देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्यमी बसन्त चौधरी मोरक्को सरकारद्वारा विभूषित

देशान्तर

काठमाडौँ । नेपालका लागि मोरोक्को अधिराज्यका मानार्थ अवैतनिक महावाणिज्यदूत वसन्तकुमार चौधरी मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक ‘अलाविटी अफिसर विसाम’ द्वारा विभूषित भएका छन् ।

आइतवार आयोजित एक विशेष समारोहमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले चौधरीलाई उक्त विभूषणबाट विभूषित भएको प्रमाणपत्र प्रदान गरेका थिए भने नेपालका लागि मोरोक्कोका राजदूत लार्वी रिफोकोले उक्त विभूषण प्रदान गरे ।

समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले नेपाल र मोरोक्कोबीच विद्यमान सुमधुर दौत्य सम्बन्धमा थप प्रगाढता बढाउन महावाणिज्यदूत चौधरीले गरेको योगदानको सराहना गरे ।

उनले नेपाल र मोरोक्कोबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक सद्भाव, समझदारी र सहयोग विस्तार हुँदै आएको तथा दुवै मुलुकले असंलग्न आन्दोलनजस्ता अन्तर्राष्ट्रिय मञ्चमा साझा चासोका विषयमा सहकार्य गर्दै आएका बताए ।

उनले भूकम्पका बेला आपत्कालीन सहयोगस्वरुप नेपाल सरकारलाई मोरोक्कोले १० लाख अमेरिकी डलर उपलब्ध गराएकामा मोरोक्को सरकार र महावाणिज्यदूत चौधरीप्रति आभार व्यक्त गरे ।

राजदूत लार्वीले मोरोक्को र नेपालबीचको सम्बन्धलाई जनस्तरमा समेत सुदृढ तुल्याउन महावाणिज्यदूत चौधरीले गर्नुभएको अतुलनीय योगदानको कदरस्वरुप मोरोक्कोका नरेश मोहम्मद छैटौँले उक्त विभूषण प्रदान गरेको बताए ।

महावाणिज्यदूत चौधरीले नेपाल र मोरोक्कोबीचको व्यापारिक एवम् औद्योगिक सम्बन्ध विस्तारमा आफू निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे ।

समारोहमा नेपाल सरकारका उच्च अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, कलाकार, समाजसेवी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

 

]]>