देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतद्वारा नदी नियन्त्रणको लागि ३६ करोड सहयोग

देशान्तर

काठमाडौँ । नदी नियन्त्रण कार्यका लागि भारत सरकारले नेपाललाई रु ३६ करोड ६२ लाख अनुदान सहयोग गर्ने भएको छ । 

सिँचाइ मन्त्रालयमा आज आयोजित द्विपक्षीय सहयोग सम्झौतामा सिँचाइ मन्त्री उमेश यादवलाई नेपालका लागि भारतीय राजदूत रणजित रायले अनुदान सहयोग सम्बन्धी चेकमा हस्ताक्षर गरे । नेपाल– भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको दसौँ बैठकको निर्णय बमोजिम भारत सरकारबाट उक्त अनुदान रकम प्राप्त भएको हो । 

लालबकैया, वाग्मती, र कमला नदी नियन्त्रणमा सो रकम खर्च गरिने छ । यसअघि भारतले ती तीनवटै नदीका लागि रु चार अर्ब २३ करोड १७ लाख अनुदान सहयोग गरेको थियो । वाग्मती जनदीकोे लागि रु एक अर्ब दुई करोड, लालबकैयाका लागि रु एक अर्ब १२ करोड र कमला नदीको लागि रु एक अर्ब ६९ करोड सहयोग यसअघि नै प्राप्त भएको छ । उक्त सहयोगबाट वाग्मतीमा ४० किलोमिटर, लालबकैयामा ६१ र कमलामा ६७ किलोमिटर तटबन्ध निर्माण भएको छ । 

अनुदान रकम हस्तान्तरणपछि आयोजित कार्यक्रममा सिँचाइ मन्त्री यादवले सो रकम तराई मधेसको नदी नियन्त्रणका लागि खर्च गरिने र महत्वपूर्ण सुधार हुने विश्वास व्यक्त गरे ।  नेपालहुँदै भारतीय सीमातर्फ बग्ने अन्य नदीमा समेत निरन्तर रुपमा तटबन्ध निर्माण गरिने मन्त्री यादवले बताए ।  

मन्त्री यादवले अन्य नदी नियन्त्रणमा समेत भारत सरकारको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।  दुवै देशका जनताको थप हितका लागि जलस्रोतको प्रभावकारी उपयोग एवम् व्यवस्थापनको लागि आपसी सहयोगको खाँचो रहेको मन्त्री यादवले बताए ।  

सिँचाइ सचिव अनुपकुमार उपाध्यायले नदीका कारण उत्पन्न समस्या न्यूनिकरण गर्दै त्यसको वृहद उपयोगका लागि नेपाल र भारत दुवै मुलुक मिलेर काम गर्नुपर्नेमा जोड दिए । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक निरन्जनदेव पाण्डेले नेपालको नदी नियन्त्रणमा भारतबाट प्राप्त सहयोग अनुकरणीय रहेको भन्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरे ।  

नेपालका लागि भारतीय राजदूत रायले नेपालको आर्थिक, सामाजिक क्षेत्रको विकासमा भारत सरकारले निरन्तर सहयोग जारी राखेको बताउँदै नदी नियन्त्रणमा थप सहयोग गर्ने विश्वास दिलाए । 

]]>