बेसीसहर । संसद् विकास कोषको बजेटबाट सांसद चन्द्रबहादुर कुँवरले आफ्नो निजी खेतमा सिँचाइ गर्नका लागि नक्सामा नै नभएको कुलो निर्माण गर्ने कार्य सुरु गरेपछि लमजुङको सुन्दरबजार नगरपालिकामा विवाद सुरु भएको छ । सांसदले आफ्नो खेतमा पानी लानको लागि पक्की कुलो निर्माण गरेपछि आफ्नो खेतमा सिँचाइ नहुने र करिब पाँच सय रोपनी जमिन बाँझो पल्टिने भन्दै स्थानीय बासिन्दाहरूले सांसद कुँवरको सो योजनाप्रति गम्भीर आपत्ति जनाइरहेका छन् । कुलो निर्माण कार्य रोक्न सम्बन्धित निकायहरूमा हारगुहार गर्दै निर्माणकार्यमा अवरोध पुर्याइरहेकाले तनावको वातावरण उत्पन्न भइरहेको छ ।
सांसदले कुँवरले नक्कली उपभोक्ता समिति गठन गरेर आफ्नो खेतमा सिँचाइ गर्नका लागि कुलो निर्माण अभियान सुरु गरेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् । उक्त स्थानमा नै नभएका व्यक्तिहरूलाई समितिमा रहेको र बैठक बसेको तयार पारिएको माइन्युट नै नक्कली बनाएर किर्ते हस्ताक्षर गरेको रहस्य खुलेको छ । यतिसम्म कि समितिमा बसेको भनिएका कतिपय व्यक्तिहरू काठमाडौं र विदेशमा समेत भएको स्थानीयवासीको भनाइ छ ।
सांसद कँुवरले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको लागि बनाइएको उपभोक्ता समितिमा आफूहरूलाई जानकारी नै नदिइकन नाम समावेश गरिएको र आफूहरू उक्त आयोजनाको लाभग्राही पनि नभएको समितिमा राखिएकी लक्ष्मीकुमारी डौलियाले बताइन् । समितिमा नाम राखिएका धेरैजसोले आयोजना निर्माणपछि आफूहरूकै जग्गा बाँझो हुने भन्दै उक्त समितिमा आफूहरू नरहेको सार्वजनिक गरिसकेका छन् । लक्ष्मीकुमारी डौलिया, सम्झना अधिकारी, नरबहादुर बुढालगायतका उपभोक्तहरूले आफूहरू भुतिया मुहान कान्लेखेत सिँचाइ जल उपभोक्ता समितिमा नरहेको जानकारीसहित जिल्ला सिँचाइ डिभिजन कार्यालयमा उजुरी पनि दिएका छन् ।
उनीहरूका अनुसार सांसदले नक्सामा नभएको उक्त कुलो निर्माण गरेको खण्डमा २५/३० परिवारले भोगचलन गर्दै आएको करिब पाँच सय रोपनी जमिन बाँझै हुने र परम्परादेखि नै चल्दै आएका सो स्थानभन्दा तलका कैजली, कान्लेखेत, निबोटे र तल्लो निबोटे गरी चारवटा कुलाहरू सुक्ने चिन्ता प्रकट गरेका छन् । परम्परादेखि नै चल्दै आएका यी कुलाहरू नक्सामा स्पष्ट छन् । तर सांसदले झुक्याएर कान्लेखेत सिँचाइको नामबाट त्यसमा भुतिया मुहान थपी नक्सा नै नभएको ठाउँबाट जवर्जस्ती निर्माण सुरु गरेको उनीहरूले बताए । सांसद्को यो कर्तुतको स्थानीयस्तरमा व्यापक विरोध भइरहेको छ । हाल कुलो निर्माणको निरीक्षणको लागि गएका सांसदलगायतका व्यक्तिहरूलाई स्थानीय बासिन्दाले लखेट्ने गरेका छन् ।
प्रचलित कानुनअनुसार पक्की कुलो निर्माण गर्न कि त पहिले नै कुलो भनेर नक्सामा उल्लेख भएको हुनुपर्छ । यदि त्यस्तो छैन भने उक्त स्थानमा राज्यले जग्गाधनीहरूको सहमतिमा अधिग्रहण गर्नुपर्ने हुन्छ । तर त्यसो नगरी सांसदले आफ्नो पहँुच र प्रभावको दुरुपयोग गरी स्थानीयहरूको जग्गामा जबर्जस्ती पक्की कुलो निर्माण गर्न लागेका छन् । जनप्रतिनिधिले नै जनभावना विपरीत काम गरेपछि उक्त कार्यको विभिन्न तहबाट हाल विरोध भइरहेको छ । स्थानीय बासिन्दा सूर्यकुमारी डौलियाले सांसदले आफ्नो खेतमा सिँचाइ गर्नको लागि पक्की कुलो निर्माण गर्न लागेर आफूहरूको खेत बाँझो पार्न लागेको आरोप लगाउँदै भनिन्, ‘सांसदजस्तो मान्छेले जनताका खेतमा पहिले सिँचाइको व्यवस्था गर्नुपर्नेमा उल्टो आफ्नो खेतमा सिँचाइ गर्ने जनताको खेत बाँझो पार्ने कामबाट हामी अच्चमित भएका छौं ।’
सांसद कुँवरको योजनाअनुसार कुलो निर्माण भएपछि परम्परादेखि भोगचलन गर्दै आएको कुलो सुक्ने जसबाट २५/३० परिवार पीडित हुने भन्दै डौलियाले भावविह्वल हुँदै भनिन्, ‘हामीले आशा गर्ने मान्छेबाट यस्तो काम भनेपछि अब हाम्रो कुरा कसले सुनिदिन्छ ?’ सांसदको उक्त कार्यप्रति स्थानीयस्तरमा तीव्र आक्रोश रहेको छ ।
स्थानीयवासी भोजबहादुर तामाङ भन्छन्, ‘यो कुलो निर्माण भएपछि त्योभन्दा तलका चारपाँचवटा कुलाहरू बन्द हुन्छन् र स्थानीय बासिन्दाहरूको चार–पाँच सय रोपनी जमिन बाँझो हुने हुनाले पछि समस्या उत्पन्न हुन्छ ।’ यदि कुलो निर्माण गरे पनि परम्परागत रूपमा चल्तीमा रहेकै स्थानमा निर्माण गर्नुपर्ने माग तामाङको रहेको छ ।
त्यस्तै नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति सांसद विकास कोषको रकमको व्यापकरूपमा दुरुपयोग भएको र यसले जनताका समस्या समाधान गर्नेभन्दा पनि सांसदहरूको निहित स्वार्थ पूरा गर्ने औजार भएको भन्दै यसको औचित्यमाथि नै प्रश्न उत्पन्न भएको बताउँदै भन्छन्, ‘कोषको रकमबाट विकास निर्माण हुनुभन्दा पनि सांसदहरूको स्वार्थपूर्ति गर्ने र रिसईबी साँध्ने बाटो भएको छ, यसबारेमा सरकारले पुनर्विचार गर्नुपर्ने भए पनि खासै चासो नदिइनुले दु:खद् छ ।’
]]>
प्रतिक्रिया