देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राहुघाट जलविद्युत् आयोजनाको क्षमतासँगै लागत बढ्ने

देशान्तर

काठमाडौँ । भारतीय निर्माण कम्पनी आइभिआरसिएलको आर्थिक अवस्था कमजोर भएपछि निर्माण प्रक्रियामा नै छाडेको म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको क्षमतासँगै लागत पनि बढ्ने भएको छ । 

पुरानो ठेकेदारसँगको सम्झौता तोडेर नयाँ प्रक्रियामा आयोजना निर्माण गर्नका लागि तयार पारिएको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर०मा क्षमता र लागत बढ्ने उल्लेख गरिएको छ । आयोजना निर्माणकर्ता नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सचिवालयमा तीन महिनाअघि दर्ता भएको डिपिआरमा हाल ३२ मेगावाट क्षमताको आयोजनालाई ४० मेगावाट बनाउने प्रस्ताव गरिएको छ । 

ऋण लगानीकर्ता भारतीय आयात निर्यात बैंकको सहमतिमा आयोजनामा सर्वसाधारणको पनि सेयर लगानी रहने विकल्प प्रस्ताव गरिएको आयोजनाको बेनीस्थित कार्यालयले जनाएको छ । विसं २०६६ मा सुरु भएको आयोजना रु सात अर्बको लागतमा यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको सिभिल ठेकेदार आइभिआरसिएलको कमजोर आर्थिक अवस्था र विभिन्न प्रक्रियागत ढिलाइका कारण १२ प्रतिशत मात्रै भौतिक प्रगति भएको सो आयोजनालाई ४० मेगावाट बनाउँदा रु आठ अर्ब ६० करोड लागत अनुमान गरिएको छ । 

कालीगण्डकी करिडोरअन्तर्गतको दाना सबस्टेसन जोड्ने १३२ केभी प्रसारण लाइनमा आयोजनाको विद्युत् जडान गर्न सकिने भएकाले यसअघिको मोदी–गलेश्वर प्रसारण लाइनको लागत नयाँ सर्वेक्षणका क्रममा हटाइएको छ । विद्युत् प्राधिकरणको सञ्चालक समितिले डिपिआर स्वीकृत गरेपछि आयोजनाको ठेक्का प्रक्रिया सुरु हुने जनाइएको छ । 

यसैबीच जिल्लाका सांसद, निजी क्षेत्र र राजनीतिक दलले म्याग्दीको जलविद्युत् विकासमा प्रवेशद्वार मानिएको राहुघाटलाई कुनै पनि बहानामा ढिलाइ गर्न नहुने र प्रक्रिया छिटो सुरु गर्न माग गरेका छन् । प्राविधिक र आर्थिक हिसाबले जुन मोडलमा उपयुक्त तथा छिटो काम हुन्छ त्यही प्रक्रियाबाट राहुघाट निर्माण प्रक्रियालाई अघि बढाउनुपर्ने व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिका सदस्यसमेत रहेका सांसद रेशमबहादुर बाँनिया बताउछन् ।  

स्थानीय समस्या समाधान हुने, जिल्लावासीको अपनत्व रहने र लगानीको अवसर पाउने भएकाले राहुघाटमा विद्युत् प्राधिकरणको ५१ प्रतिशत सेयर रहने गरी कम्पनीमा लैजाने प्रस्ताव गरिएको कृषि तथा जलस्रोत समितिका सदस्य एवम् सांसद नवराज शर्माले बताए । 

जिल्लाका झीँ र दग्नाम गाविसको सिमानामा बाँध रहने सो आयोजनाको पिप्ले तिल्केनीचौरमा विद्युत्गृह निर्माणका लागि पुरानो ठेकेदारले सामान्य काम सुरु गरेर छाडेको थियो । यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०६६ देखि निर्माण प्रक्रिया सुरु भएको राहुघाट आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति १२ प्रतिशत मात्र भएको छ । 

आयोजनाका प्रमुख कुलमान घिसिङले आयोजनाको डिपिआर, टेन्डर कागजात प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेलाई बुझाइसकिएको र आवश्यक निर्णयको प्रक्रियाको प्रतीक्षामा रहेको बताए ।  “व्यवस्थापकीय रुपमा गरिनुपर्ने काम मात्रै बाँकी छ । हामी आवश्यक निर्णय चाँडै होस् भन्ने पक्षमा छौँ,” उनले भने  ।  

आयोजनाको हालसम्म पिप्ले तिल्केनीचौरमा अडिट नं तीनको ६४।५ मिटर सुरुङ र एक हजार ८० मिटर सडक निर्माण भएको छ । सिभिल ठेकेदारसँगको सम्झौता तोडिए पनि आवास क्षेत्रमा नाली निर्माण, खानेपानी र विद्युत् जडानको जिम्मेवारी पाएका लामा कन्सट्रक्सन र गोर्खा कन्सट्रक्सन कार्यक्षेत्रमा फर्र्किएर काम सुरु गरेका आयोजनाले जनाएको छ । 

]]>