देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारविरुद्ध कांग्रेस आक्रामक

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसको जारी संसदीय दलको दोस्रो दिनको बैठकमा पनि अधिकांश सांसदले ओली सरकार फेर्नुपर्ने बताएका छन् । मंगलबारको बैठकमा बोल्ने २६ सांसदमध्ये अधिकांशले सरकार असफल भएको आरोप लगाए ।
संविधान कार्यान्वयन, भूकम्पपछिको राहत र पुनर्निर्माण तथा कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको कांग्रेस सांसदको आरोप छ । त्यस्तै विभिन्न नियुक्तिमा पनि मनलाग्दी गरेको भन्दै उनीहरूले सरकारको तीव्र आलोचना गरे ।

सोमबारदेखि चलेको बैठकमा ४४ सांसदले आफ्नो भनाइ राखिसकेका छन् । अधिकांशले सरकारको कार्यशैलीको आलोचना गर्नमा नै समय खर्चेका थिए । त्यसबाहेक उनीहरूले संविधान कार्यान्वयन, भूकम्पपीडितका लागि अनुदानको व्यवस्थालगायतमा जिम्मेवार भएर प्रस्तुत हुन सरकारको ध्यानाकर्षण गराएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘संविधान जारी भएको लामो समय बितिसकेको र संविधान कार्यान्वयन गर्ने समय कम हुँदै गएको अवस्थाप्रति वर्तमान ओली सरकार गम्भीर देखिएको छैन,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस संसदीय दल वार्तामार्फत समस्याको सम्बोधन गरी संविधान कार्यान्वयनको प्रक्रियालाई तत्काल अगाडि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । साथै, नेपाली कांग्रेसको नेतृत्वलाई वार्ता प्रक्रियाको अगुवाइ गर्न पनि यो बैठक अनुरोध गर्दछ ।’

वर्तमान सरकार जनताका समस्या र आवश्यकताप्रति उदासीन रहेको, राज्य संरचनामा राजनीतीकरण गर्न उद्धत रहेको र भ्रष्टाचार, कालोबजारी तथा कृत्रिम अभावलाई संस्थागत गर्न सहयोगी भइरहेको कांग्रेसको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पपीडित जनताको सुरक्षित र दिगो बासको व्यवस्थापन राजनीतिक पूर्वाग्रहविना तत्काल आगाडि बढाउन संसदीय दलको बैठक माग गर्दछ ।’

सीमामा अवरोध नहुँदा पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज नभई कालोबजारी भएको भन्दै तत्काल रोक्न कांग्रेसले माग गरेको छ । देशका विभिन्न स्थानमा लागेको आगलागी, डढेलोपीडितलाई क्षतिपूर्ति दिन, बाढी र पहिरोपीडितलाई पुनस्र्थापना गर्न, न्यायपालिकासहितका अन्य संरचनामा राजनीतिक नियुक्ति रोक्न, विपक्षीसहित असन्तुष्ट दललाई विश्वासमा लिन, हुम्लामा देखिएको महामारी रोक्न र तत्काल उपचारको व्यवस्था गर्न पनि सरकारसँग कांग्रेसले माग गरेको छ ।

बजेटलाई सस्तो र प्रचारमुखी नभई दिगो विकास र निर्माणलाई ध्यान दिन र उखु किसानलाई चिनी मिलबाट भुक्तानी दिन पनि कांग्रेसले माग गरेको छ । विकास निर्माणका योजनालाई सरकारले बेवास्ता गरेको र मित्रराष्ट्रसँग सम्बन्ध बिगारेको आरोप कांग्रेसको छ ।

]]>