देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहानुभूतिले दर्शायो शशांकको लोकप्रियता

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला समकालीन नेताहरूमा सबैभन्दा धेरै लोकप्रिय नेता रहेको पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत मंगलबार ओम अस्पताल भर्ना भएका महामन्त्री डा. कोइराला अचानक भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगे । यो खबर एकाएक फैलिएपछि उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशविदेशबाट गरिएको स्वास्थ्यलाभको कामना र उनीप्रति आम नेपालीले देखाएको सहानुभूतिले समकालीन नेताहरूमा शंशाक लोकप्रिय नेता भएको पुष्टि भएको हो । 

कोइरालाको स्वास्थ्यलाभको कामना गर्दै नेपाली कांग्रेसका नेता, कार्यकर्तामात्र नभएर आम नेपाली कोइरालाको स्वास्थ्यलाभको कामना गर्नका लागि  ओम अस्पताल पुगेका थिए । नेपाली कांग्रेसका कार्यकर्ताहरू आफ्ना नेता अस्वस्थ्य हुँदा अस्पताल पुगेर सहानुभूति दर्शाउनु स्वाभाविक भए पनि शशांकप्रति आम नेपालीको भरोसा भएका कारण उनको स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगेको दृश्य पनि देखिएको थियो । 

अहिले महामन्त्री कोइरालाको स्वस्थ्य अवस्थामा चामत्कारिक सुधार आएको छ । ओम अस्पतालका चिकित्सकसमेत उनको स्वास्थ्यमा आएको सुधारबाट अचम्मित भएका छन् । आम नेपालीको भरोसाका केन्द्र रहेका बीपी कोइरालाको कान्छा सुपुत्र कोइरालाको स्वास्थ्यलाभको कामनामा आम नेपालीले देखाएको चासोका कारण पनि पत्याउन नै नसकिने गरी सुधार भएको भन्न सकिने अवस्था रहेको छ । उनले जुस र चिया पिएको, मुखैले झोलिलो सुप, दालसमेत पिएको उपचारमा संलग्न चिकित्सक लवनरसिंह जोशीले बताएका छन् । 

महामन्त्री डा.कोइरालाको उपचारका लागि भारतबाट चारजना चिकित्सक आएका छन् । एपोलो अस्पताल दिल्लीबाट आएका चिकित्सकहरूले कोइरालाको उपचार शनिबारबाट सुरु गरेका छन् । वरिष्ठ चिकित्सक बीसी खिलनानीको नेतृत्वमा आएका चार चिकित्सकहरूले कोइरालाको उपचारका लागि परीक्षण सुरु गरेका छन् । उनीहरूले नेपालका चिकित्सकहरूले गरेको उपचारको विधि र प्रक्रियालाई सराहना गर्दै आफ्ना राय दिएका छन् । भारतबाट आएका चिकित्सकहरूको टोलीमा न्युरोलोजिस्ट, फिजिसियन, छातीरोग विशेषज्ञ र कार्डियोलोजिस्ट गरी चार जना रहेका छन् । निमोनियाको संक्रमण भएर अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यअवस्था भने सामान्य बन्दै गएको छ । 

कोइराला बोल्न सक्ने अवस्थामा रहे पनि तत्काल नबोल्न भनिएको छ । उनलाई हाल पनि सघन उपचार कक्ष आईसीयूमै राखिएको चिकित्सक जोशीले जानकारी दिएका छन् । उहाँलाई कुनै मेसिनको जरुरत छैन, अहिले उहाँ आफ्नै श्वासप्रश्वासमा आश्रित हुनुहुन्छ–जोशीले भनेका छन् । यद्यपि अक्सिजन दिइनै रहेको जोशीले बताए । यसअघि बिहीबार राति कोइरालाले ‘अब घर जाने हैन हामी’ भनेर चिकित्सकहरूलाई सोधेका थिए । तर, स्वकीय सचिव भरत तिवारीले केही दिन यही बसेर निको भएपछि जाने भन्दै सुझाएका थिए ।  चिकित्सक जोशीका अनुसार उनलाई अझै एकदुई दिन डिस्चार्ज गर्न हुँदैन । जोशीले भने, ‘मान्छेहरू गएर बोल्दा पनि उहाँलाई संक्रमण हुन सक्छ ।’ त्यसैले भेटघाटमा सर्तकता अपनाइएको छ । 

 

]]>