देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुष्प प्रेम र मानव सभ्यता : नीलो गुलाफ आयो तर नीलो गुराँस खै ?

देशान्तर

‘नटिप्नु हेर कोपिला नचुँड्नु पाप लाग्दछ नच्यात्नु फूल नानी हो दया र धर्म भाग्दछ’ ।
लक्ष्मीप्रसाद देवकोटा

हाम्रा महाकवि देवकोटाले फूल वनस्पति कति महत्वपूर्ण छ र फूल मास्नाले दया र धर्मको खानी पनि नासिन्छ भनेर भनी सकेका छन् । यस कारण वनस्पतिसँगको मानिसको सम्बन्ध जीवनयापनसँगमात्रै सम्बन्धित नभएर प्रेम, सौन्दर्य र यौन प्रवाहसँग पनि गाँसिएको छ । गाँस-बास-कपासका लागि वनस्पतिको जति जरुरत छ सौन्दर्य र सुरक्षाका पनि यसको उत्तिकै जरुरत छ । सुरक्षामा एकातिर वाह्य शत्रु आक्रमणबाट जोगिन वनस्पतिका अँग उपयोग गरिन्छ । साथै शरीरमा लाग्ने सूक्ष्मजीव तथा कीटपतंगहरूको संक्रमण र आक्रमण रोक्न र अर्कोतिर शरीरका प्रक्रियागत असामान्यपनलाई सच्याउन ओखतिका रूपमा वनस्पतिजन्य रसायनहरूको उपयोग गरिने गरिएका उदाहरणहरू मानव सभ्यताका सुरुवातीकालदेखि आजको वैज्ञानिक युगसम्मन कायम नै छ । यसैगरी सौन्दर्यका लागि आदिम कालदेखि नै वनस्पतिका फूलहरूको सौन्दर्यमा लठ्ठिनेदेखि आजसम्म जंगली फूल-वनस्पतिलाई रैथानेकरण गर्नेदेखि कलमी, कृित्रम नियन्त्रित प्रजनन, रासायनिक नियन्त्रण, काँटछाँट र सिकर्मी गरेर नयाँनयाँ  रंग र वर्णशंकर वनस्पतिको उत्पादन गरिएका छन् । मानिसलगायत कीटपतंग र अन्य जनावरहरू वनस्पतिको पुष्प सौन्दर्यमा आकर्षित हुनुमा फूलको रंग र रूप नै मूल कारण हो र भने सहायक कारण यसबाट निस्कने वास्ना पनि हो ।

वनस्पतिको पातको हरियो रंग र फलफूलहरूका विविध रंग हुनुमा यसमा पाइने रोगद्रव्य (पिगमेन्ट) को भूमिका हुन्छ । वनस्पतिका रोगनद्रव्यहरू मुख्य गरी पोरफाइरिन, केरोटेन्वाइड, एन्थोसायनिन र बेटालिन हुन् । यी सबैले आफ्नो रासायनिक गुणका आधारमा प्रकाशका निश्चित लम्बाइगत तरंगहरू सोध्छन् वा परावर्तन गर्छन् र यसकै आधारमा आफ्नो रंग दर्शकका आखाँमा पुयाउँछन् । यसमध्ये पातमा हुने रंगको काम जीवन जिउने मुख्य आधार प्रकाश संश्लेषणका लागि क्लोरोफिलले सौर्य विकिरणसँग प्रतिक्रिया गरेर शक्ति सञ्चय गर्नु हो भने वनस्पतिका अन्य अंगहरू जस्तै फूल र फलहरूमा हुने रंगहरूका काम जीवन वृद्धि, परोक्ष प्रजनन र सुरक्षणसँग सम्बन्धित छन् । पातहरू सामान्यतया हरियो भए जस्तै  फूलहरू पहेँलो, रातो, सेतो हुनेलगायत नीलो, बैजनी र अन्य समिश्रण रंगका फूलहरू पनि उत्तिकै पाइन्छन् ।

हाम्रोजस्तो गरिबीले आक्रान्त देश जहाँ बिहान बेलुकाको छाक टार्न  समस्यामा रहेका र घरखेतमा अन्नबाली हुँदामात्र  खान पाउने  कृषि पेसा र यससँग सम्बन्धित कृषि मजदुरको ठूलो जमातदेखि हुनेखाने र  भोलिको सात पुस्ताको ख्याल राखी आज अनैतिक तरिकाले स्रोत लुट्ने संस्कार भएको समाजमा फूलको निस्वार्थ सौन्दर्यले कति नै महत्व पाउला जस्तो लाग्छ । तर आपसी र अन्तरप्रजातीय युद्ध र प्रेममा हुर्केर अघि बढ्नुपर्ने मानव सभ्यताको विकासक्रममा फूल र यसको सौन्दर्यले ठूलो भूमिका खेलेको हुन सक्ने देखिन्छ । एक अनुमानअनुसार करिब पाँच हजार वर्षदेखि नै मानिसहरूले फूलबिरुवाको खेती सुरु गरेको मानिन्छ । केही वैज्ञानिकहरूको मतमा हाल मानिसको करेसावारीहरू र व्यवसायमा रहेका पौराणिक पुष्प-वनस्पतिहरू छायाँ नपर्ने र फाँडिएका खाली जग्गामा उम्रने हुर्कने खालका हुनुमा आदिम-कृषिकालका मानिसहरूको वनफँडानी र कृषिकर्म सँगसँगै गएर मानिस र पुष्पवनस्पतिले एकअर्कालाई पछ्याउने गरेको अनुमान लगाउन सकिन्छ ।

फूलको सौन्दर्यले मानिसको भावनामा परिवर्तन ल्याउने कुरा विभिन्न व्यावहारिक अनुभवहरू र नियन्त्रित परीक्षणले समेत प्रमाणित गरेका छन् । यसकारण फूलको सौन्दर्यले आजको मानव प्रजातिको वंशाणुगत र सांस्कृतिक विकासक्रममा समेत सकारात्मक असर पारेको हुन सक्छ भन्ने केही आधारहरू छन् । जस्तै एउटा प्रयोगात्मक परीक्षणमा पुष्प उपहार पाएका अथवा यसको झलक पाएका सबै व्यक्तिहरू अन्य वस्तुहरू उपहार पाएका र पुष्प नदेखेकाहरू भन्दा बढी पुलकित र खुसी भएको पाइए ।  यसको मतलव आदिमकालमा समाजमा सुख समृद्धि र आपसी प्रेमका लागि वन, जंगल, खोला, तालका छेउछाउ र खोँचमा बस्ने मानवहरू माझ सुन्दर र विविध खाले फूलहरूको उपस्थितिले उनीहरूबीच अहंकार, झैझगडा र वैमनश्यता पलाउनुभन्दा पनि दिनदिनै वा कम्तीमा केही हप्ता महिनाका अन्तरमा भए पनि फूलपातसँगको सामीप्यताले मनमा खुसीको सञ्चार गराएर रिस झगडाको भावनालाई नकार्न सहयोग गरेको हुन सक्ने भयो । विपरीत लिंगी मानवबीच पनि हाँसीखुसी जीवन जिउन मन पराउने गुन भएकाहरूलाई  छनोट गर्ने आधार पुष्पको सौन्दर्य माथि आकर्षित हुने र सौम्य व्यक्ति सजिलै छनोटमा पर्ने भयो भने रूखो स्वभाव र बढी झगडालु मनोवृत्ति प्रकट गर्ने वंशाणु बोकेका अधिकांश सदस्यहरू कालान्तरमा सन्तान उत्पादन गर्न नपाएर बढारिने भए । यस कारण पुष्पको सौन्दर्य उपदेयता भनेको समाजमा खुसी र आनन्द छर्नु हो । केही मनोविज्ञहरूको भनाइअनुसार खुसीले मानवमा तत्कालीन तथा दीर्घकालीनरूपमा सामाजिक भावना बढाउन र संज्ञानात्मक कार्यमा सहयोग गर्छ भने दीर्घकालीन रूपमा प्रजातीय अस्तित्व रक्षामा सहयोग पुयाउछ । मानव वंशाणुमा भएका गुणहरू व्यवहारमा आउनलाई शरीरको आन्तरिक तथा बाह्य वातावरणीय कारकहरूको उत्तिकै प्रभाव रहन्छ । यस कारण सुन्दर पुष्पहरूको सामीप्यताले उनीहरूमा सकारात्मक भावना उत्पन्न हुनुका साथै झैझगडा बेगरको शान्त सुमदाय प्रदान गर्दछ र साथै यसले शरीरको स्नायु प्रणाली र रोग प्रतिरोधी प्रणालीलाई समेत उत्तिकै जागरुक राख्दछ । खुसी दिलाउने कारकहरूको अभावमा भने रिस, आवेग र नैराश्यताले शरीरमा खराब यौगीकहरूको उत्पादन र नकारात्मक प्रणालीको विकासमा सहयोग गर्ने हुन्छ ।  

मानिस यसरी फूलप्रति आकर्षित र आनन्दित हुनुमा सौन्दर्य चेत एक कारण भएता पनि उसको अन्तस्करणमा रहेको फूलले भविष्यमा ल्याउने खाद्य सुरक्षा र संवद्र्धन पनि हो भन्ने अनुमान छ । फूल फूलेको ठाउँ तत्काल र पछिका लागि चाहिने अन्न, फल, कन्दमूलको स्रोत हुने कारणले पनि फूल देख्नासाथ मानिस स्वतः खुसी भएको हुन सक्ने अनुमान छ । यसैगरी कुनै वनस्पति गुण वा अवगुणका  लागि चिन्नु परेमा वनस्पतिको पात र हाँगाबिँगा हेरेरभन्दा फूलको रंग र बनोटले धेरै हदसम्म वानस्पतिक वर्ग र चरित्र थाहा पाउन सहयोग गर्छ । उदाहरणको लागि उत्तर अमेरिकामा पाइने नीलो फूल फुल्ने क्वामास भनिने क्यामासिया क्वामासको काण्ड खान योग्य हुन्छ भने यो जस्तै खालको तर अर्कै जातको सेतो फूल फुल्ने काल कामस भनिने टोक्सिकोस्कोर्डियन भेनेनोसम चाहिँ अत्यन्तै विषालु हुन्छ । कृषिकालको समयमा त्यसक्षेत्रका किसानहरूले नीलो क्वामसलाई बचाइराखी उपयोग गर्थे भने सेतो फूल हुने काल कामसलाई देख्नेबित्तिकै उखेलेर नास गर्थे र सम्भावित ज्यानमारा विषबाट जोगिन्थे । यस कार्यबाट झन्डै झन्डै लोप हुन लागेको उक्त विषालु वनस्पति उत्तर अमेरिकामा सामान्य तथा परम्परागत खेतीपातीमा संग्लग्न नहुने अहिलेको अवस्थामा फेरि फैलन थालेको छ भनिन्छ ।  मानव सभ्यताको उदयदेखि चिरकालसम्म पुष्पको यस खाले सहयोगले मानिस फूलप्रति अनुगृहित हुनु परेकैले  पनि फूल देख्नासाथ मानव खुसी भएको हुने गरेको एक अनुमान हो भने मानव विकासक्रममा फूलसँग आँखाको इन्द्रीय सुखको छुट्टै अध्ययन हुनु पनि आवश्यक छ ।

यसरी मानव स्थापतित्व र पौराणिक सभ्यतासँग जोडिएको पुष्प व्यवसाय र बागवानी विज्ञान आजसम्म आइपुग्दा धेरै चरणहरू पार गरिसकेको छ । फूलका प्राकृतिक गुणहरूमा प्राकृतिक प्रविधि अनुशरणदेखि पूर्णतया प्रयोगशालामा आधारित भएर पुष्पका विभिन्न स्थायी जात र अस्थायी रूपहरू हेर्न पाउन सकिन्छ । यसमध्येका केही उदाहरणहरूमा प्राकृतिक संकलन र मानवद्वारा वर्णशंकर गरिएका सुनगाभा,  नीलो गुलाफ र अन्य सयौं थरीका फूलका जात र  उपजातहरू पर्दछन् । एउटा उदाहरणका लागि नीलो गुलाफलाई लिन सकिन्छ । यो रंगको गुलाफ-फूललाई प्रेम र समृद्धिको प्रतीकको रूपमा त लिइन्छ तर प्रकृतिमा यसको उपस्थिति भने सन् २००४ सम्म नै थिएन र आधुनिक वंशाणुगत विज्ञानले यसलाई अहिलेको दशकमा भर्खरमात्र स्थापित गरेको छ ।

कुनै पनि पु्ष्पको रंग निर्धारण हुनलाई यसमा निहित वंशाणुगत गुण र यसलाई जीवनमा उतार्ने वातावरणीय कारक तत्वहरूको भूमिका हुन्छ । जस्तो नेपालमा गुराँसको फूलको रंग सेतो, गुलाफी र रातो बढी पाइन्छ भने वैजनी रंगका गुराँस जातका फूलहरू त्यति पाइन्नन् । तर अस्ट्रेलिया र उत्तर अमेरिकामा भने यो रंगका गुराँसहरू पनि प्रशस्त  पाइन्छन् । तर पूर्ण नीलो रंगको गुराँस भने प्रकृतिमा आजसम्म पाइएको छैन ।  यसैगरी हाइड्रान्जिया फूल सेतो, वैजनी, नीलो र गुलाफी रंगका हुन्छन् भने एउटै फूलको बोटले  माटोमा हुने अम्लीय र क्षारीय मात्राको घटबढीले आफ्नो रंग परिवर्तन गर्छ । यसमा पनि गुलाफी रंगबाट नीलोमा परिवर्तन गर्न जति सजिलो छ त्यति सजिलो नीलोबाट गुलाफी रंगमा परिवर्तन गर्न हुन्न । सामान्यतया माटोमा अम्लीयता बढी भएमा यो फूल नीलो रंगमा बदलिन्छ भने क्षारीयपन बढी हुन गएमा रातो वा गाढा गुलावी निस्कन्छ । यसका साथै माटोमा आल्मुनियम सल्फेटको मात्रा मिलाएमा पनि गुलाबी फूल गाढा नीलोमा परिवर्तन गर्न सकिन्छ । तर यसका लागि वातावरणीय अन्य पक्षहरू जस्तै ताप, आद्रता र वनस्पतिका आफ्नै अन्तनिहित जैविक गुणको पनि ठूलो भूमिका हुन्छ । तर सेतो रंगको हाइड्रान्जिया भने कसै गरी पनि नीलो वा गुलाबीमा परिवर्तन गर्न सकिन्न किनकि यसमा यी रंगहरू उत्पादन गर्ने वंशाणुगत चरित्र नै हुन्न । यसैगरी पेटुनिया फूलको रंग वंशाणु काँटछाँट प्रविधिबाट पनि परिवर्तन गरिएका उदाहरण छन् ।

घडी फूल– बिहान जाँड रक्सी पिएर दिउँसो लाल र राती नीलो मुख :

पेटुनिया फूल सामान्यतया गुलाफी र फिका नीलो हुन्छ भने गाढा पूर्ण नस्लो पाउन सकिन्न । प्रकृतिमा कीटपतंगहरू रातो रंगमा अन्धो हुने कारणले नीलो रंग भएमा परागसेचनका लागि महत्वपूर्ण हुन जान्छ र त्यो प्रजातिको अन्तरजातीय प्रजननमा सहयोग पु¥याउँछ । तर ठीक उल्टो तरिकाले नीलो गाढा नीलो रंग भएका कोषहरूमा अत्यधिक मात्रामा खनिज तथा लवणसहितका जीवरसायन जम्मा हुन जाने हुनाले उक्त वनस्पति विषालु बन्न जाने सम्भावना पनि रहन्छ । जे भए पनि गुलावी वा वैजनी रंगको पेटुनिया नीलो रंगमा बदलिन त्यसमा अम्लीयतासम्बन्धी वंशाणुहरूको समूहमा उत्परिवर्तन हुन वा बाहिरबाट घुसाउन आवश्यक छ । किनकि प्रकृतिमा आजसम्म पाइएका पेटुनियाहरू सेतो, रातो, गुलाफी र वैजनी रंग वा यिनीहरूका छिरबिरे मिश्रणका मात्रै छन् र नीलोको हस्तितव छैन । यसको कारण हाइड्रान्जियामा भएका सबै रंग उत्पादन गर्ने वंशाणुगत गुण यो वनस्पतिमा उत्परिवर्तन भई लुप्त हुनाले हो । तर वैज्ञानिकहरूले   पेटुनियाको जीव रसायनिक प्रतिक्रियाको अध्ययन र वंशाणु काँटछाँट गरेर गुलाफी रंगको बोट (जातलाई नीलो रंगमा परिवर्तन गरेका छन् र अब चाँडै घडी फूलको रूपमा दिन ढल्दै जाँदा बिहानको सेतो फूल दिउँसो गुलाबी हुँदै २४ घन्टामा नीलो बन्ने अवस्था निकालेका छन् । तर यसमा बोटलाई बिहान केही थोपा जाँड वा रक्सी खुवाउन भने भुल्न हुँदैन । यी सब जीव रासायनिक घटना हुनुमा वनस्पतिको कोषहरू र सञ्चयकोषिकामा हुन जाने क्षार तथा अम्लीय रसको घटबढ र यसलाई नियन्त्रण गर्ने जिनहरूको कारणले हुने हो ।

नीलो गुलाफ आयो तर नीलो गुराँस खै ! गुगल चलाउन नजान्नेहरू गुगल ब्वाईको शरणमा बजारमा सामान्य हिसाबले पाइने नीलो गुलाफ भनेको अन्य रंगहरू रातो, पहेँलो र सेतो जस्तै नीलो (बैजनी समिश्रणको रोगनले गर्दा हो  तर गुलाफको फूलमा निक्खार नीलो रंग दिलाउने डेल्फीनिडिन रोग सम्बन्धित वंशाणु नहुनाले नीरमसी फूलको जस्तो गाढा नीलो फूल फुल्दैन । वैज्ञानिक कम्पनी फ्लोरिजिनले सेतो गुलाफमा वंशाणु काँटछाँट गरी डेल्फीनिडिन जिन घुसाएर र गुलाफमा विद्यमान भएको अर्को जीनलाई निष्क्रिय बनाएर केही नीलो खालको गुलाफ उत्पादन गर्न सके पनि अझैसम्म पूर्ण नीलो रंगको गुलाफ निकाल्न सकेका छैनन् र यसका लागि खोज अनुसन्धानमा लागि परेकै छन् ।

यहाँ नेताहरू आयुर्वेदिय ओखतीमूलो र आधुनिक औषधिशास्त्रको खोजीनीतिमा लगानी गर्दैनन्, तर लम्पसार परेर रामदेवको शरणागत हुन्छन् । देशमा हवाईजहाज र पानीजहाजसम्बन्धी अध्ययन अनुसन्धान र व्यवस्थापन गर्दैनन् तर  पाइलट बाबाको शरण र आर्थिक व्यवस्थापन गर्न नसक्ने पानीजहाजको गफ चुट्छन् । आफ्नो सोच्ने र विश्लेषण गर्ने क्षमता र निष्ठामा विश्वास गर्दैनन, सूचना प्रविधि र विज्ञानमा लगानी र विश्वास गर्दैनन् तर गुगल ब्वाईको शरणमा पर्छन् । यसरी नेपाली नेताहरूको मिलेमतो, सरकार र नेपाली बानीले हावादारी गफ, पाइलट वावा, गुगल ब्वाई, बुद्घब्वाई, सगरमाथा चढेर देशमा शान्ति फैलाउने पाराका गफाडी, विभिन्न नेताका नाममा खुलेका भजनकीर्तन र भ्रष्टाचार गर्ने  संघसंस्थाहरू, गणेश प्रवृत्तिका बुद्धिजीवी–वैज्ञानिकहरू र खासखास व्यक्तिहरूलाई  सामीप्यताका आधारमा लाखौँ, करोडौं अनुदान दिने गरेका छन् । तर विज्ञानको संस्थागत विकासमा मुन्टो बटार्ने र आ“खा चिम्लिने गर्छन् । यसरी जनताप्रति जिम्मेवार हुनु नपर्ने व्यक्ति र संघसंस्थाहरूलाई हावादारी विषयहरूमा सरकारी धन दुरुपयोग गर्नुका सट्टा देशका विज्ञान प्रविधि, कृषि र स्वास्थ्य क्षेत्र र विश्वविद्यालयहरूलाई संस्थागत रूपमा अनुसन्धान अनुदान प्रदान गरे नेपालीले पनि नीलो गुराँस फुलाएर हेर्न सक्थे र यस्ता खाले कामलाई आधार मानेर अन्य आधारभूत तथा व्यावहारिक विज्ञानसम्बन्धी अध्ययन अनुसन्धान गरेर  देशलाई आज परेको खाँचो टार्नुका साथै भोलिका सन्तानलाई प्रकृतिका सुन्दर नयाँ नीला गुराँस फूलहरूका साथ रमाइला  प्रश्नहरू पनि छोडेर जान्थे ।

(डा. चौलागाईंं हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेज एन्ड टेक्नोलोजी (हिकास्ट) का  संस्थापक सदस्य, एवं प्राध्यापक र अनुसन्धान तथा प्रशिक्षण निर्देशनालयका निर्देशक हुन् । यस लेखमा व्यक्त भावना लेखकका निजी हुन्, यसले संस्थाको प्रतिनिधित्व गर्दैन । सं.)   

 

]]>