देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनश्रमदानमा ११ किलोमिटर सडक निर्माण !

देशान्तर

बैतडी । विकास निर्माणको कार्यका लागि सधैँ सरकारको मुख ताक्ने प्रवितिलाई चुनौती दिँदै दुर्गास्थानका बासिन्दाले ११ किलोमिटर सडक निर्माण गरेका छन् । 

शिलान्यास भएको ११ वर्षसम्म गाउँ जोड्ने सडक निर्माणले गति नलिएपछि बैतडीको दुर्गास्थानका बासिन्दा आफै अग्रसर भएर श्रमदान र ऋण सङ्कलन गरेर निर्माणमा जुटेका हुन् । 

देहीमाडौँदेखि दुर्गास्थान हँुदै सलेना जोड्न २० किलोमिटर सडक विसं २०६२ मा सुरु भएको थियो । जिल्ला विकास समितिले तीन किलोमिटर बनाउन यो वर्ष ठेक्का गरेको थियो । उक्त रकमले गाउँ पुग्न नसकेपछि स्थानीयले चन्दा, सापटी र श्रमदानबाट ११ किलोमिटर थपेका हुन् । 

देहीमाडौँ गाविस–१ सिलगांचोकदेखि दुर्गास्थान गाविस–५ सुरकाल, वडा नं ३ स्याडी, ४ परिगाउँ, ५ कोइराली, २ कपर्त हुँदै ५ सुरकालदेखि सलेना जोडिएको छ । कोइरालीसम्मको १२ किलोमिटरमा गाडी चल्न थालेका छन् । “जिविसले ठेक्का गरेको रु १३ लाखले तीन किलोमिटर मात्रै बन्यो ।” स्थानीय नरीदत्त बडूले भने, “१२ वर्षसम्म सडक गाउँ नपुगेकाले आफैँले रकम सङ्कलन गरेर ११ किलोमिटर थपेका छौँ ।” 

यी गाउँका ४०० परिवारले श्रमदान, चन्दा, ऋण सापटी लिएका हुन् । सडक निर्माणमा रु ४५ लाख खर्च भएको छ । हरेक परिवारले एक दिन बराबर श्रमदान वा ज्याला बराबरको रकम थप दिएका छन् । जागिर र वैदेशिक रोगजारीमा रहेकाबाट रु ५० हजारका दरले ऋण लिएको छ । ब्यक्ति, स्थानीय स्तरका समूह, दुई विद्यालय र एक मन्दिर व्यवस्थापन समितिबाट सापटी लिएको हो । रु २० हजारदेखि दुई लाख ५० हजारसम्म गरी रु ४० लाख ऋण सङ्कलन गरेको निर्माण समितिले जनाएको छ । 

एघार किलोमिटर बनाउन रु ४५ लाख खर्च भएको छ । ब्याज नलिने गरी ऋण दिए पनि फिर्ता गर्ने स्रोत जुटाउन नसकेको स्थानीय बताएका छन् । जिविसले थप सहयोग गर्ने आश्वासन दिए पनि टुङ्गो लागेको छैन । सडक निर्माण समितिका अध्यक्ष चक्रप्रसाद शर्माले भने, “गाउँलेको सक्रियताले सडक त बनायौँ, ऋण लिएको रकम कसरी तिर्ने चिन्ता छ ।” 

सडक निर्माणले दुर्गास्थान र सलेनाको माथिल्लो बस्तीका बासिन्दालाई सहज भएको छ । तल्लो क्षेत्र हुँदै पञ्चेश्वर सडक गएको छ । सडकले यहाँका उत्पादन बजार पु¥याउन सहजसँगै महत्वपूर्ण धार्मिकस्थल अस्मी केदारधाम र खपरे दैत्यको बध गरेको ठाउँको प्रचारप्रसार बढ्ने आशा गरिएको छ ।

यहाँका स्थानीय गाडीमा पाटन हुँदै यात्रा गर्दा पाँच घन्टा र पैदल आउँदा दिन बित्थ्यो । अब यो दूरी दुई घन्टामा सीमित भएको छ । “छोटो दुरीको सडक बन्दै गाडी चल्न थालेपछि सहज भएको छ ।” स्थानीय महादेव बडूले भने, “गाउँका उत्पादन बजार पु¥याउन र उपभोग्य बस्तु ल्याउन सजिलो भएको छ ।” समुदायको सक्रियता देखेर निर्माणबापत सहयोग गर्नेबारे छलफल भइरहेको जिविसले जनाएको छ । 

]]>