देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टी कार्यालय जाँदैनन् कांग्रेस नेता

देशान्तर

काठमाडौं । कांग्रेसको १३औँ महाधिवेशन सम्पन्न भएको चार महिना भएको छ। तर, सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सुनसान छ। पार्टी पदाधिकारीका साथै अन्य नेताहरूसमेत केन्द्रीय कार्यालय जाँदैनन्। विधानतस् नयाँ कार्यसमिति गठन भएको दुई महिनाभित्रै बाँकी सदस्य र विभागहरू गठन भइसक्नुपर्नेमा अहिलेसम्म केन्द्रीय समितिले पूर्णता पाएको छैन। अझै ११ केन्द्रीय सदस्य र तीन पदाधिकारी मनोनीत गर्न बाँकी छ। सदस्य मनोनयन र विभाग गठन नभएकाले अन्य नेता तथा कार्यकर्ताहरू शीर्ष नेताकै निवासमा बढी जाने गरेका छन्।

सभापतिसँग ७५ प्रतिशत व्यक्तिगत गुनासा

सभापति शेरबहादुर देउवासँग भेट्न पुग्ने नेता–कार्यकर्तामध्ये २५ प्रतिशत राजनीतिक र ७५ ले व्यक्तिगत समस्या सुनाउने गरेका छन्। ‘प्रायः व्यक्तिगत गुनासा नै लिएर पुग्ने नेता–कार्यकर्ता धेरै हुन्छन्,’ देउवानिकट स्रोत भन्छ, ‘२५ प्रतिशतजति पार्टीका समस्या लिएर पुग्छन्, तर ७५ प्रतिशत सरुवा, बढुवा, ठेक्कापट्टा, केन्द्रीय सदस्य विभागमा ल्याउनुपर्ने जस्ता व्यक्तिगत समस्या लिएर आउँछन्।’

सभापति भएको चार महिनामा देउवा तीनपटक केन्द्रीय कार्यालय पुगेका छन्। जिल्ला दौडाहा र पार्टी बैठकबाहेक देउवा बुढानीलकण्ठको आफ्नै निवासमा नेता–कार्यकर्ता भेट्छन्। भेटका लागि उनले बिहान ८ देखि ११ र बेलुका ३ बजेदेखि साँझसम्मको समय छुट्याएका छन्। उनका सहयोगी भानु देउवाका अनुसार एक दिनमा झन्डै डेढ सय नेता–कार्यकर्तासँग उनी भेट गर्छन्। अब छिटै देउवाले पार्टी कार्यालयमा नियमित कार्यकर्तालाई भेटघाट गर्ने उनको सचिवालयले तयारी गरेको छ।

महाराजगन्जस्थित कोइरालानिवास सधैँ भरिभराउ

महामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बिहानैदेखि भीड लाग्छ । पूर्वसभापति सुशील कोइराला बसेकै घरमा महामन्त्री शशांक बस्दै आएका छन्। आवतजावतमा सहज हुने भएकले पनि नेता–कार्यकर्ता शशांकनिवासमा बढी पुग्छन्।

पौडेलको कार्यालयमा भन्दा निवासमा बढी भीड

१३ औँ महाधिवेशनमा सभापतिमा पराजित भएका नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालय जाने तालिका बनाएका छन्। काठमाडौं हुँदा दिउँसो २ देखि ५ बजेसम्म कार्यालय पुग्ने तालिका रहेको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए। तर, उनको निवास बोहोराटारमा बिहानैदेखि नेता–कार्यकर्ताको भीड लाग्छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>