यता राखिएको हो ।’ केसीका अनुसार विद्यार्थीहरूमा हुनुपर्ने अर्को योग्यता भनेको अंग्रेजी भाषामा दक्षता पनि हो । एक सेमेस्टरमा ७० जना विद्यार्थीमात्र भर्ना लिने उक्त एकेडेमीमा सुविधासम्पन्न सेवासुविधा उपलब्ध हुने केसीले जानकारी दिए । 

अवसर कहाँ कस्तो पाइन्छ ? 
१४ सय घन्टाको कोर्स नेपालमा सकिएपछि एकेडेमीले नै उत्कृष्ट विद्यार्थीहरूको लागि जब प्लेसमेन्टको व्यवस्था गरिएकोले एकेडेमीमा आएको मान्छे कोही पनि बेरोजगार बस्नु नपर्ने केसीले प्रष्ट पार्दै भने, ‘देशभित्र र बाहिर पनि पाँचतारे होटेलहरूमा जागिरको व्यवस्था हामी आफैंले मिलाउँछौं । विश्वभर अत्यधिक माग भएको कुकिङमा दक्षता भएको पेसामा जागिरको चिन्ता नै हुँदैन ।’केसीका अनुसार विश्वस्तरीय सीप भएका कुकहरूको लागि अवसरको चिन्ता छैन । किनभने अहिलेको समयमा अस्ट्रेलियामा मात्र सात हजारभन्दा बढी दक्ष कुकहरूको माग रहेको छ जुन आपूर्ति भइरहेको छैन । त्यस्तै न्युजिल्यान्डमा पनि मागअनुसारको आपूर्ति हुन सकिरहेको छैन । यस हिसाबले अबको एकदुई वर्षमा ती देशहरूमा दक्ष कुकको माग २५ हजारभन्दा बढी हुने अपेक्षा केसीले गरेका छन् । 

सेवा र व्यवसाय दुवै 
केसीका शब्दमा यो एकेडेमी न त विशुद्ध व्यवसाय हो न त विशुद्ध समाजसेवा । यो त ती दुवैको मिश्रण हो । यो कुरालाई पुष्टि गर्दै केसी अगाडि भ्न्छन्, ‘नेपालमा नै दक्ष जनशक्ति नहुँदा हस्पिटालिटी क्षेत्रमा समस्या छ जुन पर्यटनको सहयोगी पक्ष हो, त्यस्तै अर्को कुरा केही अदक्ष श्रमिक निर्यात गरेर पीडा पनि भित्र्याइरहेका छौं । यस्तोमा हामीले यस्तो सीप प्रदान गर्‍र्यौं भने यसबाट जनतालाई रोजगारी, उच्च आम्दानी, देशको पर्यटनमा सहयोग र सँगै व्यवसाय पनि हुने भयो ।’ यही कुरालाई मनन् गरेर अस्ट्रेलियामा रहेका एनआरएनहरूको सहयोगमा आफू एकेडेमी स्थापना गर्न अगाडि बढेको बताउँछन् केसी ।

आगामी दिनहरूमा स्नातकस्तरको कक्षा पनि सञ्चालन गर्ने र स्विट्जरल्यान्डलगायतका देशका विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्ने योजना बनाएका केसीले एकेडेमीलाई नेपालका अन्य सहरका साथै विदेशमा पनि फ्रेन्चाइज स्थापना गर्ने योजना रहेको सुनाए । 

शिक्षक पनि विदेशी नै 
एकेडेमीमा शिक्षकदेखि व्यवस्थापकसम्म विदेशी हुनु अर्को विशेषता हो । जहाँ प्रिन्सिपलदेखि शिक्षकसम्म अस्ट्रेलियाबाट ल्याइएको केसीले बताए । उनका अनुसार अस्ट्रेलियन कलेजहरूको कोर्स भएकोले त्यहीबाट शिक्षक ल्याउँदा सिकाइ प्रभावकारी हुने भएको कारण यस्तो व्यवस्था मिलाइएको हो । 

 

शुल्क कति ? 
केसीका अनुसार नेपाली विद्यार्थीले अस्ट्रेलिया गएर यही सीप हासिल गर्न खर्चिनुपर्ने शुल्कको आधा शुल्कमात्र नेपालमा तिरे हुने व्यवस्था गरिएको छ । ‘यही कोर्स सिक्नको लागि अहिले पनि नेपालीहरू अस्ट्ेरलियामा गएर १४/१५ लाख तिरिरहेका छन् तर हामीले त्यसको आधाभन्दा पनि कम शुल्कमा सीप प्रदान गर्ने व्यवस्था मिलाएका छौं ।’ केसीले भने । केसीका अनुसार एक वर्षको यो कोर्स हासिल गर्न विद्यार्थीले ६ लाख रुपैयाँ तिरे पुग्ने भएको हो । 

 

होटेल व्यवस्थापनभन्दा फरक 
केसीका अनुसार आफूहरूले दिन लागेको शिक्षा नेपालमा अहिलेसम्म छैन । उनका अनुसार शुद्ध कुलिनरी सीप प्रदान गर्ने संस्थाहरू नभएको र अहिलेको विश्वमा यसकै माग उच्च भएको सन्दर्भमा यस्तो शिक्षा प्रदान गर्ने एकेडेमी खोल्न उत्सुक भएको बताए । आफूहरूले पाँचतारे, साततारे होटेलहरूमा कसरी कुकिङ योजना बनाउने, कसरी पौष्टिक आहार बनाउने भनेर गहिराइमा पुगेर प्रयोगात्मक तरिकाले सिकाउने र जसको कारण कोही पनि बेरोजगार हुनुपर्ने भएकोले नै यसमा भर्ना हुनुभन्दा पहिले कुनै पनि द्विविधामा नपर्न आग्रह पनि गरे केसीले ।

केसीका अनुसार एकेडेमीबाट सो सीप आर्जन गरिसकेपछि पनि विद्यार्थीले चाहेको खण्डमा स्नातकस्तरको शिक्षा पनि लिन सक्नेछन् । 

 

]]>