देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद शुक्रबार १ बजे बस्नेगरी स्थगित

देशान्तर

काठमाडौं । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बजेटसम्बन्धी विभिन्न आश्रित विधेयक पारितको प्रक्रियाबारे दलहरुबीच सहमति नहुँदा व्यवस्थापिका–संसद्को आजको बैठक बस्न सकेन ।

आज बिहान ११ बजेका लागि तोकिएको बैठक सूचना टाँस गरेर अपराह्न ३ बजे बस्ने भनिएपनि साँझ ५ बजे बस्दै नबसी स्थगन भएको छ । संसद्को कार्यसञ्चालन नियमावलीअनुसार तोकिएको समयभन्दा दुई घन्टासम्म बैठक नबसेमा स्वतः स्थगित हुने व्यवस्था छ । संसद्को  बैठक पर्सि शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।

‘आर्थिक विधेयक, २०७३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७३’ र ‘ऋण तथा जमानत ९एक्काइसौँ संशोधन० विधेयक, २०७३’ मा दफाबार छलफल गरी पारित गर्ने आजको कार्यसूची थियो ।

संसद् सचिवालयका प्रवक्ता डा भरतप्रसाद गौतमले सत्ता पक्षले बजेटसँग सम्बन्धित बाँकी विधेयक आजै पारित गराउन खोजेको र विपक्षीले अर्को दिन गर्न खोजेका कारण बैठक हुन नसकेको जानकारी दिए । यसअघि संसद्ले ‘विनियोजन विधेयक, २०७३’ पारित गरिसकेको छ ।

सरकारबाट फिर्ता भएको नेकपा माओवादी केन्द्रले आर्थिक विषयका ती विधेयक पारित गर्न सघाउने मङ्गलबार जनाएपनि अविश्वास प्रस्ताव दर्ता गरिसकेको अवस्थामा के गर्ने भन्ने विषयमा अन्योल उत्पन्न भएको हो ।

नेपाली काँग्रेसका नेता महेश आचार्यले बजेटसँग आश्रित विधेयक सरकारको मात्र नभई राष्ट्रकै भएकाले यसलाई पारित गराउन आफ्नो दलबाट बाधा नरहेको प्रतिक्रिया दिए । उनका अनुसार विनियोजन विधेयक पारित भएको, अविश्वास प्रस्ताव दर्ता भएको र बजेटका आश्रित विधेयक पारित हुन बाँकी रहेको यस्तो घटना संसदीय इतिहासमै पहिलो हो ।

 

]]>