देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीको दम्भ देखेर एमालेजन रुष्ट

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारको मुख्य घटक नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएपछि राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा अविश्वासको प्रस्तावको सामना गर्ने अडान राखेपछि एमालेका अधिकांश नेताहरूले असजिलो महसुस गरेका छन् । केही नेताहरूले ओली दम्भी चरित्रका कारण माओवादीले सरकार छाडेको, लाखौं खर्चेर सडकमा आफ्नो समर्थनमा उतारेर मण्डले चरित्र देखाउन थालेकाले  एमालेको हालसम्मको सबै साख अध्यक्ष ओलीका कारण गुम्न लागेको भन्दै नेताहरूले असजिलो महसुस गर्न लागेका हुन् । 

यिनै विषयलाई लिएर ओली आफ्नै पार्टीभित्र अल्पमतमा पर्ने अवस्थामा पुगेका छन् । पार्टीको स्थायी कमिटीमा राजीनामा दिएर सहज बाटो खुल्ला गर्नुपर्ने पक्षमा रहेकाले पनि ओली समस्यामा परेका छन् भने अन्य नेताहरूले पार्टीको साख गिर्ने भन्दै असजिलो महसुस गर्न लागेका छन् । अनौपचारिक बैठकमा अधिकांश नेताले माओवादीले समर्थन फिर्ता लिइसकेको अवस्थामा अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु उपयुक्त हुने सुझाव दिएका थिए । तर, ओली पक्षका खास भित्रिया सल्लाहकारहरूले भने अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने सुझाव दिएपछि ओली अविश्वासको समाना गर्ने तयारी थालेका हुन् ।  प्रधानमन्त्री ओलीले पुन: स्थायी कमिटीको बैठक बोलाएर छलफल गर्ने आश्वासन नेताहरूलाई दिएका थिए ।  

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएर संसदीय नैतिकता प्रदर्शन गर्नुपर्ने मत राख्नेहरूमा उपाध्यक्ष वामदेव गौतम अग्रपंक्तिमा छन् । त्यसैगरी पार्टीका पूर्वअध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि यस्तो बेलामा ‘टस्सल’ गर्नुको साटो प्रधानमन्त्रीले पदबाट राजीनामा दिनु उपयुक्त हुने पक्षमा छन् । अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्री ओलीले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्नु उपयुक्त हुने पक्षमा रहेका छन् । तर, राजीनामा गर्नेबेलामा प्रधानमन्त्रीले संसद्मा आफ्नो सारगर्भित मन्तव्य दिएर एमालेले सरकार सञ्चालनका बेला गरेका राम्रा कामहरूको रेकर्ड गराउनुपर्ने एमाले शीर्ष नेताहरूले सुझाव दिएका थिए ।

पार्टीका उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले समेत प्रधानमन्त्रीले राजीनामा दिएर सहज निकासको बाटो अपनाउनुपर्ने मत पार्टीमा राखेको बताइएको छ । केपी ओली पक्षकै मुकुन्द न्यौपानेलगायतका नेतासमेत ओलीले राजीनामा दिँदा राम्रो हुने पक्षमा उभिएका छन् । 

स्थायी कमिटीका अधिकांश नेताहरू प्रधानमन्त्रीले राजीनामा दिँदा राम्रो संस्कार प्रदर्शन हुने पक्षमा उभिएका छन् । तर, प्रधानमन्त्रीले यसबाट भाग्नकै लागि स्थायी कमिटीको बैठक नबोलाई आफूखुसी कदम चालेको भन्दै यसले एमालेको छविमाथि नकारात्मक असर पार्ने भन्दै ओलीको विरोधमा अधिकांश नेताहरू देखिएका छन् । तर ओली पार्टीका नेताहरूको भन्दा पनि खास भित्रिया सल्लाहकारहरूको सल्लाहमा लाग्दै संविधानमा सरकार गठनको प्रावधान नभएको भन्दै केही कानुन व्यवसायीहरूलाई बोलाएर अदालतसम्म पुग्ने तयारी थालेपछि इमानदार एमालेका नेताहरू तत्काल बैठक बोलाएर छलफल गर्नुपर्ने पक्षमा छन् । 

संविधान र कानुनले नयाँ सरकार गठन गर्न मिल्दैन भन्दै खोचें थाप्ने र एक–दुई महिना सरकारको आयु लम्ब्याउने खेलमा लाग्न नहुने सुझाव एमालेका शीर्ष नेताहरूको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा प्रधानमन्त्री बनेका ओलीले माओवादीसँग गरेको नौ बुँदे समझदारी र ‘जेन्टलमेन एग्रिमेन्ट’मा प्रतिबद्ध भइदिएको भए सरकार नढल्ने वामदेव गौतम पक्षका नेताको तर्क छ । तर, अध्यक्ष ओलीको कार्यशैलीगत कमजोरीका कारण माओवादी पार्टी सरकारबाट बाहिरिएको विश्लेषण एमालेका एकथरी नेताहरूले गरेका छन् । अहिलेको अवस्थामा सार्वजनिकरूपमा बोल्दा ओली पक्षले सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउने डरले गर्दा माधव नेपाल पक्ष मौन बस्ने र हेर्ने सोचमा देखिएको छ ।

 

]]>