देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको विकल्प खोज्दै एमाओवादी

देशान्तर

काठमाडौं । सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल एकीकृत नेकपा माओवादीले सरकारका काम–कारबाहीप्रति असन्तुष्टि जनाउँदै त्यसको विकल्प खोज्न थालेको छ। एमाओवादी महासचिव कृष्णबहादुर महरा वर्तमान सरकार पूर्णरुपमा असफल भएको ठम्याइसहित विकल्प खोज्न सक्रिय रहेको स्रोतको दाबी छ। उनले सरकारमा सहभागी नभएका केही साना दलका नेतासँग सरकार परिवर्तनका विषयमा छलफलसमेत गरेको आजको नागरिक दैनिकमा समाचार छ ।

एमाले नेतृत्वमा सरकार गठन गर्न एमाओवादीले गरेको आठबुँदे सम्झौता कार्यान्वयन नभएको, सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको, भूकम्पपछिको पुनर्निर्माणमा अपेक्षाकृत काम गर्न नसकेको एमाओवादी निष्कर्ष छ।

ुहामीले शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न, कालोबजारी नियन्त्रण र भूकम्पपछिको पुनर्निर्माणलगायत विषयमा सामूहिक छलफल गर्न एक महिनाअगाडि एमालेलाई पत्र पठाएका थियौं,’ एमाओवादी सचिव वर्षमान पुनले भने, ‘आजका मितिसम्म एमालेले कुनै जवाफ दिएको छैन।’

संविधान कार्यान्वयन, मधेस मुद्दा सम्बोधन, भूकम्पपछिको पुनर्निर्माणलगायत मुख्य समस्या समाधानमा सरकार उदासीन देखिएको भन्दै एमाओवादीले सरकारको कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएको छ।

केही दिनअगाडि बसेको एमाओवादी स्थायी समिति बैठकले समेत आफैं सहभागी सरकार पूर्णरूपमा असफल भएको भन्दै राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनसँग छलफल चलाउने निर्णय गरेको थियो। सोही आधारमा एमालेलाई राष्ट्रियता, पुनर्निर्माण र मधेस समस्या समाधान गर्न लिखित प्रस्ताव नै बुझाइसकिएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।

ुस्थायी समितिको निर्णयअनुसार मुलुकका प्रमुख समस्या समाधान गर्न एमालेलाई लिखित आग्रह गरेका हौं,’ श्रेष्ठले नागरिकसँग भने।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि सोमबार विराटनगरमा सरकारको काम गर्ने शैलीप्रति तीव्र असन्तुष्टि जनाए। ‘तत्काल सरकार परिवर्तनभन्दा पनि सरकारको काम गर्ने शैली परिवर्तन गर्नुपर्छ,’ उनले भने। एमाओवादीको राम्रो साथ र सहयोग पाएको वर्तमान सरकारको काम गर्ने शैलीप्रति स्वयं एमाओवादी नै सन्तुष्ट छैन भन्ने दाहालको अभिव्यक्तिले प्रस्ट पारेको छ।

एमाओवादीले मुख्य रूपमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारले चासो नदिएको आरोप लगाएको छ। सत्तारुढ दलकै नेता तथा वकिलले द्वन्द्वकालका घटना ब्युँताएर मुद्दा हाल्नेदेखि एमाओवादी नेता–कार्यकर्तालाई फसाउने प्रयास गरेको भन्दै एमाओवादी आक्रोशित भएको छ। ‘हाम्रो सहयोगमा सरकार सञ्चालन गर्ने अनि हामीविरुद्ध नै मुद्दा हाल्दा र बहस गर्दा विश्वासको संकट उत्पन्न हुन्छ ?’ पुनले भने।

सरकार गठनताका एमालेसँग भएको सहमति र सम्झौताअनुसार सरकारले काम गर्न नसकेको उनले बताए। ‘प्रधानमन्त्रीका कुरा सुन्दा के–के न भयो जस्तो देखिन्छ,’ पुनले भने, ‘यथार्थमा सरकारले सिन्कोसम्म पनि भाँच्न सकेन।’ मधेस समस्या समाधान गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाए पनि सरकारले मधेसी दललाई विश्वासमा लिन नसकेको र वार्तालाई प्राथमिकता नदिएको उनले बताए। ‘अब प्रधानमन्त्री करेक्सन नहुने हो भने हामी धेरै दिन काँध थापेर बस्दैनौं,’ उनले भने।

]]>