देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्लस टु पास नगरेको व्यक्ति पत्रकार बन्न नपाउने प्रस्ताव

देशान्तर

रत्ननगर । नेपाल पत्रकार महासङ्घले एसएलसी मात्र गरेका व्यक्तिले पत्रकार बन्न नपाउने गरी विधान संशोधनको प्रस्ताव ल्याएको छ । 

मङ्गलबारदेखि चितवनको रत्ननगरमा हुन लागेकोे विधान सभामा उक्त संशोधन प्रस्ताव पेस गर्न लागिएको पत्रकार महासङ्घले जनाएको छ । महासङ्घले सभासद्लाई अध्ययनका लागि दिएको उक्त विधान संशोधनको प्रस्तावमा पत्रकार बन्नलाई अब कम्तीमा पनि उच्च माध्यमिक तह वा सो सरहको पढाइ हुनुपर्ने प्रावधान राखिएको छ । 

यसअघिको विधानमा एसएलसी गरेर मापदण्ड पुगेका पत्रकार बन्न पाउने प्रावधान थियो । पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधनका लागि उक्त प्रस्ताव ल्याइएको महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए ।  

महासङ्घको कात्तिक २७ को बैठकले विधान संशोधन गर्ने निर्णय गरेअनुरुप फागुन १९ मा सभासद् र सदस्यबाट आएको सुझाव समेटेर चैत १५ मा उक्त प्रस्ताव पारित गरिएको हो । 

यस वर्ष पेसा र भौतिक सुरक्षालाई प्राथमिकता दिंँदै पत्रकार तथा आमसञ्चारमाध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहने भन्ने बुँदा थप गरिएको छ । प्रस्तावमा कार्यकारिणी सभालाई केन्द्रीय सभा बनाउने, सभासद्लाई केन्द्रीय सभासद् र प्रदेश सभा नयाँ थप्ने प्रस्ताव ल्याइएको छ । भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भए पनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ । यसमा सातवटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठान एक गरी १० पु¥याउने योजना छ । 

यस्तै केन्द्रीय सभामा चयन हुने सभासद् यसअघि १० बराबर १ रहेकामा प्रस्तावित विधानमा १५ बराबर एक रहने व्यवस्था गरिएको छ । तर यो व्यवस्थामा भने सम्बन्धित सरोकारवालाहरुले गम्भिर आपत्ति जनाएका छन् । 

यसैबीच, महासङ्घको साधारणसभाका लागि केन्द्रीय समितिको टोली आइतबार साँझ रत्ननगर आइपुगेको छ । साधारणसभामा एक हजार ६५१ सदस्य सहभागी हुनेछन् । हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजारभन्दा माथि छ । साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने महासङ्घले जनाएको छ । 

]]>