देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार परिवर्तन गर्न कांग्रेसमा दबाब

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा वर्तमान सरकार हटाउन पार्टी नेतृत्वलाई तीव्र दबाब परेको छ । संविधान कार्यान्वयन, भूकम्पपीडितलाई राहत वितरण, पुनर्निर्माण, मधेस मुद्दा समाधान, कालोबजारी नियन्त्रणमा केपी ओली नेतृत्वको सरकार असफल भएको कांग्रेस सांसदको आरोप छ ।

वैकल्पिक नेतृत्वबारे मौन

संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा बोल्ने १८ मध्ये अधिकांश सांसदले सरकार असफल भएको आरोप लगाएका हुन् । उनीहरूले नयाँ सरकार गठनमा लाग्न नेतृत्वलाई दबाब एिका छन् । तर, उनीहरूले नयाँ सरकारको नेतृत्वबारे खुलेर बोलेनन् ।

केन्द्रीय सदस्य एवं सांसद मीन विश्वकर्माले अधिकांश सांसदले सरकारको कमजोर कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकार फेर्नेसम्मको विषय उठाएको जानकारी दिए । केही सांसदहरूले भने सबैभन्दा ठूलो पार्टीका रूपमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निभाउनुपर्ने बताएका थिए । केही दिनयता कांग्रेसका वरिष्ठ नेताहरू सार्वजनिक रूपमा ओली नेतृत्वको सरकार गिराएर नयाँ सरकार गठन गर्नुपर्ने टिप्पणी गर्दै आएका छन् ।

सरकारको कमजोरीविरुद्ध सशक्त आवाज उठाउने

संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठकले सरकारका कमजोरी संसद्मा उठाउने र सशक्त भएर प्रस्तुत हुने निर्णय गर्दै छ । भूकम्प पुनर्निर्माण, सुक्खा खडेरी र आगलागीपछिको संकटमा सरकार उदासीन बनेको, मधेस मुद्दामा सरकार उदासीन, अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार नआएको, विकास निर्माणमा सुस्तता, नियुक्तिमा राजनीतीकरणजस्ता विषयलाई उराल्दै कांग्रेस सरकारविरुद्ध खरो रूपमा उत्रिने तयारी गर्दै छ । मंगलबारको बैठकले यी विषयलाई संसद्मा उठाउने र बजेटका विषयमा छलफलमा उत्रिनेसहितका विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य एवं सांसद मीन विश्वकर्माले जानकारी दिए । यिनै विषयलाई आधार मान्दै सरकारका कमजोरी केलाउँदा संसद्मा घनीभूत छलफल चलाउने तयारी कांग्रेसको छ ।

मन्त्रालयका कामका विषय पनि संसद्मा छलफल गर्ने

मन्त्रालयले गरेका कामसहितका सामयिक विषयमा संसद्मा छलफल गर्न नदिए स्थगन प्रस्ताव दर्ताका लागि समिति बनाउने र हस्ताक्षर गर्ने तयारी पनि कांग्रेसको छ । अधिकांश सांसद सरकारको कार्यशैलीमाथि खरो रूपमा प्रस्तुत भएपछि सरकारले विभिन्न मन्त्रालयमार्फत गरेका कामको छानबिनका लागि समिति गठनमा सभापति शेरबहादुर देउवा सहमत भएका छन् । मंगबारको बैठकले यस्तो समिति गठन गर्ने तयारी छ ।

बैठकमा कसले के भने ?

शेरबहादुर देउवा
विभिन्न समस्याप्रति तपाईंहरूले उठाउनुभएका विषय ठीक छन् । कांग्रेससँग प्रतिपक्षीमा बसेको अनुभव धेरै कम छ । प्रतिपक्षमा बसेर भलाद्मीजस्तो देखिएको छ । प्रतिपक्षमा बसे पनि हामी दैनिक जनजीवनका विषय उजागर गर्न सक्छौँ । मंगलबारदेखि चल्ने संसद् बैठक कसैले पनि नछोडौँ । सबै बोलौँ, आवाज उठाऔँ । प्रतिपक्षीमा बसेर पनि भूमिका खेल्न सक्छौँ भन्ने देखाउनुपर्छ ।

विमलेन्द्र निधि
सरकारले कृत्रिम अभाव, कालोबजारी गर्‍यो, राहत दिन सकेन । मधेसका मुद्दा कुनै समाधान भएनन् । हुलाकी राजमार्ग, फास्ट ट्रयाकलाई चासो दिइएन । विगतका सरकारले अघि बढाएका योजना र कार्यक्रमलाई पूरै बेवास्ता गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा सरकार चुकेको छ । त्यसैले तत्काल सरकारको विकल्प खोजौँ ।

रामकृष्ण यादव
राजनीति यतिखेर अप्ठ्यारो छ । चुनौती सामना गर्न सरकार पूर्ण असफल भएको छ । नाकाबन्दी हट्दा पनि कालोबजारी नियन्त्रण गर्न, इन्धन आपूर्ति गर्न, संविधान कार्यान्वयन गर्न, भूकम्पपीडितलाई राहत दिन र पुनर्निर्माण गर्न सरकार असफल भएको छ । न्यायालयमा हस्तक्षेप उस्तै छ, राजनीतिक नियुक्तिमा मनलाग्दी छ, संसदीय सुनुवाइ अवरुद्ध, नियमावली बन्न सकेको छैन, यस्तोमा सरकारको कमजोरी देखिन्छ । ठूलो दलको रूपमा कांग्रेसलाई जनताले हेरिरहेका छन् । सरकारमा संघीयताविरोधी, दक्षिणपन्थी, राजतन्त्रवादीको बिगबिगी छ । यस्तोमा हामी चुप लागेर बस्न हुँदैन, विकल्पमा अघि बढ्नुपर्छ ।

बालकृष्ण खाण
यो सरकार स्वरूपले नै अपवित्र छ । सरकारको कार्यशैली र सञ्चालन उस्तै गैरजिम्मेवार छ । यो सरकार आइएनजिओ र एनजिओले चलाएका छन् । कूटनीतिक रूपमा सरकार असफल भएको छ । विदेशसँग सम्बन्ध राम्रो छैन । त्यसैले तुरुन्त यो सरकार फालौँ । र, पहिलो पार्टीका रूपमा हामी भएकाले हाम्रै नेतृत्वमा सरकार गठन गरौँ ।

एनपी सावद
यो सरकार हुँदासम्म मधेस मुद्दामा छलफल हुँदैन, समाधान त धेरै परको कुरा हो । त्यसैले यो सरकार फाल्नुको विकल्प छैन ।

महेन्द्र यादव
यो सरकारबाट केही कार्यान्वयन हुँदैन । सरकार नफेरीकन न मधेस मुद्दा सम्बोधन हुन्छ, न संविधान कार्यान्वयन हुन्छ । त्यसैले सरकार फेर्नुपर्छ ।

मीन विश्वकर्मा
हामीसँग संविधान निर्माणपछि केही कार्यभार छन् । संविधान कार्यान्वयन गर्नु छ, स्थानीय चुनाव, प्रदेशको संरचना चुनाव गर्नु छ । सरकारलाई यी कामका लागि रचनात्मक दबाब दिनुपर्छ । भोलि पनि सहमतिका आधारमा सरकार चलाउनुपर्छ, त्यसैले अहिले सरकारलाई नांगेझार बनाउने गरी ठाडो रूपमा हामी प्रस्तुत हुनुहुँदैन ।

रामहरि खतिवडा
न्यायपालिकामाथि हस्तक्षेप छ, चार वर्ष सांसद भएकालाई न्यायाधीशमा ल्याउन खोजिँदै छ । राजदूतमा नातागोतालाई हालिएको छ । जनआन्दोलन दबाउने नाइकेहरू राजदूत भएर जाँदै छन् । भूकम्पपीडितको राहत दुरुपयोग भएको छ । एमालेले कार्यकर्ता एनअिजोमार्फत पोसिरहेको छ । यस्तो निकम्मा सरकारको औचित्य छैन । फेर्नुपर्छ ।

उदयशमशेर राणा
सरकार भूकम्पपीडितप्रति संवदेनशील देखिएन । न राहत वितरण प्रभावकारी भएको छ, न पीडितको तथ्यांक संलकनमा विश्वास गरिएको छ । हाम्रै नेतृत्वको सरकार हुँदा पीडित र क्षतिको विवरण संकलन भयो, तर अहिले सबै ढिलाइ गर्नेगरी फेरि तथ्यांक संकलन भन्दै एमालेले आफूखुसी गर्दै छ ।

दीपक गिरी
यो सरकार आफैँमा हावादारी छ । सरकारले बजेट ल्यायो भने बजेट नै हावादारी हुन्छ । सरकारले सस्तो लोकप्रियताका लागि बजेट ल्याउँदै छ । यो सरकारले बजेट ल्यायो भने यस्तो विषयलाई हामीले हटाउन सक्दैनौँ र पूरा गर्न पनि सकिँदैन । त्यसैले बजेटअगाडि नै सरकारको विकल्प खोज्नुपर्छ । – आजको नयाँ पत्रिका दैनिकबाट

]]>