देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसबाट मन्त्री बन्ने सूचीमा रहेका एक दर्जन

देशान्तर

काठमाडौं । केपी ओलीनेतृत्वको सरकारको अवसानपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनेतृत्वमा बन्ने काँग्रेस–माओवादी गठबन्धनको सरकारका साझा न्यूनतम कार्यक्रम बनाउन, मधेशी दलहरुलाई समेत सरकारमा सहभागी गराउनका लागि शीर्ष नेता यतिबेला व्यस्त छन् । तर शीर्ष नेतालाई त्यस्तो चटारो भए पनि काँग्रेस–माओवादीका धेरै सांसद भने कसरी मन्त्री बन्ने भन्ने दौडमा लागेका छन् । संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काँग्रेसमा पनि मन्त्री बन्ने आकांक्षीको संख्या अधिक रहेको छ । 

काँग्रेसका शीर्ष नेता पनि ककसलाई मन्त्री बनाउने भन्ने विषयमा आन्तरिक छलफल र गृहकार्य तीव्र बनाए पनि टुंगोमा पुग्न भने सकेका छैनन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला तथा प्रभावशाली नेता प्रकाशमान सिंह, विमलेन्द्र निधिले मन्त्रिपरिषद्मा पठाउने सदस्यबारे आन्तारिक तयारी गरिरहेको बताइन्छ । सूत्रका अनुसार काँग्रेसको भागमा १३ मन्त्रालय परेको छ । काँग्रेसले यसपटक मन्त्री पठाउँदा सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष दाहालसँग रहने भएकाले केही अनुभवी र केही नयाँ अनुहारलाई पठाउने तयारी थालिएको छ । त्यसैगरी समावेशी तथा जातीय क्षेत्रीय सन्तुलनसमेत मिलाएर सरकारमा मन्त्री बनाउने तयारी छ । 

यीमध्ये सरकारको नेतृत्व गर्दै नेता विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ वा अर्जुननरसिंह केसीमध्ये एकजनालाई पठाउने गरी नेताहरुबीच छलफल चलेको छ । त्यसैगरी मन्त्री हुनेमा डा. शेखर कोइरालाको नाम निर्विवाद रहेको छ । उनी कोइराला परिवारबाट एकमात्र सदस्य हुने देउवानिकट एक नेताले जानकारी दिए । १३ औं महाधिवेशनमा सबैभन्दा बढी मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित कोइरालालाई दिने मन्त्रालयको भने टुंगो लागिसकेको छैन । विशेष सूत्रका अनुसार कूटनीतिक चातुर्य भएका कोइरालालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ ।  त्यस्तै बलबहादुर केसी पनि मन्त्री हुने सूचीमा अग्रपंक्तिमा रहेका छन् । १२औं महाधिवेशनबाट काँग्रेस भित्र देउवा समूह छोडेर कोइराला समूहमा आएका केसी त्यसपछि लाभको पद नपाउने उनी एक्लै बने । त्यसैले यसपटक उनलाई बनाउन प्रकाशमान सिंहलगायतका नेताको जोडबल रहेको बुझिएको छ । 

त्यसैगरी मन्त्री हुनेमा डा.प्रकाशशरण महत, बालकृष्ण खाँड, नवीन्द्रराज जोशी, दीपक गिरी, शंकर भण्डारीको नाम पनि अगाडि आएको छ । यीमध्ये डा. महत र खाँड सभापति शेरबहादुर देउवाको रोजाइमा मन्त्री हुनेछन् । उनीहरु सभापति देउवाका अत्यन्तै निकट सहयोगी भएकाले राम्रो मन्त्रालयको जिम्मेवारीसहित मन्त्री हुने सम्भावना बलियो रहेको स्रोतले बतायो । उता जोशी भने यसपटक काठमाडौंको प्रतिनिधित्व  गर्दै मन्त्री हुने प्राय: निश्चित रहेको वरिष्ठ नेता पौडेलनिकट स्रोतले बतायो । पौडेलको प्राथमिकतामा जोशी पहिलो नम्बरमा रहेका छन् । संविधानसभाको दुईवटै निर्वाचनमा प्रत्यक्षतर्फ विजयी भएका जोशी हालसम्म कुनै पनि लाभको पद प्राप्त नगर्ने नेतामा पर्दछन् । यसपटक उनी डा. कोइरालाजस्तै मन्त्री हुने नयाँ अनुहार हुनेछन् । त्यसैगरी गिरी पनि मन्त्री हुने नयाँ अनुहार हुनेछन् ।

दाङबाट प्रत्यक्ष निर्वाचित सांसद गिरीले पनि हालसम्म कुनै लाभको पद नलिएको तथा महामन्त्री डा शशांक कोइरालाको रोजाइमा परेकाले मन्त्री हुने पक्काजस्तै रहेको स्रोतले बतायो । गिरीको पक्षमा वरिष्ठ नेता पौडेल तथा पूर्व महामन्त्री सिंहसमेत रहेको बताइन्छ । शंकर भण्डारी भने काँग्रेस नेता खुमबहादुर खड्काको शिफारिसमा मन्त्री हुने तयारीमा रहेको बताइन्छ । भण्डारीलाई मन्त्री बनाउन पौडेलको प्रयास रहेको बुझिएको छ ।  

त्यसैगरी धनराज गुरुङ, रामकृष्ण यादव, सुरेन्द्रराज आचार्य, मीन विश्वकर्माको नाम पनि मन्त्री पदका लागि चर्चामा आएको छ । गुरुङ जनजाति कोटाबाट, यादव मधेशी र विश्वकर्मा दलित कोटामा मन्त्री बन्ने सम्भावना रहेको स्रोतले बतायो । आचार्य भने दुईपटक कपिलवस्तूबाट काँग्रेसको जिल्ला सभपाति भइसकेको र दुवैपटक संविधानसभामा प्रत्यक्षबाट निर्वाचित भएकाले आचार्यलाई मन्त्री बनाउनुपर्ने नेताहरुलाई ठूलो दबाव रहेको छ । आचार्यलाई मन्त्री बनाउनका लागि महामन्त्री कोइराला र वरिष्ठ नेता पौडेल सकारात्मक भएको बताइएको छ । यीमध्ये धनराज र रामकृष्ण यादव वरिष्ठ नेता पौडेलको कोटाबाट र विश्वकर्मा सभापति देउवाको कोटाबाट मन्त्री हुने सम्भावना रहेको स्रोतले दाबी गर्‍यो ।  

त्यसैगरी मन्त्रिमण्डलमा पठाउने महिलामा अम्बिका बस्नेत, कमला पन्त, डिना उपाध्याय, किरण यादव, ईश्वरी न्यौपानेको नाम चर्चामा छ । यीमध्ये दुईजनाले अवसर पाउने स्रोतले बतायो । स्रोतका अनुसार सभापति देउवाको रोजाइमा बस्नेत परेकी छन् । डिनाको रोजाइ यसपटक मन्त्री बन्ने भन्दा पनि केन्द्रीय सदस्य हुने रहेको र देउवाको पक्षमा भएकी ईश्वरी न्यौपाने संसदीय दलको सचेतक भएकाले पनि बस्नेतको सम्भावना बढेको बताइन्छ । बस्नेतको कोइराला परिवारसँगको लामो संगत र कोइराला समूह छोडेर देउवालाई अघिल्लो कार्यकालदेखि सहयोग गरेकाले पनि देउवाको रोजाइमा बस्नेत पर्ने सम्भावना रहेको स्रोतले बतायो । बस्नेत महिला संघको सभापतिसमेत रहिसकेकी छिन् । 

त्यसैगरी कमला पन्त र किरण यादवमध्ये एकजना मन्त्री बन्ने पक्काजस्तै छ । विगतमा पनि मन्त्री भइसकेकी पन्तले यसपटक मन्त्री बन्न नचाहेमा किरण यादव मन्त्री बन्ने पक्का छ । मन्त्री बन्ने चर्चामा अर्जुन जोशी, फरमुल्लाह मन्सुर, पद्मनारयण चौधरी, ह्दयराम थानी, सुधीर सिवाकोटी, गगन थापा, भीमसेनदास प्रधान, भीष्मराज आङदम्बे, बीरबहादुर बलायरको नामसमेत चर्चामा छ । तर काँग्रेसको भागमा जम्मा १३ मन्त्रालय पर्ने भएकोले चर्चामा आए पनि उल्लेखित नाममध्ये ककसको नाम अन्तिम नामावलीमा पर्ने हो– त्योचाहिँ भाग्योदय चिठ्ठामै निर्भर हुने धेरैको बुझाइ छ । 

 

]]>