देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल एयरलाइन्सका इन्जिनियर विष्ट डलरसहित पक्राउ

देशान्तर

काठमाडौं । एयरलाइन्स तथा विमानस्थलमा कार्यरत विभिन्न कम्पनीका कर्मचारीबाटै विमानस्थलको सुरक्षामा चुनौती देखिएको छ । विमानस्थलमा डलर तस्करीदेखि लगेज चोरीसम्म कर्मचारीकै संलग्नता हुने गरेको भेटिएको छ । आइतबार नेपाल एयरलाइन्सका कर्मचारी डलर तस्करीको आरोपमा पक्राउ परेका  छन् । एयरलाइन्सका  इन्जिनियर रञ्जितलाल विष्ट चार हजार चार सय ५० अमेरिकन डलरसहित पक्राउ परेका हुन् । सिरहाका सुरेशकुमार दासले उनलाई डलर दिएका थिए ।

शौचालयमा डलर लेनदेन गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । दास दुबई जान लागेका थिए । चेकिङमा डलर फेला पर्ने भएकाले सो डलर इन्जिनियर विष्टमार्फत चेकिङ एरिया कटाएर उनले डलर तस्करी गर्न लागेको प्रहरीले जनाएको छ । एयरपोर्टका कर्मचारीलाई चेकजाँच नहुने र जहाँ पनि जान पाउने भएकाले उनले  कर्मचारीमार्फत तस्करी गर्न खोजेका हुन् ।

चार दिनअघि मात्र विमानस्थलकै कर्मचारी भरत सञ्जेललाई प्रहरीले आठ हजार डलरसहित पक्राउ गरेको थियो । डलर तस्करी गर्ने समूहले नै उनीमार्फत त्यसरी तस्करी गराउन खोजेको थियो । एक सातामा दुईजना कर्मचारी डलरसहित पक्राउ पर्नुले विमानस्थलबाट संगठित रूपमा डलर तस्करी हुँदै आएको प्रस्ट भएको छ ।
निजी कम्पनीलाई प्रवेश दिँदा समस्या महानगरीय प्रहरी विमानस्थल कार्यालयका डिआइजी गोविन्द निरौलाले विमानस्थलमा रहेका विभिन्न एजेन्सीका कर्मचारीका कारण समस्या भएको बताए ।

‘कर्मचारीका बदमासी पटक–पटक भेटिएका छन्,’ डिआइजी निरौलाले भने, ‘हामी यसलाई नियन्त्रण गर्न नयाँ रणनीति बनाउँदै छौँ ।’ करिब एक महिनाअघि मात्र लोडरमा काम गर्ने कर्मचारी लगेजबाट मोबाइल चोर्दाचोर्दै पक्राउ परेका थिए । वाणिज्य बैंकको एटिएम फुटाएर चोरीको प्रयाससमेत भएको थियो । पासको दुरुपयोग तथा संवेदनशील क्षेत्रमा निजी कम्पनीका व्यक्तिलाई अनुमति दिँदा समस्या बढेको प्रहरी अधिकारीको भनाइ छ । सिम्रिक एयरलाइन्सको गल्तीका कारण गत बिहीबार तीनजना युवक नक्कली बोर्डिङ पास लिएर हेलिकोप्टर प्याडसम्म पुगेका थिए । नयाँ पत्रिकामा समाचार छ । 

]]>