देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय निकायको संगठनमा जुट्दै छ कांग्रेस

देशान्तर

डा.प्रदीप पराजुली
काठमाडौंमा २०७२ फागुन २०–२३ गते तेह्रौं महाधिवेशन सम्पन्न गरिसकेको नेपाली कांग्रेस पार्टीभित्रको आन्तरिक बाँकी निर्वाचनमा जुटेको छ । नेपाली कांग्रेस अहिले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन र १३ औं महाधिवेशनका क्रममा निर्वाचन सम्पन्न हुन बाँकी जिल्लाहरू र निर्वाचन क्षेत्रको अधिवेशन, बाँकी रहेका महासमिति सदस्यहरूको निर्वाचन र स्थानीय निकायको निर्वाचनमा जुटेको छ ।

केन्द्रीय कार्यसमितिको पूर्णता

नेपाली कांग्रेसको विधानबमोजिम केन्द्रीय कार्यसमिति ८५ सदस्यीय हुने प्रावधान छ सो बाहेक १० जना आमन्त्रित सदस्य मनोनीत गर्न सकिने व्यवस्था छ । महाधिवेशनका क्रममा निर्वाचित सभापति–१, महामन्त्री—१, कोषाध्यक्ष—१, केन्द्रीय सदस्य खुलातर्फ—२५, महिला खुलातर्फ—६, प्रदेशबाट—१४, आदिवासी जनजातितर्फ— ३, आदिवासी जनजाति महिलातर्फ—२, दलिततर्फ —३, दलित महिलातर्फ—२, मुस्लिमतर्फ—१, मधेसीतर्फ—३, मधेसी महिलातर्फ—२ गरी जम्मा ६४ जना निर्वाचित भइसकेका छन् । निर्वाचित सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के.सी., नरहरि आचार्य र गगन थापालाई विधानको धारा २१ (ठ) बमोजिम, चित्रलेखा यादवलाई धारा २१ (छ) बमोजिम र उमाकान्त चौधरीलाई २१ (ञ) बमोजिम २०७२ चैत्र ३ गते नै केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिसकेका छन् । त्यसैगरी सभापति देउवाले २०७३ जेठ २८ गते विधानको धारा २१ (ठ) बमोजिम किशोरसिंह राठौर, केशवकुमार बुढाथोकी र श्यामकुमार घिमिरेलाई कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । 

नेपाली कांग्रेसको विधानअनुरूप केन्द्रीय कार्यसमितिका लागि एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री, दलिततर्फ—१, मुस्लिमतर्फ— १ र अन्य ९ जना मनोनयन गर्न बाँकी छ ।

अधिवेशन हुन बाँकी जिल्ला र क्षेत्रीय कार्यसमिति

नेपाली कांग्रेसको १३ औं महाधिवेशनका क्रममा विविध कारणवश अधिवेशन सम्पन्न हुन नसकेका आठवटा जिल्लाहरू— सिरहा, धनुषा, महोत्तरी, सिन्धुपाल्चोक, पर्सा, बझाङ, कञ्चनपुर र डोल्पामध्ये सिन्धुपाल्चोक, बझाङ र कञ्चनपुर जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने प्रतिकूल मौसमका कारण डोल्पामा साउन महिनामा अधिवेशन तोकिएको छ । अन्य बाँकी तीनवटा जिल्लाहरू— धनुषा, महोत्तरी र सिरहामा अधिवेशनको तयारी हँुदैछ । त्यसैगरी १३ औं महाधिवेशनका क्रममा दुई सय ३९ क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको नेपाली कांग्रेसले धनुषा क्षेत्र नं. ५ मा मात्र क्षेत्रीय अधिवेशन गर्ने तयारी गर्दैछ ।

भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको अधिवेशन

नेपाली कांग्रेसको हाल भएका १३ वटा भ्रातृ संस्था, १८ वटा शुभेच्छुक संस्था र २७ वटा जनसम्पर्क समितिहरूमध्ये अधिवेशन सम्पन्न गर्न बाँकी रहेका भ्रातृ एवं शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूको क्रमिक रूपमा अधिवेशन हँुदैछ । १३ औं महाधिवेशनपश्चात नेपाल भूतपूर्व सैनिक संघको अधिवेशन २०७३ जेठ २३ गते सम्पन्न भइसकेको छ भने नेपाल तरुण दल, नेपाल आदिवासी जनजाति संघ, नेपाल किसान संघ, नेपाल सांस्कृतिक संघ र नेपाल विद्यार्थी संघले भने अधिवेशनको मितिसमेत सार्वजनिक गरिसकेका छन् ।

महासमिति सदस्य निर्वाचन गर्न बाँकी क्षेत्रहरू

१३ औं महाधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गरी महासमितिको निर्वाचन हुन बाँकी रहेको क्षेत्रहरूमा— मोरङ ७, सिन्धुली १ र ३, धनुषा १, ४ र ५, महोत्तरी १, ३, ४ र ६, सर्लाही २, ३ र ४, काठमाडौं ५, ६, ७ र ९, वारा ६, पर्सा १, २, ४ र ५, चितवन २, ३, ४ र ५, गोरखा १ र २, कास्की १, २ र ३, नवलपरासी ६, रूपन्देही ४, कपिलवस्तु २, ३ र ५, बागलुङ ३, दैलेख १ र २, बझाङ १ र २ र कञ्चनपुरको २ र ३ नं. क्षेत्रमा महासमिति सदस्यको निर्वाचन सम्पन्न गर्नका लागि नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिइसकेको छ ।

पार्टीको स्थानीय निकाय निर्वाचन

नेपाली कांग्रेसको १३ औं महाधिवेशनको क्रममा महासमिति र स्थानीय अन्य निकायका निर्वाचन सम्पन्न गर्न बाँकी रहेका निर्वाचन क्षेत्रहरूमा जिल्ला कार्यसमितिको बैठकले निर्णय गरी जिल्लास्थित डेमोक्रेटिक लयर्स एसोसिएसन, शिक्षक संघलगायत पेसागत शुभेच्छुक संघसंस्थाहरूको सहयोगमा निर्वाचन सम्पन्न गराउन केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिइसकेको छ ।

पार्टीको तेह्रौं महाधिवेशनपश्चात् नेपाली कांग्रेसले आफ्नो संगठनलाई पूर्णता दिन जुटिरहेको छ । भ्रातृ एवं शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिहरूको अधिवेशन गर्न बाँकी रहेकाहरूको पनि यथाशीघ्र अधिवेशनको मिति तोक्न नेतृत्वबाट पहल भइरहेको छ । यी सबै निकायहरूले पूर्णता पाएपछि नेपाली कांग्रेस नयाँ ऊर्जाका साथ अगाडि बढ्ने देखिएको छ ।

(डा. पराजुली नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव हुन् ।)

 

]]>