देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टीको विधान लत्याउँदै देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधि र विधान अटेर गर्न थालेका छन्। १३औं महाधिवेशनबाट पार्टी कमान्ड सम्हालेका देउवाले दुई महिना बित्दासमेत विधानले तोकेको कुनै काम अघि बढाएका छैनन्।पार्टी विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारीका साथै सबै विभाग र समितिलाई पूर्णता दिइसक्नुपर्ने उल्लेख छ। फागुन २४ गते सभापति निर्वाचित भएका देउवाले सबै निकायलाई पूर्णता होइन, त्यसको प्रक्रियासमेत सुरु गरेका छैनन्। केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधानअनुसार पदाधिकारीका साथै सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने भए पनि सभापतिको ध्यान त्यता नपुगेको बताए।

‘नेतृत्वमा नपुग्दासम्म विधान पालना भएन भन्ने तर आफैँ पुगेपछि अटेर गर्दै अघि बढ्ने प्रवृत्ति राम्रो होइन,’ घिमिरेले भने, ‘कोठे बैठकमा कसैले कुरा गरेको बाहेक पदाधिकारी मनोनयनको काम अघि बढ्न सकेको छैन।’ सभापतिको औपचारिक जिम्मेवारी सम्हालेकै दिन रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनको गृहकार्य सुरु गरेका छैनन्। त्यस्तै, बाँकी १४ जना केन्द्रीय सदस्य मनोनयन, संसदीय समिति, केन्द्रीय कार्यसम्पादन, विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहित समिति गठनको गृहकार्यसमेत सुरु भएको छैन। विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ।

केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टी विधानको पूर्ण पालनामा सबैको ध्यान पुग्नुपर्ने बताए। ‘विधानको पालना गर्दा नै पार्टी संगठन र सभापतिका लागि पनि राम्रो हुन्छ,’ भण्डारीले भने, ‘सभापतिले पदाधिकारी मनोनयदेखिका काम अघि बढाइरहनुभएको छैन।’ केन्द्रीय सदस्य प्रकाशशरण महतले पदाधिकारीसहित सबै निकायले छिट्टै पूर्णता पाउने बताए। ‘सभापतिजी विधानअनुसार नै पदाधिकारीदेखि सबै निकायलाई छिटो पूर्णता दिनुपर्छ भन्नेमा हुनुहुन्छ,’ महतले भने, ‘तर अहिले कसलाई के गर्ने भन्ने छलफल नै सुरु भएको छैन।’ केन्द्रीय सदस्य भण्डारीले पार्टी नेता खुमबहादुर खड्कालाई महाधिवेशनअघि नै उपसभापति दिने समझदारी भइसकेको दाबी गरे। ‘सम्भावना र अनुमानको कुरा होइन, हिजो भएको सहमति कार्यान्वयन गर्ने हो,’ उनले भने, ‘खुमबहादुर खड्कालाई उपसभापति बनाउने समझदारी भएको छ, अब त्यसलाई कार्यान्वयन गर्ने कुरा मात्र हो।’ देउवापक्षीय नेताहरूले भने खड्कालाई उपसभापति दिने महाधिवेशनअघि कुनै समझदारी नभएको दाबी गर्दै आएका छन्।

भ्रष्टाचार अभियोग प्रमाणित भएर सजाय भोगिसकेको व्यक्तिलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी नदिन सभापतिलाई दबाब परेको निकट स्रोतको दाबी छ। सभापति देउवा उपसभापतिको जिम्मेवारी नेता विमलेन्द्र निधिलाई दिने पक्षमा रहेको स्रोतको दाबी छ। ‘कुलबहादुर गुरुङ, गोपालमान श्रेष्ठको पनि उपसभापतिमा चाहना नभएको होइन,’ निकट एक नेताले भने, ‘खुमबहादुर खड्कालाई सभापति प्रस्तावक राख्दा नै विरोध खेप्नु परेकाले मधेसी समुदायको पनि प्रतिनिधित्व हुनेगरी निधि नै सभापतिको रोजाइमा पर्नुहुन्छ होला।’ त्यस्तै, एक महामन्त्री पदका लागि देउवा पक्षकै आधादर्जन नेताले आकांक्षा देखाउँदै आएका छन्। पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउदसहित नेताको दाबी छ। आन्तरिक समीकरण मिलाउनुका साथै पूर्व सहमहामन्त्रीसमेत रहेकाले महामन्त्री पूर्णबहादुर खड्काको सम्भावना बढी रहेको स्रोतको दाबी छ।

तर, संविधान जारीपछि भएको प्रधानमन्त्री निर्वाचनलाई लिएर खड्काले सहमहामन्त्रीबाट राजीनामापछि देउवासँग सम्बन्ध चिसिएको एक नेताले दाबी गरे। महामन्त्रीका अन्य दाबेदारभन्दा कार्की सिनियर पनि भएको र अर्को पक्षलाई पनि स्वीकार गर्न सहज हुने भएकाले देउवाले कार्कीलाई अघि सार्नसक्ने एक नेताले बताए। ‘उपसभापतिका दुई दाबेदरमध्ये एकले महामन्त्रीमा चित्त बुझाउने अवस्थामा अर्को कुरा हो,’ निकट एक नेताले भने, ‘महाधिवेशनमा कार्कीले निर्वाह गरेको भूमिकाप्रति सभापति निकै सन्तुष्ट देखिनुहुन्छ, महामन्त्रीजस्तो जिम्मेवार पद आवेगमा आउने व्यक्तिलाई दिँदा पछि धोका हुन्छ कि भन्नेमा सचेत देखिनुभएको छ।’ त्यस्तै, सभापति इतरका नेता शेखर कोइरालाको नाम पनि उपसभापति रमहामन्त्रीमा चर्चामा छ।

रामचन्द्र पौडेलनिकट मानिएका आनन्दप्रसाद ढुंगाना, महेश आचार्य, दिलेन्द्रप्रसाद बडु पदाधिकारीका दाबेदार हुन्। सभापति देउवा पौडेलपक्षको समर्थनमा आचार्यलाई सहमहामन्त्रीका लागि प्रस्ताव गर्ने पक्षमा रहेको एक नेताले बताए। ‘सहज व्यक्तिलाई मनोनीत गर्न पाए हुन्थ्यो भन्ने सभापतिको चाहना हुनु स्वाभाविक हो,’ पौडेलनिकट एक नेताले भने, ‘मध्यस्थ होइन, हामीलाई मुकाबिला गर्ने व्यक्ति चाहिएको छ।’ नागरिक दैनिकमा समाचार छ । 

]]>