देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डको अर्को गम्भीर निर्णय : सरकार खतरामा

देशान्तर

काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको पार्टी नेकपा माओवादी (केन्द्र) अन्तत: सरकारबाट अलग्गिने मनस्थितिमा पुगेको छ । केही दिनयता विभिन्न कारणले निकै छटपटिएका प्रचण्डले आफ्नो मनको कुरा खोल्दै निकास खोज्न हिजो राखेको उक्त पार्टीको बैठक वर्तमान सरकारलाई यही रूपमा अगाडि बढ्न दिनु घातक हुने निष्कर्षमा पुगेको छ । यद्यपि बैठकमा प्रचण्डले कतिपय कारणले मनको सबै वह पोखेनन् । तर अब देशमा राष्ट्रिय सहमतिको सरकार अपरिहार्य भएको र त्यस कार्यमा अग्रसरता लिँदै आवश्यक निर्णय गर्ने अधिकार आफूले लिन प्रचण्ड सफल भएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस धेरै अघिदेखि नै राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहिआएको छ । केही समयअघि प्रधानमन्त्री केपी ओलीले आफूसँग गरेको ‘भद्र सहमति’ अर्थात् बजेट प्रस्तुत गरेलगत्तै आफूलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धता पालना नगरेकाले आक्रोशित प्रचण्ड कांग्रेसका नेताहरूकहाँ गई ओलीविरुद्ध आफूलाई समर्थन दिन अनुरोध गरेको तर ओलीले फकाए वा तर्साएपछि सरकारको पक्षमा उभिएकाले उनीमाथि विश्वास गर्न अन्य राजनीतिक दल तयार छैनन् ।

यसबीचको निरन्तरको प्रयासपछि पनि ओलीले आफ्नो कुरा सुन्ने तर काम नगर्ने गरेको र आफू विभिन्न कोणबाट खतरामा पर्दै गएको महसुस गरेपछि गत साता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकहाँ गोप्य मन्त्रणा गर्न पुगेका प्रचण्डलाई देउवाले निरुत्तर बनाई फर्काइदिए । देउवाले प्रचण्डलाई स्पष्ट शब्दमा भने– पहिले तपाईंलाई समर्थन दिँदा हामीलाई जोकर जस्तो बनाउनुभयो, अब कसरी समर्थन दिने ? यदि हाम्रो समर्थन चाहिन्छ भने पहिले सरकारसित औपचारिक रूपमा सम्बन्ध तोड्नुस् । आफूबाट मात्र हैन पार्टीबाटै यो निर्णय गराउनुस्, त्यसपछि मात्र हाम्रो समर्थन माग्न आउनुस् । हाम्रो समर्थन देखाएर ब्ल्याकमेलिङ गर्न हामी दिँदैनौं, तपाईंको विश्वसनीयताबारे हाम्रो साथीहरूको धेरै गुनासो छ । 

कांग्रेसको समर्थन प्रचण्ड र माओवादी केन्द्रको सपना पूरा हुन असम्भव छ । तर माओवादी केन्द्रबाट औपचारिक रूपमा त्यस्तो निर्णय गराउन सजिलो छैन । सत्तामा पुगेकाहरूमध्ये अधिकांश प्रचण्डभन्दा ओलीतिर वफादार रहेको देखिइसकेको छ । सत्ता परित्याग गर्ने निर्णय गर्दा सरकारमा रहेका केही मन्त्रीहरूले नै अवरोध गर्ने आशंकाका कारण प्रचण्डले हिजोको बैठकमा आफ्नो भिटो प्रयोग गरेर यससम्बन्धी सबै निर्णय गर्ने अधिकार अध्यक्षको हैसियतले आफूले लिएका हुन् । यो अधिकारको प्रयोग उनले फेरि प्रधानमन्त्री ओलीसित मोलतोल गर्न उपयोग गर्छन् वा वर्तमान मन्त्रिपरिषद्बाट बाहिरिएर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने दिशामा कदम चाल्छन् केही दिनमै स्पष्ट हुनेछ । 

  

]]>