काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको महाधिवेशन आगामी असार पहिलो साता हुने भएको छ । नेविसंघका अध्यक्ष रञ्जित कर्णले पार्टी सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठ निवासमा भेटी संघले असार पहिलो साता महाधिवेशन गर्ने तयारी थालेको जानकारी दिए । देउवाले कर्णलाई बोलाएर नेविसंघ महाधिवेशन तयारीबारे जानकारी लिएका हुन् ।
उनले पार्टीको प्रतिष्ठासँग गाँसिएकाले नेविसंघको महाधिवेशन यथाशीघ्र गर्न निर्देशन दिएको भेटमा सहभागीले जानकारी दिए । कर्णले अबको १० दिनभित्र नेविसंघको केन्द्रीय समितिको बैठक गरी महाधिवेशनको मिति तय गरिने जानकारी देउवालाई गराए । सभापति देउवाले आइतबारै नेविसंघ हेर्ने निर्देशक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएका छन् ।
१३औं महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिको पहिलो बैठकले सबै भ्रातृ संगठनलाई ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको थियो । निर्देशनपछि नेपाल तरुण दल र नेपाल महिला संघले भदौमा महाधिवेशन गर्ने निर्णय गरिसकेका छन् ।
]]>
प्रतिक्रिया