देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाओवादी धम्कीले कर्मचारी चुनाव स्थगित

देशान्तर

काठमाडौं । कार्यसमितिमा थ्रेसहोल्ड व्यवस्था नहटाई चुनाव गरे सत्तागठबन्धन नै छाड्ने एमाओवादी धम्कीपछि सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेडयुनियन चुनाव फेरि सारेको छ। निश्चित प्रतिशत मत नल्याए कार्यसमितिमा कोटा नपाउने थे्रसहोल्डका कारण पदाधिकारीमा आफ्नो उपस्थिति नै नहुने चुनावी समीकरण देखेपछि एमाओवादी युनियनले पार्टी शीर्षनेतामार्फत चुनाव सार्न दबाब दिँदै आएको थियो ।

मन्त्रिपरिषदको मंगलबार बैठकले वैशाख १० गते पूर्वघोषित चुनाव आगामी जेठ १३ मा गर्ने निर्णय लिएको हो । सरकारी उच्च अधिकारीका अनुसार आधिकारिक ट्रेडयुनियनको चुनाव पटक–पटक सार्नुमा ुथ्रेसहोल्डु नै प्रमुख कारण हो । यसपटक पनि थ्रेसहोल्डकै कारण आधिकारिक ट्रेडयुनियनको पदाधिकारीमा आफ्ना समर्थक एक सिट पनि ल्याउन नसक्ने अवस्था देखेपछि एमाओवादीले सार्न दबाब दिएको थियो ।‘ट्रेडयुनियनमा आफूहरुको कुनै हैसियत नहुने भएपछि एमाओवादी सम्बद्ध युनियनले चुनाव रोकी थ्रेसहोल्डको प्रावधान हटाउन एमाओवादी नेताहरुलाई प्रयोग गरेर सरकारलाई दबाब दिँदै आएका छन्,’ सरकारी ती अधिकारीले भने, ‘पार्टी समर्थक कर्मचारी दबाब थेग्न नसकेपछि सरकारमा रहेका एमाओवादी मन्त्री र अन्य केही नेताले यही हालतमा चुनाव गराए सरकार छाड्ने धम्कीसमेत दिए ।’

अध्यक्ष पुष्पकमल दाहालले समेत कर्मचारी चुनावका कारण आफूलाई अप्ठेरो परेको र मिलाएर मात्र चुनाव गराउन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएको ती अधिकारीले बताए । ‘एमाले सम्बद्ध कर्मचारी युनियन चुनाव गराउने पक्षमा र एमाओवादी रोक्ने पक्षमा देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकट परेको थियो,’ ती अधिकारीले भने, ‘सरकारै छाड्नेसम्म धम्की दिइएपछि चुनाव सारियो ।’ 

सरकारले अहिले ट्रेडयुनियन चुनावमा २० प्रतिशत थे्रसहोल्ड व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार २० प्रतिशत मत ल्याउन नसक्ने कर्मचारीका पार्टीगत युनियनले आधिकारिक ट्रेड युनियनमा एक सिट पनि पाउनेछैनन् । यो व्यवस्थाअनुसार चुनावमा अध्यक्ष, उपाध्यक्ष, सदस्य भनेर कुनै पनि कर्मचारी उठ्नुपर्दैन । संसदीय चुनावमा पार्टीलाई समानुपातिक भोट दिएजस्तै यो चुनावमा कर्मचारीका युनियन र संगठनलाई मत दिने हो । जुन युनियन वा संगठनले धेरै मत ल्याउँछ, उसले बढी सिट पाउने व्यवस्था यसमा छ ।

यही व्यवस्थाअनुसार चुनाव भए एमाओवादी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) ले २० प्रतिशत मत पनि ल्याउन सक्ने देखिँदैन । यही कारण एमाओवादी सम्बद्ध युनियनका कर्मचारी २० प्रतिशतको थ्रेसहोल्ड हटाएर मात्र चुनाव गराउने दौडमा छन् । नेपाली कांग्रेस सम्बद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) का अध्यक्ष सुबोधकुमार देवकोटाले पटकपटक निर्वाचन सार्दा निजामती कर्मचारीमा मानसिक तनाब पर्ने बताए ।

उनले वर्षैभरि चुनाव गर्ने हल्लाका कारण सेवाग्राहीलाई सेवा दिन कर्मचारीलाई असर परेको पनि सुनाए ।अहिलेसम्म निजामती कर्मचारीका सात वटा ट्रेड युनियन दर्ता भएका छन् । सरकारले निजामती कर्मचारीमा धेरै पार्टीगत ट्रेड युनियनका कारण सेवाभन्दा राजनीति बढी हाबी भन्दै आधिकारिक ट्रेड युनियन बनाउन खोजेको थियो । त्यसअनुसार वैशाख १० मा चुनाव गर्ने गरी सबै तयारी पूरा गरेको थियो । यसका लागि सरकारले ५ करोड रुपैयाँसमेत दिएको थियो । निर्वाचन अधिकृत गीताप्रसाद तिमल्सेनाले मंगलबार बेलुकीसम्म निर्वाचनको तयारीमा जुटेको जानकारी दिए। नागरिक दैनिकमा समाचार छ । 

]]>