देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मलेसियामा बोहरालाई बंगलादेशीको आतिथ्यता !

देशान्तर

काठमाडौं । नेपाली अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको रेमिट्यान्सको आप्रवाहमा केही समय यतादेखि कमी आइरहेको छ । विशेषगरी वैदेशिक रोजगारीका गन्तव्यहरूलाई फराकिलो बनाउने र भएकाहरूलाई पनि व्यवस्थित बनाउनेभन्दा श्रम तथा रोजगार मन्त्रालयको नेतृत्व गर्नेहरूले यसलाई गोजि भर्ने माध्यम बनाएपछि यो क्षेत्र दिनप्रतिदिन धराशायी बन्दै गएको छ । महाभूकम्पपछि नेपालबाट विदेश जाने कामदारको संख्यामा उल्लेख्य गिरावट आएको छ । त्यसमाथि अघिल्ला श्रममन्त्री टेकबहादुर गुरुङले अकस्मात रूपमा थोपरेको ‘फ्रि भिसा, फ्रि टिकट’को प्रावधानले यसलाई झनै संकुचित बनाएको छ । फ्रि भिसा फ्रि टिकटको प्रावधान लागू भएपछि रोजगारीका लागि नेपालमा आउने डिमान्डहरूमा ह्वात्तै गिरावट आएको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । प्रमुख गन्तव्यको रूपमा रहेको मलेसिया जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको छ भने कतार, साउदीलगायतका गन्तव्यहरूमा पनि उल्लेख संख्यामा नेपालीहरू जान सकेका छैनन् । यदि यही अवस्था कायम रहने हो भने सन् २०१७ पछि नेपाली अर्थतन्त्र उठ्नै नसक्ने गरी थला पर्ने विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले चेतावनी दिइसकेका छन् ।

यस्तो अवस्थामा वर्तमान सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै प्रमुख गन्तव्यहरू गुम्न नदिने र नयाँनयाँ गन्तव्यहरूको खोजी गर्नुपर्ने थियो । तर वर्तमान श्रम तथा रोजगारमन्त्री दीपक बोहराले पनि अन्यले जस्तै त्यतातर्फ सोच्नुको साटो आफ्नै गोजि भर्ने बाटो खोजेपछि यो क्षेत्रको भविष्य थप अन्योलग्रस्त बनेको सरोकारवालाहरू बताउँछन् ।

बोहराले यही असार १३ देखि १८ गतेसम्म मलेसियाको भ्रमण गरे । आफ्ना दलबलसहित वैदेशिक रोजगार व्यवसायीहरूलाई समेत साथ लिएर मलेसिया गएका मन्त्री बोहराले त्यहाँको सरकारसँग नेपालीहरूको रोजगारीको सम्बन्धमा ठोस वार्ता गर्लान् र प्राय: बन्दजस्तै भएको मलेसिया गन्तव्यलाई पुन: पुरानै रूपमा सुचारु गराउन पहल गर्लान् भन्ने आशा गरिएको थियो । तर उनले आफ्नो पाँचदिने भ्रमणमा आफूलाई व्यक्तिगत फाइदा हुनेबाहेक अरु केही गर्न सकेनन् । आफ्नो भ्रमणमा त्यहाँको संशाधन मन्त्रीलाई भेटेर नेपालको सरोकारहरू राखेको बताए पनि त्यो फगत प्रचार सावित भएको छ । आफ्ना समकक्षीसँग भेटेको तस्बिरसमेत सार्वजनिक गर्न नसकेका मन्त्री बोहराले मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातको अथक प्रयास पछि मलेसियाका मानव संशाधन मन्त्रीसँग केवल केही मिनेटको शिष्टाचार भेट गर्नमात्रै सफल भए ।

सूत्रका अनुसार उनले मलेसियाली सरकारी प्रतिनिधिसँग भेट गर्नुभन्दा मलेसियामा रहेका बंगलादेशी व्यवसायी अमिनसँग बढी समय बिताए । स्मरण रहोस् अमिन त्यही व्यवसायी हुन् जसले अघिल्लो सरकारमा श्रम तगा रोजगार राज्यमन्त्री रहेका टेकबहादुर गुरुङलाई दह्रो नजराना टक्र्याएर नेपालमा फ्रि भिसा फ्रि टिकटको प्रावधान लाद्न सफल भएका थिए । नेपाल फ्रि भिसा फ्रि टिकटको प्रावधान लागू भएपछि मलेसियामा रहेका कम्पनीहरूको रोजाइमा नेपाली कामदार नपर्ने, जसको फाइदा बंगलादेशी कामदारले पाउने भएपछि अमिनले गुरुङलाई अर्बौं रुपैयाँको नजराना टक्र्याएर यो प्रावधान थोपर्न लगाएको खुलासा भइसकेको छ । त्यतिमात्रै होइन अमिनकै इशारामा गुरुङले नेपालमा बायोमेट्रिक टेस्टको प्रावधान लागू गरेको चर्चा छ । बोहराले पनि मलेसिया पुगेर तिनै अमिनसँग बढी समय बिताएपछि उनीसँगै गएका रोजगारी व्यवसायीहरू क्रुद्ध बनेर नेपाल फर्किए ।

बोहराले आफ्नो भ्रमणमा मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल र अन्य दुई अधिकृतसहित मन्त्री बोहराको मलेसिया भ्रमणमा वैदेशिक रोजगार व्यवसायी संघका चार प्रतिनिधिलाई समेत समावेश गराएका थिए । तर भ्रमणका क्रममा नेपाल र मलेसियाको द्विपक्षीय वार्तामा व्यवसायीलाई सहभागी गराइएन । नेपाल फर्किएका व्यवसायीले फर्किएलगत्तै त्यही दिन पत्रकार सम्मेलन गरी आफूहरूको भ्रमणमा अपमान भएको बताए । उनीहरूले केवल घुमाउन लगिए जस्तो टोलीमा सहभागी गरेर बिना उपलब्धि त्यसै फर्काइएको बताए ।

मलेसिया नेपाली कामदारहरूको लागि उपयुक्त रोजगार गन्तव्य हो । नेपालीहरूको लागि सुहाउँदो हावापानीमात्रै होइन मलेसिया सरकारले नेपालीको इमानदारीको कदर गर्दै नेपाली जनशक्तिका लागि रोजगारको बढी कोटा उपलब्ध गराउँदै आएको थियो । तर त्यो सदाशयतालाई दिगो बनाउन नेपाल सरकारले उचित पहल गर्नुपर्नेमा सधैं बेवास्ता गरिरह्यो । सन् १९६२ पछि नेपाल र मलेसियाबीच सरकारको उच्च तहमा भ्रमण आदानप्रदान हुन सकेको छैन । कूटनीतिक रूपमा मलेसिया सरकारसँग सौहार्द सम्बन्ध कायम गर्दै नेपाली कामदारको हकहितको कुरा उठाउनुपर्नेमा नेपाल सरकारले त्यतापट्टि खासै महत्व नदिँदा अहिलेको अवस्था आइपरेको जानकारहरू बताउँछन् ।

 

]]>