देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजेट : केमा बढ्यो, केमा घट्यो ?

देशान्तर

काठमाडौं । सरकारले नयाँ बजेट ल्याएसँगै उपभोक्ताले कतिपय वस्तुका लागि भाउ बढी तिर्नुपर्ने भएको छ । केहीमा भने सहुलियतसमेत पाउने भएका छन् ।

बजेटसँगै जारी अर्थ विधेयकले उपभोग्य वस्तुमा लाग्ने करको दर हेरफेर गरेकाले वस्तुको भाउ घटबढ हुने भएको हो । आर्थिक वर्ष २०७३/७४ को आर्थिक विधेयकअनुसार अब उपभोक्ताले सस्तोमा विद्युतीय सवारी किन्न पाउनेछन् । मदिरा, चुरोट, खैनी, बिँडी, गुट्खालगायत उपभोक्ताले भने बढी रकम तिर्नुपर्ने छ ।

मोबाइलमा दिइँदै आएको पचास प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) छुटलाई सरकारले चालीस प्रतिशतमा झारेको छ । मोबाइल सेटमा व्यापारीले पाउँदै आएको भ्याट छुट घटेकाले बिक्रेताले उपभोक्ताको थाप्लोमा यो रकम थप्न सक्ने छन् । तोरीको तेल र वनस्पति घिउ उद्योगले आफ्ना उत्पादनमा उठाएको भ्याटमा पाउने छुट घटेकाले त्यसको भार उपभोक्ताले उठाउनुपर्ने हुन सक्छ ।

यस वर्षको बजेटमार्फत सरकारले मृगौला रोग तथा मुटुरोगसँग सम्बन्धित उपकरणमा लाग्ने भ्याट छुट दिएको छ ।

त्यसले सर्वसाधारणको उपचार खर्चमा कमी आउनेछ । नेपालमै विद्युतीय रिक्सा उत्पादन गर्ने कम्पनीले आवश्यक कच्चा पदार्थ आयात गरे त्यसमा लाग्ने भ्याट पनि छुट पाउने छन् । ब्याट्रीबाट चल्ने पानी तान्ने पम्पमा पनि भ्याट छुट हुने भएको छ । विद्युतीय टेम्पो र रिक्सामा भ्याट छुट दिइएको छ ।

प्लास्टिक झोला उत्पादन गरिरहेका उद्योगले वातावरणमैत्री झोला उत्पादन गर्ने मेसिन खरिद गरेमा त्यसमा पनि भ्याट छुट पाउनेछन् । सुर्ती, सुर्तीजन्य वस्तु, चुरोट, गुट्खा, खैनी, मदिरा, बियर, वाइनलगायत सबै वस्तुमा अन्त:शुल्क र भन्सार दर बढेको छ ।

यी वस्तुको मूल्यवृद्धि हुने निश्चित छ । अल्कोहल मिसाइएका र नमिसाइएका चिनी हालेका पेयमा लाग्ने अन्तस्शुल्क पनि बढेकाले यस्ता पेयको भाउ बढ्नेछ । सरकारले एसेम्बल र तयारी टेलिभिजन सेटमा लाग्ने अन्तःशुल्क बढाएको छ ।

५ प्रतिशतबाट बढेर यस्तो शुल्क १० प्रतिशत पुगेकाले उपभोक्ताले टेलिभिजनका लागि बढी तिर्नुपर्ने हुन सक्छ । टेलिभिजन रिसिभरका लागि पनि १० प्रतिशत अन्तस्शुल्क तिर्नुपर्ने हँ‘दा भाउ बढ्नेछ ।

सरकारले विद्युतीय माध्यमबाट चल्ने सार्वजनिक यातायातका साधनमा अन्तःशुल्क हटाएको छ भने भन्सार एक प्रतिशतमा झारेको छ । यसले यस्ता खाले सवारी आयातकर्तालाई सहज हुने भएको छ ।

निजी प्रयोजनका विद्युतीय सवारीमा पनि अन्तःशुल्क हटाई १० प्रतिशतमात्र भन्सार दर कायम गरेको छ । यस्ता खाले बाइक र कार चढ्न चाहनेका लागि अब मूल्य सस्तिने भएको छ ।

सरकारले कृषि औजार आयातमा पनि छुट दिएको छ । यसले गर्दा किसानलाई सहुलियत उपलब्ध हुनेछ । यस्ता उपकरण औजार आयातमा एक प्रतिशतमात्र भन्सार दर लाग्नेछ ।

सरकारले बजेटसँगै ल्याएको आर्थिक विधेयकले परिवर्तन गरेका सबै करका दर तत्कालै लागू हुँदैनन् । केही कर तत्कालै र केही कर आगामी साउन १ गतेदेखि लागू हुनेछन् ।

विधेयकको दफा १ उपदफा २ अनुसार आर्थिक ऐन २०७३ मा उल्लेखित आयातमा लाग्ने भन्सार महसुल, निर्यातमा लाग्ने भन्सार सेवा दस्तुर, कृषि सुधार शुल्क, अन्तःशुल्क, पूर्वाधार कर र सडक मर्मत तथा सुधार दस्तुर तत्कालै लागू हुनेछन् । अरूखाले कर एवं शुल्क भने आगामी साउनदेखि लागू हुनेछन् ।

सरकारले बजेटमार्फत जुनसुकै बिक्री कक्षमा राखिएका सामानमा पनि भ्याट जोडेपछिको मूल्यसूची राख्नुपर्ने व्यवस्था गरेको छ । यसले अब उपभोक्तालाई भ्याट थपेर व्यवसायीले ठगी गर्न पाउने छैनन् ।

यो व्यवस्था रेस्टुरेन्ट, होटल, मेला, प्रदर्शनी, बिक्री कक्ष सबैतिर लागू हुनेछ । पहिले व्यवसायीले भ्याट र करबिनाको मूल्यसूची राखेर उपभोक्तालाई झुक्याउँदै आएका आजको कान्तिपुर दैनिकमा समाचार छ ।

 

]]>