देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चौतारीमा ओलीका दुई, माधवको एक

देशान्तर

काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाललाई महाधिवेशनको रन्कोले छोएको छ । जेठ ६ देखि ८ गतेसम्म हुने चौतारीको महाधिवेशनमा उम्मेदवारको लर्को लाग्ने भएको छ । एमाले पार्टीमा देखिएको गुटबन्दीले चौतारीमा समेत छोएका कारण नेतृत्व हत्याउनका लागि चौतारीका नेताहरू पनि पार्टी भित्रका आआफ्नो गुटका नेताहरुको फेरो समात्न लागिपरेका छन् । त्यसैले ६ सय ५० मतदाता रहने चौतारीको आठौं महाधिवेशनका पार्टीमा देखिएको गुटका आधारमा महाधिवेशनमा प्रतिस्पर्धा हुने निश्चित जस्तै छ ।

एमालेका जनवर्गीय संगठनहरूमा ओली समूहको पकड राम्रो देखिए पनि चौतारीमा भने ओली पक्षको भन्दा नेपाल पक्षको बलियो पकड रहेको बताइन्छ । चौतारीको आठौं महाधिवेशनका अध्यक्षमा वर्तमान महासचिव माधव नेपाल, वर्तमान मध्यमाञ्चल उपाध्यक्ष उपेन्द्र केसी र सल्लाहकार गणेश बस्नेतले अध्यक्षमा उम्मेदवार बन्ने चर्चा चलेको छ । उनीहरूले अध्यक्ष पदको उम्मेदवार बन्ने प्रचारप्रसारसमेत गरिसकेका छन् । सुरुमा चारजना अध्यक्षका प्रत्याशी देखिए पनि वर्तमान वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले महासचिव नेपाललाई समर्थन गर्दै छोडेका छन् । नेपाल र शर्मा पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहका हुन् ।

त्यसैगरी अध्यक्षको प्रतिस्पर्धामा रहेका केसी र बस्नेत भने प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षका हुन् । पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराई तथा उपप्रमुख सूर्य थापाले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए पनि पार्टीमा गुटबन्दी चरम बनेका कारण सर्वसम्मतिको सम्भावना न्यून रहेकोले निर्वाचन हुने पक्कापक्की जस्तै छ । प्रचार विभाग प्रमुख आफैं नेपाल समूहका नेता हुन् भने उपप्रमुख थापा ओली समूहका भएका कारण पनि सर्वसम्मत नेतृत्वको चयनको सम्भावना न्यून बनेको बताइएको छ । चौतारीका वर्तमान अध्यक्ष राजेन्द्र अर्याल र पूर्वमहासचिव विष्णु रिजाल प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाल पनि सर्वसम्मत भएमा नेतृत्व लिने दाउमा छन् ।

अहिले महासचिव रहेका माधव नेपाल पनि अध्यक्षका अर्का बलिया दाबेदार हुन् । महासचिव संगठन विभागको प्रमुख भएकाले नेपाल अध्यक्षको सबैभन्दा बलियो उम्मेदवारका रूपमा देखा परेका छन् । चौतारी सिन्धुपाल्चोकको अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सचिवहुँदै महासचिब भएका नेपाल पार्टीमा माधव नेपाल समूहकै हुन् । न्युज २४ टेलिभिजनमा यसअघि काम गरेका नेपाल जनप्रशासन पाक्षिकमा आबद्ध छन् । महासचिव भएका कारण सबै कमिटीमा प्रत्यक्ष सम्पर्क भएको आधारमा उनलाई पनि बलियो उम्मेदवार मानिन्छ ।

तर प्रेस चौतारीका पूर्ववरिष्ठ उपाध्यक्ष तथा वर्तमान सल्लाहकार गणेश बस्नेत पनि अध्यक्षका दाबेदारका रूपमा देखिएका छन् । चौतारीको केन्द्रीय सदस्यदेखि सचिव, महासचिव र वरिष्ठ उपाध्यक्ष भएका बस्नेत बुटवलमा भएको छैंटौ अधिवेशनमा अध्यक्षको उम्मेदवार भएका थिए । मतदान सुरु भइसकेपछि उनले प्रमोद दाहाललाई समर्थन गरे पनि गगन विष्ट चौतारीको अध्यक्ष निर्वाचित भएका थिए । उनी हरेक पटक अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तर हरेक पटक छाड्दै आएकाले बस्नेत अहिले पनि उम्मेदवार हुन्छन् भन्नेमा आम चौतारीमा मतदातालाई विश्वास छैन ।

अर्कोतर्फ लामो समय नेतृत्वबाट ग्याप भएका कारण पनि बस्नेतभन्दा ओली समूहमा उपेन्द्र केसी बलिया देखिएको बताइन्छ । विगतमा राजेन्द्र अर्याल मध्यमाञ्चल उपाध्यक्षबाटै अध्यक्ष भएका कारण यस पटक आफू पनि उम्मेदवार हुनुपर्ने केसीको दाबी छ । केसी पार्टीमा ईश्वर पोखरेल निकट हुन् । ईश्वर पोखरेल पनि केपी ओली समूहमा रहेका कारण उक्त समूहबाट आफू नै उम्मेदवार बन्ने उनको अपेक्षा छ । तर मतदान भएमा माधव नेपालको पक्षमा जनमत हुने देखिएपछि राजेन्द्र अर्याललाई सर्वसम्मत बनाउन ओली समूहकै प्रदीप ज्ञवाली, सूर्य थापासहितका नेताहरू लागेको बताइएको छ । तर प्रचार विभाग प्रमुख योगेश भट्टराई भने कुनै पनि हालतमा निर्वाचन गराउने पक्षमा देखिएका छन् ।

यसैगरी चौतारीमा माधव नेपाल पक्षबाट एकमात्र उम्मेदवार हुने सम्भावना देखिएको छ । नेपाल समूहबाट आकांक्षी देखिएका राजेश राई, रामकुमार एलन, नरेन्द्र साउद देखिएका थिए । तर सबैले राजेश राईलाई महासचिवमा समर्थन गरेको बताइन्छ । तर ओली समूहमा भने महासचिवका उम्मेदवार पनि एउटै बन्न सकेका छैनन् । महसचिवमा वर्तमान सचिव गणेश पाण्डे र वर्तमान कोषाध्यक्ष विश्वमणि सुवेदी दाबेदार देखिएका छन् । पाण्डेको पक्षमा ईश्वर पोखरेल देखिएका छन् भने सुवेदीको पक्षमा वामदेव गौतम देखिएका छन् ।

 

]]>