देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णय  गरेको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस केन्दीय समितिको बैठकले दुई दलबीच भएको ७ बुँदे सहमति पत्रलाई अनुमोदन गर्दै संविधान कार्यन्वयन, शान्ति प्रक्रियालाई पूर्णता दिँदै संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका मधेसी मोर्चा लगायतका पक्षसँग वार्ता र सहमतिद्वारा समस्याको समाधान गर्दै मुलुकलाई अघि बढाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।  

बैठकको शुरुमा कांग्रेस नेता र माओवादीसँग सहमतिका बारेमा नेता विमलेन्द्र निधिले सहमति पत्र बैठकमा पढेर सुनाएका थिए। माओवादीसँग सहमति गरी सरकारको नेतृत्व सुम्पिएको भन्दै असन्तुष्ट बनेका पार्टी नेता रामचन्द्र पौडेल पक्षका नेताहरु प्रकाशमान सिंह र रामशरण महतले पार्टीभित्र कुनै राय सल्लाह र निर्णय नगरी माओवादीसँग सहमति गरेर अनुमोदनका लागि मात्रै ल्याउने कार्य गलत भएको भन्दै नेतृत्वको आलोचना गरेका थिए। विगतमा यस्तै महत्वपूर्ण सहमति गर्नु पहिले पदाधिकारी तथा शीर्ष नेताहरुबीच छलफल र परामर्श हुने गरेकोमा यस पटक आफूहरुलाई कुनै जानकारी नदिई सहमति गरेको भन्दै पौडेल पक्ष असन्तुष्टी जनाएको थियो ।

त्यसपछि अर्का नेता महेश आचार्यले पनि सिंह र महतकै धारणामा सहमति दिए पनि आफ्नो पार्टीले मुलुकको समग्र राजनीतिक निकासका लागि नयाँ ढंगको राजनीतिक समिकरण मार्फत् अगाडि बढ्ने दिशामा सबै एक भएर लाग्नु पर्ने धारणा राखेका थिए। साथै उनले माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिएर मुलुकको राजनीतिक निकासमा मार्ग खुला गर्न आग्रह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए।

त्यसपछि सभापति देउवाले माओवादीसँग विगतमा सहमति तोडिएपछिको अवस्थामा एकाएक नयाँ सहमतिको परिस्थिति आएको भन्दै यस अघि दलका नेताका कतिपय नेताहरुसँग परामर्श हुन नसकेको स्विकार गरेका थिए। नेता पौडेलले आफू पनि राजधानी बाहिर व्यस्त रहनु परेको कारण पनि आन्तरिक परामर्श हुन नसकेको स्वीकार गरेका थिए।  सभापति देउवाले अहिले भएको सहमतिलाई अनुमोदन गर्न आग्रह गरेपछि समितिको बैठकले सर्वसममत अनुमोदन गरेको केन्द्रीय सदस्य वीरबहादुर बलायरले बताए। 

]]>