देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘गणतन्त्र स्तम्भ’ कागजमा मात्रै

देशान्तर

काठमाडौं  ।जेठ १५ मा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो । त्यसको चार वर्षपछि २०६९ वैशाख ९ को मन्त्रिपरिषद् बैठकले गणतन्त्र स्तम्भ बनाउने निर्णय गर्‍यो । त्यसअनुसार तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं महानगरपालिका १४ गाङखेलमा गणतन्त्र स्तम्भ शिलान्यास पनि गरे । तर गणतन्त्रलाई स्मरण गरिरहने र हिमाल, पहाड र तराईलाई जोड्ने हिसाबले निर्माण गर्ने भनिएको स्तम्भ भने कागजमै सीमित छ ।

२०६२÷६३ को जनआन्दोलनका ऐतिहासिक उपलब्धिलाई स्मरणीय बनाउन तत्कालीन सरकारले गणतन्त्र स्तम्भ बनाउने निर्णय गरेको थियो । तर शनिबार नवौं गणतन्त्र दिवस मनाइरहँदा पनि उक्त स्तम्भ बन्छ कि बन्दैन भन्ने प्रश्न उठी नै रहेको छ । उक्त स्तम्भ ९४ मिटर अग्लो बनाउने भनिएको थियो । निर्माणस्थल गाङखेलमा मुख्य स्तम्भको डमीका रूपमा ४.७ मिटरको स्तम्भमात्र राखिएको छ ।

शुक्रबार निर्माणस्थल पुग्दा भट्टराईले उद्घाटन गरेको स्थान जस्ताको जस्तै खाल्डो नै थियो । त्यसमा झारहरू उम्रिरहेका थिए । उक्त स्थान बस्तुभाउ चराउने र युवायुवतीका लागि डेटिङ जाने स्थानका रूपमा मात्र प्रयोग भएको देखिन्थ्यो ।
गणतन्त्र स्तम्भ पहिले नारायणहिटी दरबारको हाताभित्र बनाउने भनिएको थियो । त्यसलाई पछि सारेर रत्नपार्क शान्ति वाटिका र फेरि ललितपुरको गुसिङ्गालमा निर्माण गर्ने भनियो । अन्त्यमा भने त्रिभुवन विश्वविद्यालयको क्षेत्रभित्र रहेको परीक्षा नियन्त्रण कार्यालय बल्खुको पश्चिम क्षेत्रको माथिल्लो भागको ६० रोपनी जग्गा तय गरियो । तत्कालीन भौतिक तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले उक्त स्तम्भलाई राष्ट्रिय गौरवका रूपमा छिटो निर्माण गर्ने बताएका थिए ।

राष्ट्रिय गौरवको आयोजना भनिए पनि उक्त स्तम्भ रकम अभावका कारण निर्माण हुन नसकेको सहरी विकास मन्त्रालयले जनाएको छ । सहरी विकास तथा भवन निर्माण विभागको भवन निर्माण शाखाका सिनियर डिभिजन इन्जिनियर मचाकाजी महर्जनले गणतन्त्र स्तम्भको डिजाइन तयार भएको र अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि पठाइएको बताए । ‘अर्थमा पठाएको त हो, तर यसपटक पनि बजेट परेको जस्तो लाग्दैन,’ उनले भने ।

उक्त स्तम्भको कुल लागत १ अर्ब ८५ करोड रुपैयाँ छ । स्तम्भको दुई स्थानबाट आम नागरिकले राजधानी सहर अवलोकन गर्न पाउने छन् । महर्जनका अनुसार २४ र ५७ मिटरमा गएर आम जनताले दृश्य अवलोकन गर्न पाउने गरी डिजाइन तयार गरिएको छ ।
कान्तिपुर दैनिकबाट

]]>