देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रेड युनियनको अध्यक्ष बन्न एमाले कर्मचारीभित्र मारामार

देशान्तर

काठमाडौं । हालसालै सम्पन्न निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले निकटको कर्मचारी संगठन पहिलो भएपछि अध्यक्ष को बन्ने भन्नेमा तीव्र विवाद सुरु भएको छ । आधिकारिक ट्रेड युनियनको अध्यक्ष बन्नका लागि संगठनका अध्यक्ष पुण्य ढकाल, पूर्वअध्यक्ष भोला पोखरेल र वर्तमान महासचिव मोहन घिमिरेका बीचमा मारामार सुरु भएको छ । बुधबार सम्पन्न निर्वाचनमा निजामती कर्मचारी संगठन पहिलो, निजामती कर्मचारी युनियन संघ दोस्रो र राष्ट्रिय निजामती कर्मचारी संगठन तेस्रो भएका छन् । मधेसी निजामती कर्मचारी मञ्चले सातवटा जिल्लामा पहिलो स्थान प्राप्त गरे पनि १० प्रतिशत मत ल्याउन नसकेका कारण आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्न नपाउने भएको छ । निजामती सेवा नियमावलीले चारवटा संगठनको परिकल्पना गरेको थियो । तर, अब तीन ओटा दलले मात्र प्रतिनिधित्व गर्ने छन् । 

एमाले निकट कर्मचारी संगठनले अध्यक्ष पाउने भएपछि उक्त पदमा कसलाई पठाउने भन्नेमा निकै चर्को लबी सुरु भएको छ । मुख्य गरेर संगठनका वर्तमान अध्यक्ष पुण्यप्रसाद ढकाल र पूर्वअध्यक्ष भोला पोखरेलले आधिकारिक ट्रेड युनियन अध्यक्ष पदमा दाबी गरेपछि कसले बाजी मार्लान् भन्नेमा सबैको चासो छ । एमाले पार्टीभित्रको गुटको प्रभाव कर्मचारी संगठनमा देखिएका कारण पनि आधिकारिक ट्ेरड युनियनको अध्यक्षमा को जाने भन्नेमा चर्को लविङ सुरु भएको हो । संगठनका वर्तमान अध्यक्ष ढकाल अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् भने पूर्वअध्यक्ष पोखरेल माधव नेपाल पक्षधर मानिन्छन् । पार्टीको गुटको प्रभाव देखिएकाले अध्यक्ष कस्लाई पठाउने भन्ने विषयको टुंगो लगाउनका लागि असार १ र २ गते हामीले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । 

वर्तमान अध्यक्ष पुण्यप्रसाद ढकाल अहिले आधिकारिक ट्ेरड युनियनको दाबी आफूबाहेक कसैले गर्न नहुने भनिरहेका छन् । निजामती कर्मचारी संगठनको नेतृत्व गरेकै बेला संगठनलाई आधिकारिक ट्रेड युनियन निर्वाचनमा दुई तिहाइ मतले विजयी गराउन सफल भएकाले त्यो पदमा कसैले दाबी गर्न नहुने उनको तर्क छ । पूर्वअध्यक्ष पोखरेलले संगठनलाई अभाव र दबाबबाट होइन प्रभावशाली बनाएर चलाउन पनि मतदाताले आफ्नो नेतृत्व खोजको दाबी गरेका छन् । उनी आफूले २०५१ सालदेखि निरन्तर रूपमा संगठनमा रहेर काम गरेको भन्दै सचिवालय र अध्यक्षसम्म भएर काम गर्दा आफ्नो ऊर्जाशील उमेरको करिब २२ वर्ष संगठनमा बिताएकाले र संगठनलाई अहिले शानदार विजयी गराउन सकारात्मक भूमिका खेलेकाले अध्यक्षका लागि योग्य भएको तर्क गर्दै आएका छन् । 

केन्द्रीय कमिटीमा समेत बहुमत भएकाले निर्वाचन हुँदा पनि पोख्रेलले नै जित्ने केहीले दाबी गरेका छन् । यता महासचिव मोहन घिमिरेले संगठनको सारथि आफु भएको भन्दै दुईजना मात्र निर्विकल्प उम्मेदवार नभएको बताउँदै आएका छन् । 

पाँच जना पदाधिकारीसहित २१ सदस्यीय आधिकारिक ट्रेड युनियनमा पहिलो शक्तिका रूपमा निर्वाचनमा पाएको मत परिणामअनुसार निजामती कर्मचारी संगठनले अध्यक्ष, कोषाध्यक्ष गरी दुई पदाधिकारीसहित आठ सदस्य प्राप्त गर्ने छ । निजामती कर्मचारी युनियन (संघ)ले महासचिवसहित सात सदस्य र राष्ट्रिय कर्मचारी संगठनले उपाध्यक्षसहित तीन सदस्य पाउने छ । नियमावलीमा चार संगठनको परिकल्पना गरिएकाले चौथो संगठनलाई सचिव पाउने व्यवस्था गरिएको थियो । तर चौथो संगठनले १० प्रतिशत मत पाउन नसकेकाले सचिव के गर्ने भन्ने विषयमा भने अन्योल रहेको छ । 

नियमअनुसार निर्वाचन कार्यालयमा अब १५ दिनभित्र युनियनमा प्रतिनिधित्व गर्नेहरूको नामावली पठाउनु पर्नेछ । निर्वाचन कार्यालयको त्यो निर्देशनसँगै अहिले युनियनमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्य छान्ने चटारो तीन ओटै संगठनलाई परेको छ । सकेसम्म सर्वसम्मतिका आाधारमा र नभए दुई तिहाइ बहुमतबाट आधिकारिक ट्रेड युनियनमा प्रतिनिधि पठाउनुपर्ने कानुनी व्यवस्था भएका कारण तीन संगठनलाई बढी नै दौडधुप भएको बुझिएको छ ।

 

]]>