देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसंघमा फेरि महाधिवेशनको चर्चा,असोजमा गर्ने कर्णको तयारी

देशान्तर

काठमाडौं । देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा झन्डै आठ वर्षदेखि हुन नसकेको महाधिवेशनको चहलपहल फेरि सुरु भएको छ । तर पार्टीले निर्देशक समितिले बनाउने भने पनि त्यसलाई पूर्णता दिन नसक्दा भने अधिवेशनको काम औपचारिक रूपमा भने अगाडि बढ्न सकेको छैन ।  पार्टी सभापति शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनका लागि नेता डा.प्रकाशशरण महतलाई निर्देशक समितिको संयोजकको जिम्मेवारी दिए पनि सो समितिलाई पूर्णता दिन सकेका छैनन् । समितिलाई पूर्णता दिनका लागि केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने भएकाले समिति पूर्ण हुन नसकेको बताइएको छ ।

यता नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले भने असोजको पहिलो साताका लागि महाधिवेशनका हुने गरी मिति तय गर्ने तयारी गरेका छन् । उनले असोजको पहिलो साता महाधिवेशनको मिति तय गर्ने तयारी भइरहेको बताए । त्यसका लागि संघीय संरचनाअनुसारको विधान संशोधनको तयारी पनि सुरु भएको अध्यक्ष कर्णको भनाइ छ । नेपाल विद्यार्थी संघको पछिल्लो महाधिवेशन २०६४ सालमा भएको थियो । त्यसयता चार महाधिवेशन सम्पन्न भइसकेको हुनुपर्नेमा आन्तरिक विवादले गर्दा एउटा पनि हुन सकेको छैन । नेपाली कांग्रेसको सभापति निर्वाचित भएलगत्तै शेरबहादुर देउवाले ६ महिनाभित्र भ्रातृ संस्थाहरूको महाधिवेशन गर्ने निर्णय गराए । दुई हप्ताअघि नेपाल विद्यार्थी संघका अध्यक्ष कर्णलाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर देउवाले छिटो बैठक राख्न र महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिएका थिए । महाधिवेशनको तयारीका लागि यही साता केन्द्रीय समितिको बैठक बसेर महाधिवेशनको तयारीबारे आवश्यक निर्णय लिने अध्यक्ष कर्णले जानकारी दिए ।

दुई कांग्रेस एक भएपछि पौडेललाई अध्यक्ष मानियो र गुरुङलाई सह–अध्यक्षको जिम्मेवारी दिइयो । पछि पौडेल नेतृत्वको नेविसंघलाई पार्टीले विघटन गरिदियो र २०६८ सालमा रञ्जित कर्णलाई अध्यक्षको जिम्मेवारी तोकियो । विभाजनको तुस बाँकी नै रहेकाले हरेक दुई/दुई वर्षमा हुनुपर्ने नेविसंघको महाधिवेशन आन्तरिक विवादका कारण २०६४ सालयता हुन सकेको छैन । नेविसंघको मात्रै होइन तरुण दल, नेपाल महिला संघलगायतका कांग्रेसका कुनै पनि भ्रातृ संस्थाहरूको महाधिवेशन पनि पार्टी एकतापछि भएका छैनन् । नेपाल विद्यार्थी संघको महाधिवेशनको यसअघि भएको सम्पूर्ण तयारी सार्क सम्मेलनको कारण देखाउँदै स्थागित गरिएको थियो । त्यो बेला नै जम्मा ६१ जिल्लाको अधिवेशन भएर प्रतिनिधि कांग्रेस नेताहरू समेत बसेर टुंगो लगाइसकेका थिए । बाँकी ११ जिल्लामा पनि त्योभन्दा पछि जिल्ला अधिवेशन सम्पन्न भएर प्रतिनिधिसमेत टुंगो लागेको थियो ।

तर ११ जिल्लाको अधिवेशनमा नेपाली विद्यार्थी संघमा पार्टी सभापति देउवा निकट रहेका ऋषिकेश शाहले आपत्ति जनाएका कारण केही विवाद रहेको छ । अधिकांश विद्यार्थीहरू अहिले भइसकेको स्थानीय अधिवेशनलाई आधार मानेर अधिवेशन गराउनुपर्ने बताउन थालेका छन् । उनीहरूको भनाइ फेरि प्रतिनिधिको लफडा झिक्न थालेमा फेरि अधिवेशन गराउन समस्या हुने भन्ने छ । 

सभापति देउवा निकट विद्यार्थीहरू ११ जिल्ला र काठमाडौं उपत्यकामा कीर्तिपुर, आरआर, महेन्द्ररत्न ताहाचललगायतका क्याम्पसमा पनि विवाद बाँकी रहेका बताउन थालेका छन् । प्रतिनिधि र जिल्ला तथा क्याम्पस अधिवेशनको विवाद झिकेमा फेरि पनि नेपाल विद्यार्थी संघको अधिवेशन सम्भव नहुने बुझाइ धेरै विद्यार्थीको रहेको छ । नेविसंघ अध्यक्षका आकांक्षी धेरै भएकाले महाधिवेशनमा चुनावी प्रतिस्पर्धा हुने सम्भावना बढी छ । अध्यक्ष पदका आकांक्षीहरू एक दर्जन नै भए पनि प्रमुख दाबेदार भने तीनजना देखिएका छन् । अहिलेसम्म अध्यक्षको दाबेदारमा पूर्वमहामन्त्री मनोजमणि आचार्य पूर्वउपाध्यक्ष नैनसिंह महर तथा पूर्वमहामन्त्रीद्वय जितजंग बस्नेत बलिया दाबेदारका रूपमा देखिएका छन् । 

यीमध्ये आचार्य पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् । मनोजमणि आचार्य रोल्पा निवासी हुन् । उनी १३ औं महाधिवेशनमा रोल्पाबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए । वैचारिक स्पष्टता उनको विशेषता हो । रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविको नेविसंघ इकाइ अध्यक्ष हुँदै उनी जिल्ला अध्यक्षसमेत बने । माओवादी नेता कृष्णबहादुर महराका विद्यार्थी हुन् उनी । बालकल्याण माविमा अनन्त, पासाङ, जयपुरी घर्ती, कुलप्रसाद केसी सोनामलगायतले पढ्दा उनी नेविसंघको इकाइ अध्यक्ष थिए । माओवादी जनयुद्ध चर्किएकाबेला २०५२ देखि २०५७ सालसम्म आचार्य नेविसंघ रोल्पाको जिल्ला अध्यक्ष बनेर संगठनका लागि धेरै लगानी गरेका विद्यार्थी नेतामा पर्दछन् । 

त्यसैगरी महर र बस्नेत भने दुवै सभापति देउवा निकट नेता मानिन्छन् । महर डँडेलधुरा निवासी हुन् । पत्रकारिता ‘ब्याकग्राउन्ड’का महर विद्यालयमा अध्ययन गर्दादेखि नै नेविसंघको राजनीतिमा सक्रिय थिए । उनी डँडेलधुराको नेविसंघ जिल्ला अध्यक्ष पनि चुनिए । अर्का दाबेदार बस्नेत भारतको नयाँदिल्लीमा स्नातक पढ्न गएका बस्नेत नेविसंघ दिल्लीको अध्यक्ष बनेका थिए । भारतमा स्नातक सकेर उनी स्नातकोत्तर पढ्न नेपाल फर्किएर त्रिभुवन विश्वविद्यालयमा भर्ना भए । केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको इकाइ समिति सदस्य र सचिव हुँदै उनी २०५८ सालमा अध्यक्ष बन्न सफल भए । कांग्रेस विभाजनपछि त्यसपछि नेविसंघको केन्द्रीय सदस्य बनेका उनी नेपालगन्जमा आयोजित महाधिवेशनबाट महामन्त्रीमा चुनिए । 

लामो समय नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्दा नीलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, कुन्दन काफ्ले र दीपक भट्टराई पनि अध्यक्षका आकांक्षी हुन् । पार्टीको १३ औं महाधिवेशनमा दोलखा जिल्ला सभापतिको प्रतिस्पर्धामा उत्रिएका काफ्लेले तेस्रो स्थान हासिल गरेका थिए । काफ्ले पूर्वविद्यार्थी नेता गगन थापा निकट मानिन्छन् । यीमध्ये भट्टराई रिजाल र अधिकारीले आफू विभिन्न पदमा एड्जस भएर मनोजमणिलाई सहयोग गर्ने तयारी गरेका छन् । 

 

]]>