देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘अपाङ्गता’ भएकाहरुको लागि खोलिएका स्रोत कक्षा सङ्कटमा

देशान्तर

बाबियाचौर । अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन स्थापित स्रोत कक्षा सञ्चालन गर्न समस्या भएको छ ।

दृष्टिविहीन, सुस्त श्रवण र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालित स्रोत कक्षा सङ्कटमा परेका हुन् । 

सिङ्गाको धौलागिरि माविमा बहिरा, बगुवाखोलाको बालजागृति प्राविमा बौद्धिक अपाङ्गता र पिप्लेको ज्ञानोदय माविमा दृष्टिविहीन स्रोत कक्षा रहेको छ । 

सरकारले उपलब्ध गराउने अनुदान पर्याप्त नहुँदा स्रोत कक्षाका विद्यार्थीका लागि शैक्षिक, खेलकुद सामग्री र पोसाकको व्यवस्था गर्न समस्या भएको धौलागिरि माविका प्रधानाध्यापक केशवप्रसाद रेग्मीले बताए ।  

तीनवटा विद्यालयले १८ जना सुस्त श्रवण, २२ जना दृष्टिविहीन र २४ जना बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधासहित पठनपाठनको व्यवस्था मिलाएका छन् । दरबन्दीका शिक्षक, तालिम र शैक्षिक सामग्रीको अभाव प्रमुख समस्या रहेको ज्ञानोदय माविका प्रअ नीलकण्ठ सुवेदीले बताए ।  

स्रोत कक्षामा अध्ययन गर्ने बालबालिकालाई जिल्ला शिक्षा कार्यालयले वार्षिक प्रतिव्यक्ति रु २५ हजार छात्रवृत्तिका अतिरिक्त सहयोगी सहायता सेवाका लागि पाँच हजार, यातायातलाई तीन हजार र शैक्षिक सामग्रीका लागि रु एक हजारका दरले अनुदान उपलब्ध गराउँदै आएको छ । 

स्रोत कक्षा सञ्चालन, व्यवस्थापन, शिक्षक र सुसारेको तलबका लागि थप रु एक लाख १५ हजार दिइने गरेको विद्यालय निरीक्षक दलबहादुर थापाले बताए ।  

प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) हङकङले २०७० मा स्थापना गरेको ११११ लाखको अक्षयकोषको ब्याजबाट निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था गरेको बालजागृति प्राविका प्रअ भक्त कार्कीले बताउए ।  

स्रोत कक्षाका अतिरिक्त म्याग्दीका सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययन गर्ने ४११ र माध्यामिक तहका ६८ जना फरक क्षमता भएका विद्यार्थीलाई वर्गीकरणको आधारमा छात्रवृत्ति उपलब्ध गराइँदै आएको छ । 

]]>