देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाधिवेशन सकिएको तीन महिना, कांग्रेस जिल्ला अधिवेशन अनिश्चित

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय अधिवेशनअघि नै सम्पन्न गरिसक्नुपर्ने केही जिल्लाको अधिवेशन अझै अनिश्चित बनेको छ । केन्द्रीय निर्वाचन समितिले मंगलवार विज्ञप्ति जारी गरी निर्वाचन हुन बाँकी रहेका सिरहा, धनुषा, महोत्तरी, सिन्धुपाल्चोक, पर्सालगायत जिल्लाको निर्वाचन प्राविधिक कारणवस अर्को निर्वाचन कार्यक्रम प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जनाएको छ ।  

केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले प्राविधिक कारणवस निर्वाचन रोकिए पनि यही जेठ मसान्तसम्म निर्वाचन गर्ने कोसिसमा रहेको बताए । केन्द्रीय महाधिवेशन सकिएको तीन महिना हुँदासमेत विविध कारणले रोकिएको ती जिल्लाको अधिवेशनको मिति अझै तय हुन नसेकेको हो । जिल्लाको आन्तरिक विवाद, अधिवेशन गर्ने स्थान, भौगोलिक कठिनाइ, ढिला गरेर सुरु भएको गाउँ, नगर र क्षेत्रीय अधिवेशनलगाय कारण देखाउँदै केन्द्रीय अधिवेशनअघि ती जिल्लाको अधिवेशन हुन सकेको थिएन ।  

काँग्रेस विधानअनुसार सबै तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिले पार्टीको निकाय तथा शुभेच्छुक संस्थाहरूबाट आवश्यक सहयोग पाउनुपर्ने उल्लेख भएपनि कतिपय जिल्लामा तोकिने जिल्ला निर्वाचन अधिृकत र जिल्ला नेतृत्वबीच कुरा नमिल्दा अधिवेशन सम्पन्न हुन नसकेको हो । क्षेत्रीय अधिवेशन भने २४० निर्वाचन क्षेत्रमध्ये २३९ मा सम्पन्न भइसकेको छ । निर्वाचन समितिका अनुसार धनुषा क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशन भने हुन बाँकी छ । अधिवेशन नहुँदा ती जिल्लामा पार्टी गतिविधि र सङ्गठनलगायतका कामसमेत प्रभावित हुँदै आएका छन् । 

]]>