देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनाका गरिमा जोगाए : प्रथम राष्ट्रपति डा यादव

देशान्तर

काठमाडौं । प्रथम राष्ट्रपति रामवरण यादवले पूर्वप्रधानसेनापति रूक्मांगद कटवाललाई तत्कालिन पुष्पकमल दाहाललको सरकारले बर्खास्त गर्ने निर्णयलाई आफूले साथ नदिएर सेनाको संगठन ध्वस्त हुनबाट बचाएको बताएका छन् । ‘म राष्ट्रअध्यक्ष नभएको भए, सेनाको संगठन ध्वस्त हुन्थ्यो,’ आइतबार काठमाडौंको र्‍याडिसन होटलमा आयोजित पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरूङको आत्मकथा ‘जनताको छोरो’ लोकार्पण कार्यक्रममा प्रथम राष्ट्रपति यादवले भने ।

उनले त्यस बेला आफूलाई काम गर्न गाह्रो भएको व्यक्त गर्दै भने, ‘त्यस बेला १० वर्ष हतियार बोकेको माओवादीलाई लोकतान्त्रिक बाटोमा ल्याइएको थियो । त्यसबेला दुई सेना थिए । त्यसपछि विद्रोह गरेरै आएका पार्टीका नेता प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री रामबहादुर थापा थिए, मैले त्यस बेलामा सही निर्णय गरें । अहिले पनि त्यस बेलाको निर्णय सही थियो भन्ने लाग्छ । माओवादी बाहेक सम्पूर्णले मेरो निर्णयलाई समर्थन गरे पनि ।’ २०६६ साल वैशाख २० मा दाहाल नेतृत्वको सरकारको मन्त्रिपरिषदको बैठकले तत्कालिन प्रधानसेनापति रूक्मांगद कटवाललाई बर्खात गर्ने निर्णय गरेको थियो । यादवले आफूले राष्ट्रध्यक्ष भएर थिच्न र मिच्न खोजेको भन्ने आरोप लाग्ने गरेको उल्लेख गर्दै भने, ‘मैले ७ वर्ष तीन महिना भाग्यले त्यो पदमा रहँदा मुलुकका सबै दललाई संयोजन गर्ने काम गरे ।’ यादवले कठिन समयमा सेनाको संगठनलाई बचाएर सहि काम गरेको बताए । उनले त्यस बेला ८ जना जर्नेलहरुको म्याद थपका विषयमा पनि आफूले सहि निर्णय लिएको बताए । उनले भने, ‘यदि त्यस बेला मैले गलत निर्णय गरेको भए, अदालतबाट निर्णय भएपछि मैले ट्याक्सी लिएर हिड्ने अवस्था आउन सक्थ्यो ।’

यादवले आफूले नै बर्खास्त हुनबाट जोगाएको प्रधानसेनापति कटवालले म्याद सकिएपछि पनि पदमा निरन्तरता दिन खोज्दा लोकतन्त्रविपरीत हुने बताएको जानकारी दिए । उनले भने, ‘मैले उहाँलाई हामी जनताको छोरा–छोरी हौं, यो भनेको संस्था हो, जुन लोकतान्त्रिक पद्धति अनुसार चल्नु पर्छ । यसलाई निरन्तरता दिने कुरा गर्नु ठिक हुन्न ।’ उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस बेला कटवाललाई ‘यो बृद्धाश्रम होइन’ भन्ने जवाफ दिएर ठीक गरेको बताए ।

उनले नेपालको सेनाले जहिले पनि लोकतान्त्रिक आन्दोलनमा साथ दिएको बताए । प्रथमराष्ट्रपति यादवले मधेसी मोर्चाको असहमतिबीच आफूले पीडाबोधनसहित संविधान जारी गरेको बताए । उनले संविधान निर्माणको विषयलाई लिएर आफूले दलहरु बीचको पटक–पटकको छलफल गरेको बताए । उनले दोस्रो संविधान सभा निर्वाचन अघि मोहन वैद्यहरुलाई धेरै पटक बेलाएर हात जोड्दै निर्वाचनमा सहभागी हुन आग्रह गरेको बताए ।

हिन्दुस्तानमा संविधान ल्याउँदा त्यहाका प्रधानमन्त्री जवाहरलाल नेहरुले राष्ट्रपति राजेन्द्रप्रसादलाई सोधेको तर तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्दा मलाई केही सुझाव नलिएकोमा गुनासो गरे । एमाले र कांग्रेस बीचको सात बुँदे समझदारी पछि समस्या सुरु भएको बताउँदै उनले भने,‘त्यस बेलादेखि तीन दलले मेरो कुरा सुन्नै छाडे ।’

यादवले त्यस बेला प्रधानमन्त्री कोइरालाले १० दिन रोकेर राष्ट्रिय आह्वान गरेरको अघि बढेको भए हालको समस्या नआउन सक्ने बताए । उनले भने, ‘मैले यसरी नाकाबन्दी हुन्छ भन्ने सोचेकै थिइँन ।’ उनले अहिलेको अवस्था राष्ट्रियता जोड्ने रहेको बताए । तराई र पहाड बीच हुन गएको खाडतलाई पुर्नु पर्ने उनको धारणा थियो । ‘मैले पुस्तकलाई ढोकेको छु । मेरो मनमा पीडा थियो । तर मैले समर्थन गर्दै नेपाली जनाको नासो जनता समक्ष राखे । त्यस बेला मधेस समस्या सकिएको थिएन । मैले केहि समय पर धकेलेर समस्याको समाधान गरेर संविधान निर्माण गर्न सल्लाह दिएको थिएँ । तर त्यसो गरिएन,’ उनले भने ।

उनले मुख्य राजनीतिक दल बीच अहिले पनि सहिष्णु भएर गए समस्याको समाधान हुने बताए । ‘समस्याको समाधान गर्न प्रधानमन्त्री, तीन ठूला राजनीतिक दल र मधेसी मोर्चालाई आग्रह गर्छु,’ उनले भने । उनले तीन पार्टी र मधेस मोर्चा संयम भएर मिलेर जानु पर्ने बताए । उनले मधेस समस्यालाई छिटो समाधान गरेर जानु पर्ने धारणा राखे । उनले आफू राष्ट्राध्यक्ष भएर राजनीतिक पार्टीलाई संयोजन गरेर काम गरेको बताए । उनले भने, ‘सबै राजनीतिक दल सत्तामा केन्द्रित भए ।

सरकार सहिष्णु हुनु पर्‍यो । मधेसी दलले पनि लोकतान्त्रिक पद्धतीमा आन्दोलन गर्नु पर्छ । मलाई भेट्ने आउने सबै कोही सल्लाह माग्न आएनन् । आफ्नो लाइन अनुसार यस्तो गर्दा ठिक हुन्छ भनेर सल्लाह दिन मात्र आए ।’ उनले आफूले राष्ट्रअध्यक्षको भूमिका निर्वाह गर्दा राष्ट्रको हितमा इमान्दार भएर काम गरेको उल्लेख गर्दै भने, ‘म कति इमान्दार भए, तपाईहरुले हेर्ने कुरा हो ।’ उनले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि आफूले जस्तै राजनीतिबाट माथि उठेर संयोजनकारी भूमिका निर्वाह गर्न सल्लाह दिए । कान्तिपुरमा समाचार छ । 

]]>