देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नौ नेपालीद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

देशान्तर

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण नेपालीले सफल पारेका छन् । नेपाली नौ जना शेर्पा आरोहीले सगरमाथा (८,८४८ मि) को सफल आरोहण गरेका हुन् । पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले दिएको जानकारी अनुसार नौ शेर्पा आरोहीले बुधबार साँझ ५ बजेर ५ मिनेट जाँदा दक्षिण पश्चिम मोहडाबाट सगरमाथाको आरोहण गरेका हुन् ।  

विभिन्न नौ कम्पनीका एक÷एक जना गरी नौ जनाको समूह बनाएर उनीहरु गएका थिए । उनीहरु सगरमाथाको चुचुरोमा डोरी टाग्न जाने शेर्पा टोली (रोप फिक्सिङ टिम) हुन् । सगरमाथा चुचुरोमा आरोहण गर्दा पहिला शेर्पाले डोरी टाग्छन् । सगरमाथा आरोहण गर्नेमा ग्याल्जेन शेपा (टिम लिडर), ग्याल्जेन दोर्जे शेर्पा, आङ्पेम्वा शेर्पा, मिङमाछिरिङ शेर्पा, शेरा ग्याल्जेन शेर्पा, पासाङ तेन्जिङ, मिङ्मा शेर्पा, मिङमा छिरिङ शेर्पा र लाक्पा छिरिङ शेर्पा रहेका छन् । प्राकृतिक विपत्तिका कारण आरोहण रोकिएको दुई वर्षपछि यो पुनः सगरमाथाको आरोहण सुरु भएको हो ।

सगरमाथा आधार शिविर नजिक गएको हिमपहिरो र गतवर्षको भूकम्पका कारण यसअघि सन् २०१४ र २०१५ मा सगरमाथा आरोहण बन्द भएको थियो । सन् २०१६ को यो मौसमको सफल आरोहणसँगै सगरमाथा आरोहण पुनः सुरु भएको छ । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले लामो समयपछिको सगरमा को सफल आरोहणले संसारलाई सकारात्मक सन्देश दिएको बताउनुभयो । नेपाल मात्र नभई विश्वकै लागि यो ठूलो सफलता भएको बताउँदै उहाँले प्राकृतिक र मानव सिर्जित विपत्तिपछि गति लिएको समग्र पर्यटन प्रवद्र्धनमा सगरमाथासहित हिमाल आरोहणले उत्साह थपेको उल्लेख गरे । अध्यक्ष शेर्पाका अनुसार अहिले धेरै विदेशी आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प चारमा छन् उनीहरुले आज राति ११ बजेबाट माथितिर चड्न सुरु गरी बिहीबार बिहान ७ बजेसम्म चुचुरो पुग्नेछन् ।

आधार शिविरमाथि २८९ विदेशीसहित ७०० आरोही गएका छन् । पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टिम गएका छन् । त्यस्तै अन्नपूर्णमा तीन, मनास्लुमा ११, मकालुमा पाँच वटा टिम आरोहणका लागि गएका छन् ।

]]>