देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सशस्त्रमा बढुवाविरुद्ध उजुरी दिनेकै इतिहास यस्तो

देशान्तर

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त दुई एआईजी पदको पूर्तिका लागि बढुवा समितिले गरेको निर्णयविरुद्ध गत बिहीबार दुईजना डीआईजीले पुनरावलोकन समितिमा उजुरी दिएका छन् । उजुरी दिनेमा उत्तम खड्का र पुष्पराम केसी छन् । उनीहरूले बढुवा समितिले गरेको निर्णयमाथि चित्त नबुझेको भन्दै पुनरावलोकन समितिमा उजुरी दर्ता गरेका हुन् । तर उनीहरूले दिएको उजुरी यतिबेला सशस्त्र प्रहरी बलभित्र हाँसोको विषय बनिरहेको छ ।

गृहसचिव नारायणगोपाल मलेगोको अध्यक्षतामा गठित बढुवा समितिले वैशाख २४ गते वरिष्ठता, कार्यक्षमता र कार्यदक्षताका आधारमा शैलेन्द्र खनाल र जितबहादुर पुनको नाम एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । बढुवा समितिको निर्णय उपर चित्त नबुझे सात दिनभित्र पुनरावलोकन समितिमा लिखित उजुरी दिने प्रावधान छ । त्यही प्रावधानमा टेकेर केसी र खड्काले उजुरी दिए पनि उनीहरूको विगतलाई हेरेर यतिबेला संगठनभित्र  हाँसोको विषय बनेको हो ।

उजुरी दिनेमध्ये केसी वरीयताक्रममा पाँचौ नम्बरका डीआईजी हुन् । पाँचौं नम्बरमा रहेका डीआईजीले रिक्त दुई एआईजी पदमा आस गर्नु आफैंमा हास्यास्पद विषय हो । त्यसमाथि अख्तियारले दायर गरेको करोडौं रुपैयाँ भ्रष्टाचारको मुद्दा खेपिरहेका निलम्बित पूर्वआईजीपी कोषराज वन्तको प्रियपात्र केसीको सम्पत्तिसमेत अख्तियारले छानबिन गरिरहेको छ । कुनैबेला वन्तको सचिवालय प्रमुख हुँदा भूकम्पपीडितका लागि भारत सरकारले दिएको राहत बिना रेकर्ड जथाभावी वितरण गरेको आरोप पनि उनीमाथि लागेको छ । त्यतिमात्रै होइन पूर्वाञ्चल डीआईजी हुँदा उनको उठवस सुपारी तस्करहरूसँग बाक्लिएको थियो । उनकै मिलेमतोमा भारततर्फ निकासी हुन लागेको २७ ट्रक सुपारी अख्तियारले पक्राउ गरेको थियो । त्यसमाथि वन्तकै पदचाप पछ्याउँदै विभिन्न राजनीतिक दलका नेताहरूको चाकडी गर्ने र संगठन प्रमुखविरुद्ध बोल्दै हिँड्ने अनुशासनहीन अफिसरको रूपमा समेत उनी दरिएका छन् । त्यसैले यस्ता व्यक्तिले अन्याय भयो भनेर उजुरी हाल्नु आफैंमा हास्यास्पद विषय भएको भन्दै संगठनभित्र उल्टै उनको आलोचना भइरहेको स्रोतले बतायो ।

यसैगरी अर्का उजुरीकर्ता खड्का वरीयताक्रममा २ नम्बरमा भए पनि कार्यदक्षता र क्षमतामा सधैं पछाडि परेका अफिसर हुन् । संगठनभित्र असाध्यै अलोकप्रिय अफिसरको रूपमा परिचित उनलाई कार्यदक्षता मूल्यांकनमा सबैजसो पूर्वआईजीपीहरूले सधैं न्यून अंक दिएको स्रोत बताउँछ । स्रोतका अनुसार उनी तत्कालीन आईजीपी वन्त सुर्खेत जाँदा अनुशासनहीन गतिविधि गरेकाले झन्डै कारबाहीमा समेत परेका थिए । नेपाली सेनाको मेजरबाट सशस्त्रमा प्रवेश गरेका खड्का त्यहाँ पनि कार्यदक्षतामा कमजोर रहेपछि जबर्जस्ती प्रहरीतर्फ पन्छाएको उनका सहकर्मीहरू बताउँछन् । त्यतिमात्रै होइन सशस्त्रको भालुवाङ तालिम केन्द्रमा एसपी हुँदा माओवादीले आक्रमण गर्ने डरले भागेकाले कारबाहीमा समेत उनी परेका थिए । तत्कालीन कार्यालय प्रमुख सनत बस्नेतले कर्तव्यच्युत अफिसरको रूपमा उनलाई कारबाही गरेका थिए । २०५९ कात्तिक १५ गते उनलाई नसिहतसहितको कारबाही गरिएको रेकर्ड रहेको बुझिएको छ । तर, आफ्नो यस्तो इतिहास रहेको थाहा हुँदाहँुदै अन्यायमा परे भनेर बढुवा सिफारिसविरुद्ध उजुरी दिएपछि संगठनभित्र उनको थप आलोचना भइरहेको स्रोतले बतायो ।

 

]]>