देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुनर्निर्माण प्राधिकरणमा काँग्रेसको २२ बुँदे असन्तुष्टि

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा पुनःनिर्माणमा राजनीति र ढिलासुस्ती भएको भन्दै २२ बुँदे असन्तुष्टि पेस गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकमा काँग्रेसको तर्फबाट सहभागी भएका नेता प्रकाशमान सिंहले सो असन्तुष्टि पेस गरेका हुन् ।
 
काँग्रेसले पुनःनिर्माणलाई गति दिनभन्दा शब्दमा मिठास थपेर अवास्तविक आकाङ्क्षाको सूची जनतामा पस्कन सरकार व्यस्त भएको आरोप लगाएको छ ।
 
त्यस्तै सो पार्टीले प्राधिकरणले अहिले प्रयोग गरेको सात कार्यविधि र १७ प्रकारका घरको नक्सा सुशील कोइराला नेतृत्वको सरकारले गत वर्ष नै तयार गरिसकेकाले प्रभावित जिल्लामा पठाउन ढिला भएको जनाएको छ ।
 
नेकपा (एमाले)ले आफू निकटका गैरसरकारी संस्थालाई काम दिन अव्यावहारिक र लामो प्रक्रियाबाट अनुदान दिँदा अहिलेसम्म पाँच हजारले मात्र पहिलो किस्ताको अनुदान पाएको काँग्रेसको भनाइ छ ।

एक लाख ५१ हजारसँग अनुदान सम्झौता

प्राधिकरणले एक लाख ५१ हजार १६४ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको जनाएको छ ।
 
प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले समितिको आजको बैठकमा अहिलेसम्मको प्रगति र आगामी चौमासिक लक्ष्य प्रस्तुत गर्दै यो जानकारी गराएका हुन् ।

एक लाख ७१ हजार ६७७ घरधनीलाई पहिलो किस्ताको अनुदान रकम बैंकमार्फत वितरण गर्न क्षेत्रगत विभाजन गरी बैंकका शाखा तोकिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

“आवश्यकताअनुसार जिल्ला तहमा छलफल र समन्वय गरी परिष्कृत गर्न सक्ने व्यवस्था मिलाइएको छ, बाँकीका लागि क्षेत्रगत विभाजन गरी बैंकको शाखा तोकेर एकहप्ताभित्र प्रतिवेदन प्राधिकरणको केन्द्रीय कार्यालयमा पठाउन जिल्ला समन्वय उपसमितिलाई निर्देशन दिइएको छ” – उनले भने ।

अनुदान रकम वितरणका लागि प्राधिकरण, नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल एवम् नेपाल फाइनान्सियल इन्स्टिच्युसन्स एसोसिएसनबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । समझदारी पत्रअनुसार प्राधिकरण, ‘क’, ‘ख’ र ‘ग’ वर्गमा परेका ५९ वटा बैंक तथा वित्तीय संस्थासँग सम्झौता पनि  भइसकेको निर्देशक ज्ञवालीले बैठकमा जानकारी गराए ।

समितिको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली संसद् बैठकमा जानुपर्ने भएकाले बेलुकी ५ बजेसम्मका लागि बैठक स्थगित गरिएको प्राधिकरणले जनाएको छ ।

शुक्रबारसम्म पाँच हजार ८४१ घरधनीकोे पहिलो किस्ताबापत रु २४ करोड ५९ लाख ५० हजार अनुदान रकम बैंक खातामा जम्मा भइसकेको छ  ।

दोलखा, रामेछाप, सिन्धुपाल्चोक, गोर्खालगायतका जिल्लामा करिब पाँच हजार घर पुनःनिर्माणको थालनी भएको जानकारी जिल्ला समन्वय कार्यालयबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ । भूकम्प प्रतिरोधी घर बनाइसकेका घरधनीलाई प्राविधिक जाँच गरी अनुदान उपलब्ध गराउने निर्णय भएको प्रवक्ता थपलियाले बताए ।  

निजी आवास पुनःनिर्माणका लागि गत वैशाख १७ गते सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत रु १२ अर्ब ४४ करोड ६८ हजार निकासा भइसकेको छ । आवश्यकताअनुसार क्रमशः थप रकम निकासा गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युतीय प्रणालीबाट पठाएको सूचनाका आधारमा व्यक्तिको बैंकमा उपस्थितिबिना नै सम्बद्ध लाभग्राहीको नाममा एकमुष्ट खाता खोल्ने व्यवस्था मिलाएको छ । लाभग्राही घरधनीले सम्झौता फाराम र नागरिकता लिई बैंकमा गएपछि अनुदान रकम प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

]]>