देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दाहाललाई अस्ट्रेलिया जान कस्ले रोक्यो ?

देशान्तर

काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको गत बुधबारबाट हुने भनिएको साताव्यापी अस्ट्रेलिया भ्रमण रोकिएको विषयमा विभिन्न कारणहरू सार्वजनिक भएका छन् । दाहाल आफैंले नेपालको राजनीतिक कारण भ्रमण स्थगित गरेको बताएका छन् । जाने दिन नै बिनाकारण प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका प्रचण्डले त्यसैको आवरणमा आफ्नो अस्ट्रेलिया भ्रमण रद्द गरे । तर यथार्थमा प्रचण्ड अस्ट्रेलिया जान नसक्नुमा द्वन्द्वकालीन मुद्दाका कारण थुनिने डर नै रहेको रहस्य सार्वजनिक भएको छ । अस्ट्रेलियामा कर्णेल कुमार लामाको हविगत हुन सक्ने भयले प्रचण्ड भ्रमण रद्द गर्न बाध्य भएको पुष्टि भएको छ । र, अस्ट्रेलियामा प्रचण्डलाई फसाउन प्रधानमन्त्री ओली नै सक्रिय रहेको तथ्य देशान्तरले फेला पारेको छ । 

दाहालको बुधबार मध्यान्ह १२ बजे अस्ट्रेलिया भ्रमणमा जाने कार्यक्रम थियो । अस्ट्रेलिया जानुभन्दा केही घन्टा अघिमात्रै उनले भ्रमण स्थगित गरेका हुन् । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन नेपाली जनप्रगतिशील मञ्चको तेस्रो अधिवेशनको कार्यक्रममा सहभागी हुन उनी आठ दिन लामो अस्ट्रेलिया भ्रमणमा जाने कार्यक्रम थियो ।

जानकार स्रोतका अनुसार प्रचण्डलाई अस्ट्रेलिया जान नसक्ने अवस्था सिर्जना गर्ने काम प्रधानमन्त्री ओली र उनको पार्टी एमालेले गरेको हो । दाहालको अस्ट्रेलिया भ्रमण तय भएलगत्तै एमालेले उनलाई अस्ट्रेलिया जान नसक्ने वातावरण तयार पार्न चलखेल सुरु गरेको थियो । स्रोतका अनुसार दाहालले भिसा नपाऊन् भनेर माओवादी पीडित नेपालीहरूले एमालेको योजनाअनुसार चलखेल गरेका थिए । यद्यपि पूर्वप्रधानमन्त्री प्रचण्डलाई भिसा नदिने निर्णय अस्ट्रेलियाले गर्न सकेन । त्यसपछि अस्ट्रेलियामा रहेका एमाले निकट कार्यकर्ताहरूले दाहाल मानवअधिकारविरोधी एवं गैरन्यायिक हत्यारा भएको भन्दै अस्ट्रेलियन सरकारलाई उजुरी हालेका थिए । नेपाली सेनाका कर्णेल कुमार लामालाई बेलायतले थुनेजस्तै दाहाललाई गिरफ्तार गराउने उद्देश्यले अस्ट्रेलियाको पूर्वी प्रान्तीय सरकार ‘न्यु साउथ वेल्स’ का प्राइमर माइक ब्राइडलाई उनीहरूले पत्राचार गरेका थिए । इमेलमार्फत हालिएको सो उजुरीबारे त्यहाँको सरकारले प्रान्तीय सरकारका न्यायमन्त्री एवं प्रहरीलाई समेत जानकारी गराइसकेको थियो ।

सो उजुरी दिन प्रधानमन्त्री ओलीको आफ्ना कार्यकर्तालाई उक्साएको स्रोतले बतायो । दाहालविरुद्ध उजुरी दिन अस्ट्रेलियामा रहेका झापाका दुई दाजुभाइ भवानी ओली र महेन्द्र ओलीले भूमिका खेलेका थिए । भवानी ओली अस्ट्रेलियाका व्यापारी हुन् । उनी गैरआवासीय नेपाली संघको चुनावमा उपाध्यक्षको उम्मेदवार बनेर पराजित भएका हुन् भने महेन्द्र एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष हुन् । उनीहरू दुवै एमालेका कार्यकर्ता हुन् । त्यतिमात्रै होइन एमालेभित्र पनि उनीहरू ओलीप्रति वफादार मानिन्छन् । उनीहरूले नै दाहालविरुद्ध बेनामे उजुरी गरेको तथ्य बाहिर आएको छ । 

अस्ट्रेलियामा रहेका माओवादी विरोधी नेपालीका तर्फबाट पठाइएको सोही इमेलकै आधारमा दाहाललाई पक्राउ गरिन्थ्यो या गरिँदैनथ्यो, त्यो उनको भ्रमण नै स्थगित भएका कारण प्रष्ट हुन पाएन । तर, माइक ब्राइडका पत्राचार प्रबन्धक गेल मिचेलले उजुरीकर्तालाई दिएको जवाफी इमेललाई हेर्दा दाहालको भ्रमणलाई अस्ट्रेलिया सरकारले गम्भीर रूपमा लिएको देखिएको छ । 

यता ओलीले प्रचण्डको अस्ट्रेलिया भ्रमणको सन्दर्भमा ‘बोक्सी पनि आफैं, धामी पनि आफैं’ उखानलाई चरितार्थ गरे । अस्ट्रेलिया भ्रमणमा जान लागेका दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गर्न गएको बेलामा ओलीले नै दाहाललाई भ्रमणमा नजान सुझाव मात्र दिएनन् अस्ट्रेलियामा परेको उजुरी र त्यसले पार्न सक्ने अप्ठेरोको बारेमा पनि अवगत गराए । ओलीले त्यस्तो डर देखाएसँगै दाहालले आफू अस्ट्रेलिया नजाने निधो गरेको स्रोतले बतायो । दाहाललाई यस्तो ‘गुन’ लगाएर ओलीले आफ्नो सत्ता बलियो बनाएको विश्लेषण एमालेजनको छ । तर, माओवादीभित्र भने ओलीले प्रदर्शन गरेको दोहोरो चरित्रबारे कुरा उठ्न थालिसकेको छ ।

 

]]>