देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसंघको महाधिवेशनमा उम्मेदवारीको होडबाजी

देशान्तर

काठमाडौं । पटकपटक मिति घोषणा भएर पनि झन्डै आठ वर्षदेखि हुन नसकेको नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आगामी साउनको अन्तिम हप्ता काठमाडौंमा गर्ने औपचारिक निर्णय भएको छ । हालै सम्पन्न भएको नेविसंघका केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति र स्थानको टुंगो लगाएको हो । महाधिवेशन आउँदो साउनको २३ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने गरी तोकिएको हो । 

महाधिवेशनका लागि आगामी केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाउने निर्णय पनि बैठकले गर्नुका साथै पदाधिकारीको संरचनाका बारेमा टुंगो लगाउने कार्यदल गठन गरी जिम्मा दिइएको छ । नेविसंघको अहिलेको मनोनीत केन्द्रीय समिति एक सय २१ सदस्यीय रहेको छ । चितवनमा भएको संघको १० औं महाधिवेशनबाट निर्वाचित प्रदीप पौडेल नेतृत्वको केन्द्रीय समितिले पटकपटक मिति तोक्दा पनि महाधिवेशन गर्न नसकेपछि कर्णको नेतृत्वमा पार्टीले नयाँ समिति गठन गरेको हो ।

तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले ६ महिनाभित्रमा संघको महाधिवेशन गर्न भन्दै २०६८ सालको माघमा कर्णलाई अध्यक्षमा मनोनयन गरेका थिए । देशभरका विभिन्न जिल्ला समिति तथा क्याम्पस समितिमा रहेको विवाद मिलाउन छुट्टै समिति बनाउने र महाधिवेशनलाई व्यवस्थित गर्न विभिन्न उपसमिति पनि गठन गर्ने निर्णय भएको अध्यक्ष कर्णले जानकारी दिए । झन्डै १५ जिल्लामा अझै पनि नेविसंघतिर विवाद रहेको भनिएको छ । 

सातवटै प्रदेशमा असार महिनाभित्र कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्नुका साथै महँगी कालोबजारी, शैक्षिक व्यापारीकरण लगायतका विरुद्धमा चरणबद्ध आन्दोलन गर्ने तयारी नेविसंघले गरेको छ । यसअघि पटकपटक मिति तोक्दै स्थगित हँुदै आएको संघको महाधिवेशन अब भने निर्धारित समयमै गर्नका लागि समन्वय गर्ने जिम्मेवारी पार्टीले केन्द्रीय सदस्य डा. प्रकाशशरण महतलाई दिएको छ । 

नेपाल विद्यार्थी संघले महाधिवेशनको मिति घोषणा गरे पनि अधिवेशनमा निर्वाचनमार्फत नेतृत्व चयन हुनेमा भने आम विद्यार्थीबीचमा अन्योलता नै कायम छ । अधिकांश विद्यार्थी नेपाल विद्यार्थी संघको अधिवेशन बढीमा उद्घाटन भएर टुंगिन्छ कि आशंकामा छन् । यसैबीच नेविसंघको भावी अध्यक्षमा मनोजमणि आचार्य, नैनसिंह महर र जितजंग बस्नेतको नाम चर्चामा आएको छ । त्यसैगरी उपाध्यक्षमा नीलकण्ठ रिजाल, दीपक भट्टराई, बलदेव तिमल्सिना, युवराज पाण्डे, सरोज थापा, महामन्त्रीमा रामप्रसाद अधिकारी, उर्मिला थपलिया, कुन्दन काफ्ले, गणेश सापकोटा, डिल्ली सुवेदीलगायतले प्रचार गर्न थालेका छन् । 

अध्यक्षका दाबेदारमध्ये सवैभन्दा पुराना र समन्वयकारी नेताका रूपमा आचार्य चिनिन्छन् । विद्यार्थी आफ्नो संगठनमात्र होइन, अनेरास्ववियु तथा क्रान्तिकारीलगायत सबै विद्यार्थी संगठनसँग उनको सुमधुर सम्बन्ध रहेको विद्यार्थी नेताका रूपमा आचार्य परिचित छन् । आचार्यले नेविसंघको नेतृत्वमा रहँदा विभिन्न कार्यक्रम तथा अभियानहरू सञ्चालन गरेका थिए । उनले सञ्चालन गरेको अभियान तथा कार्यक्रमले नेविसंघको उचाइलाई माथि पुर्‍याएको थियो । उनको अगुवाइमा ‘जहाँ स्कुल त्यहाँ नेविसंघ’, ‘एक विद्यालय एक पुस्तकालय’ तथा ‘सार्वजनिक विद्यालय सुधार’ लगायतका थुप्रै अभियान सञ्चालन भएका थिए । संगठन सञ्चालनका लागि सबैभन्दा उत्तम नेता आचार्य हुने बताएका छन् । आचार्यको समूहमा रहेका दीपक भट्टराई, नीलकण्ठ रिजाललगायतका अध्यक्षका दाबेदारहरूले समेत आचार्यलाई सहयोग गर्ने बुझिएको छ ।

नेपाल विद्यार्थी संघको प्रचार विभागमा बसेर काम गरेको रामप्रसाद अधिकारी, त्रि—चन्द्रको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएर काम गरिसकेको दीपक भट्टराई, देशभर संगठनका लागि दौडधुप गर्ने नीलकण्ठ रिजालमात्र नभएर नेपाल विद्यार्थी संघभित्र सशक्त महिला नेतृका रूपमा चिनिएका उर्मिला थपलिया आचार्यको साथमा रहेकाले आचार्यको समूह बलियो देखिएको छ । आचार्यको टोली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका छन् । 

उता महर र बस्नेतका बीचमा भने अझै को उम्मेदवार बन्ने टुंगो लागेको छैन । दुवैजना सभापति शेरबहादुर देउवा पक्षका हुन् । महर निर्वाचनबाट नेतृत्वको चयन हुनुपर्छ भन्ने पक्षमा देखिएका छन् भने निर्वाचन नभएमा सभापतिको कृपा पाउने भएकाले होहल्ला गरेर महाधिवेशन स्थगित गराउने तयारीमा बस्नेतको समूह रहेको चर्चा छ । 

 

]]>