देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेता छान्न बसेको बैठकमा छानिछानी हातपात

देशान्तर

काठमाडौं । अधिकारिक ट्रेड युनियनको नेता छान्नका लागि बसेको सत्तारूढ नेकपा एमाले निकटको निजामती कर्मचारी संगठनको बैठक अध्यक्ष को बन्ने विषयमा विवाद बढ्दै गएर एकआपसमै कुटाकुट भएपछि अनिश्चितकालका लागि स्थागित भएको छ । आधिकारीक ट्रेड यूनियनको चुनावमा पहिलो भएको एमाले निकट कर्मचारी संगठनको शुक्रबार बिहान सुरु भएको बैठकमा हातपात भएपछि बैठक स्थगित भएको हो । 

निजामती कर्मचारी संगठनमा एमाले अध्यक्ष एंव प्रधानममन्त्री केपी ओली निकट भनेर चिनिने संगठनका अध्यक्ष पुण्य ढकाल बिहीबार बैठक चल्दै गर्दा दिनभर लापत्ता भएका थिए । शुक्रबार बिहान उपस्थित भएका उनलाई बैठक सुरु हुँदै गर्दा एमाले वरिष्ठ नेता माधव नेपाल निकट मानिने पूर्वअध्यक्ष भोला पोखरेल समूहका कर्मचारीहरुले हामीलाई भेडाबाख्रा बनाएको भन्दै अध्यक्ष ढकालसँग आक्रोश पोखेका थिए । शुक्रबार बिहान सुरु भएको बैठकसमेत आधा घन्टामै स्थगित भएको थियो । बैठकमा अध्यक्ष ढकाल सहभागी भएपछि ढकाल समूहले बैठक चलिरहेको कक्षको ढोका भित्रबाट बन्द गर्न खोजेपछि भोला पक्षका गंगा सुनार, केदार देवकोटा, भवानी दाहाल ढोका खोल्न खोजे । भोला पक्षका भनेर चिनिने सचिव गंगा सुनार घाइतेसमेत भएका थिए । 

एउटा पक्षले ढोका ढेल्ने र अर्काे पक्षले ढोका बन्द गर्न खोज्दा दुई समूहका बीचमा हात हालाहालको अवस्था सिर्जना भएको बताइएको छ । अध्यक्ष ढकाल समूहले ढोका थुनेर जबर्जस्ती आफैं अध्यक्षमा पठाउने निर्णय गर्न लागेपछि भोला पोखरेल समूहका नेताहरू ढोका खोल्न गएको बताइएको छ । 

दोहोरो घम्साघम्सी पर्दा केही थान कुर्सी र टेबुलहरू भाँचिएका छन् । शुक्रबार नै सम्पन्न भइसक्नुपर्ने नेपाल निजामती कर्मचारी संगठनभित्र पदका लागि चरम विवाद सुरु भएको छ । आधिकारिक  युनियनको अध्यक्षमा कसलाई पठाउने भन्ने विषयमा विवाद चर्किएको हो । आधिकारिक ट्रेड युनियनको अध्यक्षका लागि ढकाल र संगठनका पूर्वअध्यक्ष भोला पोखरेलबीच प्रतिस्पर्धा छ । संगठन पहिलो भएपछि अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र आठ सदस्यसहित ११ जनाले आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व पाउने निश्चित भयो । तर, ती पदाधिकारी र सदस्य छनोट गर्ने मामिलामा भने निजामती कर्मचारी संगठनमा महाभारत भएको छ ।

निर्वाचनमा दोस्रो भएको निजामती कर्मचारी युनियन संघले प्रतिनिधि छनोट टुंग्याएको छ । तेस्रो भएको माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनले भने आफूहरूले पाउने उपाध्यक्ष पद खोसेर सचिव पद दिइएको भन्दै उपाध्यक्षको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेको छ । पहिलो बनेको निजामती कर्मचारी संगठनमा भने छनोट प्रक्रियामै हात हालाहालको अवस्था सिर्जना भएको छ । नियमअनुसार निर्वाचन कार्यालयमा १५ दिनभित्र युनियनमा प्रतिनिधित्व गर्नेहरूको नामावली पठाउनुपर्ने भए पनि निजामती कर्मचारी संगठनको विवादकै कारण समस्या भएको छ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री निकट रहेका उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेलसमेत आधिकारिक ट्रेड युनियनमा पोखरेललाई नै अध्यक्ष बनाउने तयारीमा देखिएपछि ढकाल समूह केही आत्तिएको बताइएको छ । 

 

]]>