देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनएसीको अगाडि नयाँ जहाज किन्नुको विकल्प छैन : सुगतरत्न कंसाकार

देशान्तर

नेपाल वायुसेवा निगमलाई नेतृत्व दिने दोस्रो अवसर पाउनुभएको छ । पहिले पनि तपार्इं कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो, अहिले महाप्रबन्धक । पहिलोबाट दोस्रो कार्यकालमा आइपुग्दा कार्य सञ्चालनमा के भिन्नता पाउनु भएको छ ?
पक्कै पनि भिन्नता । हुन त यहाँको व्यवस्थापनमा खासै फरक छैन । भिन्नता कुन मानेमा छ भने, पहिले ७–८ वर्षअघि आउँदा निगम २८ वर्षदेखि हवाईजहाज नकिनी बसिरहेको अवस्था थियो । भएको दुईवटा बोइङ र केही टुइनेटर चलाइरहेको अवस्था थियो । अहिले दुईवटा एयर बस नै थपिए र चारवटा साना जहाज पनि थपिएका छन् । त्यसैले अहिलेको कार्यकालमा चाहिँ थपिएको हवाईजहाज राम्रोसँग सञ्चालन गरेर देखाउने ठूलो चुनौती रहेको छ । 
पहिला तपाईं कार्यकारी अध्यक्ष नै हुनुहुन्थ्यो अहिले महाप्रबन्धकमात्रै । काम गर्न पहिलाजस्तो पूर्ण अधिकार त छैन होला ?
हैन, अहिले पनि पूर्ण अधिकार जस्तै नै छ । किनभने मन्त्रालयको सचिवज्यू आफैं अध्यक्ष हुनुहुन्छ । उहाँले काम गर्न सजिलै वातावरण बनाइदिनुभएको छ । पहिला पनि व्यवस्थापकीय नेतृत्व सम्हालेको हुँ, अहिले पनि काम त्यही नै हो । साताको एकपटक वा कहिलेकाहीँ दुई पटक बोर्ड मिटिङ हुने गर्छ । नीतिगत विषयहरूमा खासै समस्या छैन । अझ अहिले त सञ्चालक समितिले दुईतीनवटा कुरामा थप अधिकार दिएको छ ।  
आर्थिक रूपले निगम पहिलेभन्दा पनि गिर्दो अवस्थामा रहेको भन्ने जस्ता समाचारहरू पनि आइरहेका छन् । वास्तविकता के हो ?
त्यस्तो समाचार सरासर गलत हो । पहिलेभन्दा अझ राम्रो अवस्थामा निगम छ । के के कुरामा राम्रो भएको छ भन्ने बारे हामीसँग तथ्यांक नै छ । पहिले हामी कति यात्रु बोक्थ्यौं र अहिले कति बोक्छौ त्यो तथ्यांक हामीसँग छ । पहिले कतिवटा फ्लाइट गरिन्थ्यो र अहिले कतिवटा गरिरहेका छौ त्यो पनि तथ्यांक हेर्दा थाहा भइहाल्छ । हरेक तथ्यांकले भन्छ पहिलेभन्दा राम्रो भइरहेको छ । बरु निगमसँग विमानको कमी भएकोले समस्या भइराखेको छ । त्यस्तै नयाँ दुईवटा एयरबस थपिएपछि त्यसलाई पूर्ण क्षमतामा दिनको दिनको १०–१२ घन्टा चलाउन नसक्या चाहिँ पक्कै हो । निगमले २८ वर्षदेखि एउटा पनि जहाज नकिन्दा यो समस्या भएको हो । २८ वर्षपछि एकैचोटी दुईवटा जहाज आउँदा यो समस्या भएको हो । यसमा पनि मेरो के तर्क छ भने, कुनै बसिराखेको घरमा तल्ला थप्दा भर्‍याङ फोहोर हुन्छ तर भर्‍याङ किन फोहोर गरेको भन्न त पाइएन नि । निगममा पनि त्यस्तै भएको हो । मेरो अनुमानमा डेढदेखि दुई महिनापछि हामी नयाँ दुईवटै एयरबसलाई दिनको १२–१३ घन्टा चलाउन सक्छौ । संसारभर न्यारो बडी जहाज औसत रूपमा चल्ने दिनको १० घन्टामात्रै हो । तर हामी १२ घन्टा चलाउने गरी अगाडि बढेका छौ ।  
एयरबस किनेपछि गन्तव्यहरू पनि थपिएका छन् । पुरानो बोइङ र नयाँ दुई एयरबसले सेवा दिन सक्छ त ?
एकदम सकिन्छ । अहिले जम्मा दुईवटा गन्तव्य थपिएको हो, मुम्बई र ब्यागलोर । अर्थात् अहिले हामी सातवटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भरिरहेका छौं । केही समयपछि ग्वान्जाउ र दुबई पनि उडान भर्दैछौ । त्यसपछि थपिएपछि नौ वटा हुन्छ । भएका यही चारवटा जहाजबाट नौ वटा गन्तव्यमा जान सकिन्छ भन्ने हाम्रो विश्वास छ । 
तपाईंले धेरै पटक सार्वजनिक रूपमा निगमले वाइड बडी जहाज किन्नुपर्छ, नकिनी हुँदैन भनिरहनुभएको छ । वाइड बडी तत्कालै आवश्यक छ र ?
अहिले झन्डै ३८ वटा देशसँग हाम्रो देशको हवाई सम्झौता भइसकेको छ । त्यस्तो अवस्थामा यही नौवटा गन्तव्यमै चित्त बुझाएर बस्नु त भएन नि । यसलाई त अझ बढाउँदै लान सक्नुपर्छ । अझ हाम्रो पर्यटन क्षेत्रको भनाइ त नेपालमा पर्यटक भित्र्याउन नेपाल एयरलाइन्सको ठूलो भूमिका हुन्छ । यसको क्षमता र सेवा विस्तार नगरी नेपाल आउने पर्यटकको संख्या बढ्दैन भनिरहेको छ । त्यसैले हाम्रो सेवा कोरिया, अस्ट्रेलिया, सिंगापुरजस्ता गन्तव्यमा पुर्‍याउन आवश्यक देखेको छु । यसका लागि हामीलाई वाइड बडी जहाजको आवश्यकता छ । हाम्रो प्रतिस्पर्धी विदेशी एयरलाइन्समध्ये धेरैले नेपालमा वाइड बडी जहाज नै ल्यान्ड गरिरहेका छन् । उनीहरूले वाइड बडी चलाएर पैसा कमाउन सक्छन् भने हामीले नसक्ने त होइन नि । त्यसैले वाइड बडी नकिनी सुखै छैन । वाइड बडी जहाज किन्न सरकार पनि सहमत भइसकेको छ । यसको लागि प्रक्रिया कसरी अगाडि बढाउने भने बारेमा बोर्डमा छलफल भइरहेको छ । छलफल निक्र्योलमा पुग्नासाथ दुईवटा वाइड बडी जहाज खरिदका लागि टेन्डर प्रक्रियामा जान्छौ । नेपाल सरकार जमानी बस्न करिबकरिब सहमत भइसकेको छ । अहिले यो बजेटको चटारोले मात्रै केही ढिला भएको हो । जहाज खरिदका लागि अर्थ मन्त्रालयले स्वीकृत दिने निश्चितजस्तै छ । 
तर सरकारले निगमको व्यवस्थापन पक्षमा सुधार नभई जहाज किन्न स्वीकृति नदिने भन्ने कुरा पनि सुनिएको छ नि ? अहिले भइरहेकै जहाजहरूलाई पूर्ण क्षमतामा चलाउन नसक्ने हो भने थप जहाज किन भन्ने प्रश्न पनि त छ ? 
ठीकै हो, व्यवस्थापन पक्ष सुधार गर्नैपर्छ । तर यो धारणा ठीक होइन कि व्यवस्थापन भनेको आजको भोलि नै सुधार भइहाल्छ । व्यवस्थापन सुधारको प्रक्रिया निरन्तर चलिरहन्छ । क्रमिक रूपमा सुधार गर्दै जानुपर्छ । म्यानेजमेन्ट सुधारको सन्दर्भमा हामीले तीनवर्षे कार्ययोजना नै सार्वजनिक गरिसकेका छौं । त्यही योजनाअन्तर्गत अब हामीले अनलाइन बुकिङ सिस्टम ल्याउँदैछौ । कम्युटरराइजेसनको लागि धेरै काम गरिसकेका छौं । हालसालै मार्केटिङ कन्सलट्यान्ट हायर गरेका छौं । निगमले प्रतिस्पर्धाको माध्यमबाट एकैचोटी १४८ जना सपोटिङ स्टाफ भर्ना गर्दैछ । लोकसेवाले नै जाँच लिएर भर्ना गर्छौं । एयर होस्टेजको विज्ञापन पनि गरिसकेका छौं । नयाँ पाइलटहरू पनि आउँदैछन् । त्यसैले व्यवस्थापन सुधार, क्षमता अभिवृद्धि र बजार विस्तारसँगसँगै जाने कुरा हुन् । व्यवस्थापन सुधार भएपछिमात्रै जहाज किन्ने भन्न मिल्दैन । व्यवस्थापन सुधारसँगसँगै क्षमता अभिवृद्धि गर्ने भनेर नै नेपाल सरकार जहाज किन्न सहमत भएको हो । यसमा खासै समस्या छैन

 

अहिले नै निगममा ओभर स्टाफिङको समस्या छ भन्ने सुनिन्छ । तर तपाईंहरू अझै सयौं कर्मचारी भर्ना गर्ने प्रक्रियामा हुनुहुन्छ ?
निगममा ओभर स्टाफिङ छ भन्ने भ्रममात्रै हो । वास्तवमा भन्ने हो भने हामी अहिले अन्डर स्टाफिङको अवस्थामा छौ । स्टाफ नपुगेर हैरान छांै । त्यसैले एक सय ४८ जना भर्ना गर्न लागेका हौं । भएको के मात्रै हो भने निगमले २८ वर्षसम्म एउटा पनि जहाज किनेन । जहाज नहुँदा पनि एकताका निगममा २६ सय कर्मचारी थिए । तर अहिले जहाज थपिएको छ, स्थायी कर्मचारी हजार जना मात्रै छन् । हाम्रो कुल दरबन्दी १८ सय हो । यो हिसाबले त अझै आठ सय दरबन्दी त खाली नै छ । देशमा भयावह बेरोजगारीको अवस्था हुँदा हामीले जहाज किनेर रोजगारी थपियो भने यसलाई ठूलै उपलब्धि मान्नुपर्छ । देशमा बेरोजगारी बढिरहेको अवस्थामा हामीले एक सय ४८ जना स्टाफ थप्दैछौं । त्यसबाहेक थप ३२ जनाले एयर होस्टेजमा जागिर पाउँदैछन् । नयाँ पाइलटहरूले जागिर पाउँदैछन् । 
तर, नयाँ सरकार आएपछि मन्त्रीको दबाब निगममा करार र अस्थायी कर्मचारी धेरै थपिए भन्ने सुनिन्छ नि ?
त्यस्तो धेरै करार र अस्थायी कर्मचारी थपेको भन्ने कुरा गलत हो । मैले काम सम्हालेपछि जम्मा २२ देखि २३ जना करार कर्मचारी थपिएका हुन्, नथपी नहुने भएर । मन्त्रीज्यूको दबाबले भन्ने जानकारी पनि गलत हो । यो विरोधीहरूले चलाएको हल्ला हो । र अहिले हामीले करार भर्ना पूरै रोकेका छौ । अब एकजना पनि करारमा भर्ना हुँदैन । किनभने एक सय ४८ जना स्थायी कर्मचारी नै आउन लागेका छन् । त्यसले अहिलेलाई पुग्छ । नपुगेको संख्या चाहिँ हामीले आउटसोर्सिङ गरिराखेका छौं । जस्तो कुनै एजेन्सीमार्फत हामीले ६०–७० जना सेक्युरिटी गार्ड लिएका छौ । यसैगरी एयरपोर्टमा पनि एजेन्सीबाट कर्मचारी राखेका छौं । 
उसो भए निगम अहिले नाफामा छ त ? तपाईंहरूले सञ्चय कोषबाट लिएको ऋणको किस्ता बुझाउन सकिरहनुभएको छ ?
हामीले अहिलेसम्म एउटा पनि स्टलमेन्ट डिफल्ट गरेका छैनौं । ४–५ वटा स्टलमेन्ट तिरिसकेका छौ । र अहिलेसम्म नेपाल एयरलाइन्स घाटामा गएको रेकर्ड छैन । नाफा चाहिँ तलमाथि होला तर घाटा चाहिँ भएको छैन । 
तर निगमको नाफा जहाज उडाएर नभई ग्राउन्ड ह्यान्डलिङको कामबाट भएको भनिन्छ नि ? 
ग्राउन्ड ह्यान्डलिङ भनेको पनि चामल बेच्ने व्यापार त हैन नि । यसलाई पनि एभिएसन बिजनेस नै मानिन्छ । नागरिक उड्डयनको एउटा महत्वपूर्ण पाटो हो ग्राउन्ड ह्यान्डलिङ । दुई सयवटा राष्ट्रका हरेक राष्ट्रिय ध्वजावाहकले आ—आफ्नो देशमा यो काम गरिरहेका छन् । नेपाल एयरलाइन्सले मात्रै गरेको होइन । पछिल्लो १५–२० वर्षदेखि केही पश्चिमा राष्ट्रहरूमा मात्रै ग्राउन्ड ह्यान्डलिङको काम निजी क्षेत्रलाई दिन थालिएको हो । हुन त सधंै हामीले मात्रै यो काम गर्नुपर्छ भन्ने मान्यता पनि हाम्रो होइन । २६ वर्षदेखि ग्राउन्ड ह्यान्डलिङ गरिरहेका छौ । सबै खुसी छन् । राम्रो सेवा दिइरहेका छौं र पैसा पनि कमाइरहेका छौ । वार्षिक तीन अर्बको व्यापार छ । 
एनएसीको मुख्य बिजनेस त हवाईजहाज चलाउनु हो नि । तर जहाजमात्रै उडाउँदा त एनएसी घाटामा रहेछ । पुराना दुईवटा बोइङ र डोमेस्टिक फ्लाइटहरू पनि घाटामै छन् भन्ने सुनिन्छ ? यस्तो अवस्थामा एनएसी कसरी जीवित रहँला ?
संसारभरि नै एभीएसन बिजनेस अरू क्षेत्रभन्दा गाह्रो र चुनौतीपूर्ण मानिन्छ । भारतमै पनि भएका ६–७ वटा एयरलाइन्स कम्पनीमध्ये जम्मा दुईवटा मात्रै नाफामा छन् भन्ने सुनिन्छ । त्यसैले हामीकहाँ पनि गाह्रो छ । तर पनि हामीलाई के आँट छ भने यदि अन्तर्राष्ट्रिय रूपमा सिधा उडानहरू गर्न सक्यांै भने हाम्रो अवस्था मजबुत हुनेछ । सिधा उडानहरू सञ्चालन गर्न सक्यौं भने नेपालको एभीएसन बिजनेसमा हाम्रो एकाधिकार जस्तै हुन्छ । जस्तो हेर्नुस्, जापान हाम्रो लागि राम्रो गन्तव्य हो । ५० हजार नेपाली जापानमा छन् । त्यस्तै बर्सेनि हजारांै पर्यटक आउन चाहिरहेका छन् । तर काठमाडौं–जापान सिधा उडान अहिले छैन । यदि हामीले सिधा उडान गर्न सक्यौ भने त हाम्रै एकाधिकार हुन सक्छ । त्यस्तै कोरिया, हङकङ, अस्ट्रेलिया जस्ता देशहरूमा पनि हामीले सीधा उडान गर्न सक्छौ । यसका लागि हामीलाई जहाजको खाँचो छ । हो, अहिले चाहिँ निगमलाई ग्राउन्ड ह्यान्डलिङबाट सपोर्ट भइरहेको छ । तर, राम्रो गर्दै जाने हो भने कुनै दिन यस्तो पनि होला जुन दिन जहाज चलाउनमै फुर्सद नहोला । यो ग्राउन्ड ह्यान्डलिङ जस्तो झ्याउ काम हामी गर्दैनौ भन्ने स्थिति पनि आउन सक्छ । तर अहिले चाहिँ ग्राउन्ड ह्यान्डलिङ अपरिहार्य छ । यसलाई अहिले नै हामी छोड्ने पक्षमा छैनांै । 
उसो भए पुराना दुईवटा बोइङ र डोमेस्टिकको अपरेसनमा तपार्इंहरू घाटामा हुनुहुन्छ, हैन ?
बोइङको हकमा कुरा गर्दा यसको मर्मत खर्च बढ्दै गइरहेको छ । मर्मत खर्चबाहेक फ्युलको खपत पनि नयाँ हवाईजहाजभन्दा अलि बढी नै छ । त्यसैले पनि हामीले चाँडै नै चारवटा थप हवाईजहाज ल्याएर बोइङलाई दुईचार वर्षपछि विस्थापित गर्नैपर्छ । तर अहिले तत्कालै बोइङलाई हटाउन सकिँदैन । किनभने उडानहरूको गन्तव्य संख्या घटाउन सकिँदैन । त्यसो गरियो भने हाम्रो साख ध्वस्त हुन्छ । त्यसैले जसरी भए पनि चलाउनै पर्छ । जति सक्दो चाँडो दुईवटा वाइड बडी ल्याइसकेपछि बोइङलाई लिलाम गर्नुपर्छ भन्ने हाम्रो योजना छ । 
विदेशी सुविधा सम्पन्न जहाजहरूसँग नेपाल एयरलाइन्सले कसरी प्रतिस्पर्धा गर्न सक्ने देख्नुहुन्छ ?
गर्न सकिन्छ । किनभने अघि पनि मैले भनेँ हामीले सिधा उडान गर्न सक्यौं भने बजारमा एकाधिकार जस्तै हुन्छ । अहिले त नेपाल एयरलाइन्सको बिजनेसमात्रै हैन काठमाडौंमा जति एयरलाइन्स आउँछन् तीमध्ये धेरैको आँखा म्यानपावर बिजनेसमा मात्रै छ । म्यानपावर बिजनेसले यहाँका होटेलका कोठाहरू त भरिँदैनन् । होटेल रेस्टुरा, ट्राभल, एजेन्सी आदि पर्यटन व्यवसायलाई टेवा दिन जति सक्यो बढी पर्यटक भित्र्याउन सक्नुपर्छ । त्यो भइरहेको छैन । यसो हुनुको मुख्य कारण एसियामै सबैभन्दा महँगो हवाई गन्तव्य काठमाडौं बनेको छ । यसलाई हामीले ट्याकल गर्नैपर्छ । जबसम्म काठमाडौं सबैभन्दा महँगो गन्तव्य भइराख्छ तबसम्म पर्यटकको संख्यामा वृद्धि हुन सक्दैन । पर्यटकहरू हामीलाई हेल्प गर्न आउने त होइनन् । रमाइलो गर्न आउने हुन् । रमाइलो गर्न पैसाले नपुग्ने भयो भने कसरी आउँछन् ? फुकेट जान पुग्ने तर काठमाडौं आउन नपुग्ने, मलेसिया जान पुग्ने तर काठमाडौं आउन नपुग्ने, यस्तो भयो भने कसरी आउँछन् पर्यटक ? त्यसैले एसियाको सबैभन्दा महँगो गन्तव्यलाई सस्तो पार्न पनि नेपाल एयरलाइन्स माथि नआएसम्म हुँदैन । 
त्यसो भए एनएसीको नयाँ जहाज किन्ने योजना कहिलेसम्म पूरा होला ? 


हाम्रो तीनवर्षे कार्ययोजनाअनुसार त अबको आठ–नौ महिनामा वाइड बडी नेपालमा ल्यान्ड गराउने भन्ने हो ।  अहिलेसम्म जहाज बनाउन अर्डरै नभएको अवस्थामा त्यो सम्भव छ र ?
नयाँ जहाज बनाएर ल्याउन त समय लाग्छ । तर हामीले नयाँ बनाउन अर्डर दिने होइन । कुनै लिजिङ कम्पनी वा एयर लाइन्स कम्पनीले बेच्ने नयाँ जहाज किन्ने भन्ने योजना हो । कुनै एयरलाइन्स वा लिजिङ कम्पनीले बेच्ने जहाज पनि नयाँ नै हुन्छ । जस्ले सस्तोमा दिन्छ उसैसँग किन्ने हो । यसरी नयाँ जहाज बेच्न चाहने थुप्रै छन् । एयरबस कम्पनीबाट तयार भएर ५–६ महिना पनि नउडेका जहाज बेच्छु भनेर पनि प्रस्ताव आइरहेका छन् । यसका लागि ग्लोबल टेन्डर गर्ने हो । यसरी जाँदा आजको भोलि नै जहाज ल्यान्ड गराउन सकिन्छ । खाली हामीले टेन्डर गर्नुपर्‍यो, मूल्यांकन गर्नुपर्‍यो, पैसाको जोहो गर्नुपर्‍यो । त्यसपछि सम्बन्धित कम्पनीसँग कन्ट्रयाक्ट गर्ने हो । यो सबै गर्नलाई ५–६ महिनामै सम्भव छ । खरिद आदेश दिइसकेपछि हवाईजहाज ल्याउन दुई–तीन दिनको काम हो । 
तपाईंले सुरक्षाको कुरा गर्नुभयो । एनएसीको बोइङ चढ्नु सुरक्षित छैन भन्ने पनि सुनिएको छ नि ?
त्यो त शतप्रतिशत गलत कुरा हो । नेपाल एयरलाइन्सले जेट किनेको ५७ वर्ष भइसक्यो अहिलेसम्म कुनै दुर्घटना नभएको इतिहास छ । दोस्रो कुरा, हवाईजहाजलाई कहिले पनि पुरानो भन्न नमिल्ने मान्यता छ । हवाईजहाजलाई सेफ्टीको एंगलबाट पुरानो भन्नै मिल्दैन । एभिएसन बिजनेसमा संसारभरिकै मान्यता हो । त्यसैले हाम्रो बोइङ अथवा एअरबस सुरक्षाको दृष्टिले एक इन्च पनि फरक छैन । इन्जिन रिफर्मिस गरिसके पुराना जहाज पनि नयाँ सरह नै हुन्छन् । अहिले हाम्रो बोइङको एउटा इन्जिन ओभरहल भइरहेको छ, स्पेनमा । त्यो आइसकेपछि ब्रान्ड न्यु सरह नै हुन्छ । चारपाँच वर्ष ढुक्कले चल्छ । 
राष्ट्रिय ध्वजावाहक भएकोले डोमेस्टिक सुविधा दिनु पनि एनएसीको दायित्व हो । तर डोमेस्टिकको लागि प्लेन नै छैनन् । अहिले भएका नयाँ दुईवटा चाइनिज जहाज चलाउन सेतो हात्ती सरह भएको छ भन्ने सुनिन्छ । डोमेस्टिक सेवाका लागि अझै चाइनिज प्लेन ल्याउने कि अरू योजना छन् ?
चाइनिज प्लेनको हकमा सरकार टु सरकार सम्झौता भएकोले हामीले यसमा धेरै बोल्न मिल्दैन । चाइनिज हवाईजहाजको बारेमा हामीले एउटा फाइल तयार पारेर सरकारलाई दिएका छौं । नेपाल सरकारले केही निर्णय गर्ला । 
चीन र नेपालको सरकारबीच सम्झौता भए पनि पैसा तपाईंहरूले हाल्ने हो । सञ्चालनमै घाटा पर्ने हो भने त त्यसले निगमलाई झन् धराशायी बनाउला । यसबारेमा सरकारलाई के भन्नुभएको छ ? 
यसबारेमा हामीले नेपाल सरकारलाई भन्दा पनि जहाज निर्माता कम्पनीसँग छलफल गरिराखेका छौं । म आएपछि पनि दुई–तीन पटक कुराकानी भइसकेको छ । हामीले यसको सञ्चालन खर्च घटाउनका लागि स्पेयर पार्टस, चेक गर्दाको सर्भिस चार्ज, इन्स्योरेन्सको पैसा घटाउन अनुरोध गरेका छौं । यसबारे छलफल जारी छ । हामीले आशा गरेका छौ उनीहरूले यो कुरा मान्नेछन् । 
तर चिनियाँ जहाज धेरै उचाइमा पनि उड्न नसक्ने अनि पेसेन्जर पनि पूर्ण क्षमतामा बोक्न नसक्ने भन्ने पनि सुनिएको छ । यस्तो अवस्थामा पार्टस र इन्स्योरेन्सको पैसा घटाएर मात्र होला र ? 
उचाइमा उड्न नसक्ने भन्ने गलत कुरा हो । धेरै पेसेन्जर बोक्न नसक्ने भन्ने कुरा लोड पेनाल्टी भन्ने कुरा जुनसुकै जहाजमा पनि हुन्छ । चिनियाँ जहाजमा अलि बढी भएको मात्रै हो । अहिले चलिरहेका प्लेनहरूमा पनि पूरै पेसेन्जर राख्न मिल्दैन । त्यसैगरी हाम्रो कुनै अन्तर्राष्ट्रिय उडानमा पनि यहाँबाट एयरबस हङकङमा जाँदा एक सय ५७ जनै पेसेन्जर बस्न मिल्दैन । एक सय ४६ जनामात्रै हाल्छौं, लोड पेनाल्टी भनेर । लोड पेनाल्टी तापक्रममा आधारित हुन्छ । टेम्पेचर बढेपछि कम राख्नुपर्ने हुन्छ । त्यसले गर्दा केही निश्चित एयरपोर्टहरूमा चाइनिज प्लेन फुलफेजमा चल्न नसकेको हो । भैरहवा, धनगढी, विराटनगर चलाइरहेका छौं । त्यहाँ खासै समस्या छैन । 
त्यसो भए चीनबाट बाँकी चारवटा जहाज पनि ल्याउनुहुन्छ ? 
यसबारेमा नेपाल सरकारले निर्णय गर्छ । चीन सरकार र नेपाल सरकारबीचको सहमतिमा आएको हुनाले यो इस्युलाई ‘ब्लाक एन्ड ह्वाइट’ रूपमा सोच्नु हुँदैन । ग्रे एरियामा पनि जानुपर्छ । 
अन्त्यमा, तपाईं चार वर्षको लागि एनएसीको महाप्रबन्धकमा नियुक्त हुनुभएको हो । तीनवर्षे योजना प्रस्तुत गर्नुभएको छ । तपाईंको कार्यकालमा एनएसी पूर्ण नाफामा गएर पूर्ण क्षमतामा सेवा दिन सक्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
सकिन्छ । अवश्य सकिन्छ । अन्तर्राष्ट्रिय उडानबाट नाफा कमाएर डोमेस्टिकमा घाटै परे पनि सेवा दिने भन्ने हाम्रो सोचाइ छ । जहाँ निजी सेक्टर गइरहेको छैन त्यहाँ हामी पुग्नैपर्छ । हामीले नाफा—घाटामात्रै हेरेर हँुदैन । पब्लिक सेवाको काम पनि गर्नुपर्छ । पौने तीन करोड जनताको संस्था हो यो । १६ सिटे हवाईजहाजमा चारजना पेसेन्जर मात्रै छ भने पनि उडाउनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले जहाज किनेर अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सके यो सम्भव छ । 

]]>