देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केन्द्रीय समितिलाई पूर्णता दिन नेतृत्वमाथि दबाब

देशान्तर

काठमाडौं । पार्टी विधिविधान अनुसार चल्नुपर्ने बलियो मान्यता राख्नुहुने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई आफू सभापति भएपछि भने विधान पालना गर्न अप्ठेरो परिरहेको छ । पार्टी विधानअनुसार नयाँ कार्यसमिति चयन भएको दुई महिनाभित्रै केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने थियो । त्यसैले तत्काल केन्द्रीय समितिलाई पूर्णता दिन सभापति देउवामाथि दबाब परिरहेको छ । सभापति देउवा २४ फागुनमा सभापतिमा निर्वाचित भएपछि कांग्रेसको पहिलो बैठक ४ चैतमा बसेको थियो । पहिलो बैठक बसेको समयबाट समयको गणना भए पनि दुई महिना पुगिसकेको छ । तर, सम्पन्न गर्नुपर्ने कुनै पनि काम पूरा भएका छैनन् । अहिलेसम्म पनि पहिलो औपचारिक केन्द्रीय समितिको बैठक नबसेको तथा केन्द्रीय समितिलाई पूर्णता दिन नसकेपछि उहाँ दबाबमा पर्नुभएको हो । 

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइराला विदेशमा रहेकाले केन्द्रीय समितिलाई पूर्णता दिन समस्या परेको देउवाको भनाइ रहँदै आएको थियो । तर महामन्त्री फर्केको लामो समय भइसकेको छ भने वरिष्ठ नेता पौडेल पनि बिहीबार अमेरिकाबाट स्वदेश फर्किसक्नुभएको छ । यसैबीच पौडेल पक्षले केन्द्रीय समितिलाई पूर्णता दिनको लागि सभापतिलाई दबाब दिन सोमवारसम्म आन्तरिक छलफल गर्ने तयारी गरेको बुझिएको छ । 

आफ्ना सहयोगीहरूको दबाबले गर्दा सभापति देउवाले केन्द्रीय समितिलाई पूर्णता दिन समस्यामा परेको बताइन्छ । निर्वाचनका बेला विभिन्न नेताहरूलाई दिइएको आश्वासन पूरा गर्न पनि उहाँलाई कठिनाइ भइरहेको छ । चुनाव जित्ने प्रयोजनका लागि जसलाई जे आश्वासन दिए पनि ती सबै वचन पूरा गर्न अहिले सम्भव छैन । एउटै पदमा धेरै आकांक्षी छन् र धेरै जनाले आश्वासन पनि पाएका हुन् । तत्काल कुनै निर्णय गरिहाल्दा पद नपाउने आफ्नै सहयोगी भड्किएर आफूलाई असहयोग गर्ने वा अर्को पक्षसँग मिल्न जाने खतरा देखेर देउवा केही समय संयम अपनाउने पक्षमा देखिनुभएको उहाँ निकट स्रोतले बतायो । 

देउवाले आफूले पदभार ग्रहण गर्दाको दिन रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, चित्रलेखा यादव र उमाकान्त चौधरी र हृदयाघात भई उपचाररत नेता नरहरि आचार्यसहित सातजनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको थियो । केन्द्रीय समितिले पूर्णता पाउनका लागि अझै १४ केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ । सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गर्ने एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र प्रवक्ताको प्रस्ताव पनि देउवाले केन्द्रीय समितिमा गर्न सकेका छैनन् ।

विधानमा केन्द्रीय समितिमा निर्वाचितलाई मात्रै पदाधिकारीमा सभापतिले प्रस्ताव गर्नुपर्ने उल्लेख रहेकाले यसले भने संख्यामा कुनै असर पार्दैन । पार्टी विधानमा उल्लेख रहेका ४४ विभागका संयोजक तोक्ने र तिनलाई पूर्णता दिने कार्यको पनि प्रक्रिया सुरु भएको छैन । ४४ मध्ये ४२ विभागको संयोजक सभापतिले तोक्ने विधानले व्यवस्था गरेको छ । दुई विभागको संयोजक पदेन हुने विधानमा व्यवस्था छ ।  देउवाले केन्द्रीय समितिबाहेक संसदीय समिति, कार्यसम्पादन समिति, ज्येष्ठ राजनीतिज्ञसभा पनि गठन गर्नुपर्नेछ । 

तर अहिले वामपन्थीहरू जगजगी भएकाले नेताहरू विवादको विषय उठाउने भन्दा एकताबद्ध भएर संगठन बलियो पार्न केन्द्रित भएको एकजना कांग्रेस नेताले बताए । पौडेल पक्षले पनि देउवालाई पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिने र संगठन चुस्त बनाउने बिषयमा झकझकाउनेभन्दा अन्य विषयमा पनि विवाद नगर्ने मनस्थिति बनाएको ती नेताले जानकारी दिए । 

 

]]>