देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भुकम्प पीडितको एक वर्ष : सरकारको आस छाप्रोको बास

देशान्तर

काठमाडौं । विनाशकारी भूकम्प गएको आज ठीक एक वर्ष पुगेको छ । गत वर्षको १२ वैशाखमा ११ बजेर ५६ मिनेट जाादा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७।८ रेक्टर स्केलको भूकम्पबाट आठ हजार आठ सय ८९ ले ज्यान गुमाए । २२ हजार तीन सय नौ घाइते भए । गृह मन्त्रालयका अनुसार भूकम्पबाट २५ लाख २३ हजार ६ सय ५६ पीडित बने । पाँच लाख ३६ हजार नौ सय ४८ घर पूर्ण रूपमा ध्वस्त बने । हजारौं सर्वसाधारण घरबारविहीन बने । उनीहरूको सडकको बास भयो । एक वर्ष बित्दा पनि ध्वस्त संरचना अझै बन्न सकेका छैनन् । यसबीचमा सरकार फेरियो, तर पीडितका समस्या ज्युँका त्युँ छन् । छाप्रोमुनि नै उनीहरूको बास छ ।

राहतमा बाँडियो पाँच अर्ब
भूकम्पपछि सरकारले राहतस्वरूप पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम बाँडिसकेको जनाएको छ । ६५ अर्ब बाँड्ने चरणमा छ । तर, भूकम्पपीडितका पीडा भने उस्तै छन् । यसबीचमा सरकारले पीडितलाई १५ र १० हजारका दरले राहत वितरण गरेको छ । मृतकका प्रतिपरिवारलाई ४० हजारका दरले किरिया खर्च दिएको छ ।

उपत्यकामा ७३ हजार तीन सय १७ घर ध्वस्त
भूकम्पबाट उपत्यकामा मात्रै ७३ हजार तीन सय १७ घर ध्वस्त बने । तीन लाख ४४ हजार पाँच सय ९० जना प्रभावित बने । उपत्यकामा अहिलेसम्म पुननिर्माणको काम सुरु नै भएको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीका अनुसार राहत दिने काम गरिए पनि पुनर्निर्माणको काम भने उपत्यकामा ठप्प छ । अहिलेसम्म लागत संकलनको कामसमेत हुन सकेको छैन । ‘उपत्यका भूकम्पबाट निकै प्रभावित बन्यो । धेरैले ज्यान गुमाए । धेरै बेघरबार बने । उनीहरूलाई राहत दिने काम भयो । तर, पुनर्निर्माणको काम ठप्प बन्यो,’ उनले भने ।

आठ जिल्लामा अनुदान वितरण
प्राधिकरणले आठ जिल्लाका आठ स्थानबाट अनुदान सम्झौता सुरु गरेको छ । सिन्धुलीको झाँगाझोलीमा एक हजार एक ७८ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । त्यस्तै, काभ्रेको रविओपीमा नौ सय ७०, नुवाकोटको खरानीटारमा चार सय आठ, रामेछापको ओख्रेनीमा सात सय ५९, ओखलढुंगा रुम्जाटारमा ४७, रसुवा ब्रिदिममा एक सय एक सय ९३, धादिङ मार्पाकमा एक हजार तीन र गोर्खाको हंशपुरमा नौ सय ४४ सेवाग्राहीले अनुदान सम्झौता गरेका छन् ।

अनुदान सम्झौता गर्न जाँदा सर्वेक्षणको निस्सा, लालपुर्जा र नागरिकताको प्रमाण आवश्यक पर्नेछ । सम्बन्धित जिल्ला विकास समिति र बैंकका बीच अनुदान सम्झौताअनुरूप लाभग्राहीको खातामा पहिलो किस्ता रकम जम्मा गर्ने सम्झौता सम्पन्न भएपछि रकम भुक्तानीको क्रम सुरु हुनेछ ।

नौ महिनापछि बन्यो पुनर्निर्माण प्राधिकरण
भूकम्प गएको नौ महिनापछि मात्रै सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्‍यो । प्राधिकरणले कार्यविधि सार्वजनिक गर्दै १२ वैशाखसम्ममा पीडितको लागत संकलन गरिसक्ने र अनुदान रकम वितरण सुरु गर्ने भनेको थियो । कार्यविधिअनुसार काम भएको भन्दै प्राधिकरण त्यसैमा मख्ख छ । पुनर्निर्माणको काम प्रभावकारी ढंगले अघि नबढेकोमा उसले खासै चिन्ता देखाएको छैन ।

राहत कोषमा पाँच अर्ब
प्रधामन्त्री राहत कोषमा पाँच अर्ब १६ करोड ८५ लाख ३६ हजार जम्मा भएको छ । निजी, सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाले सहयोग गरेका छन् । उक्त रकमबाट गृहले पाँच अर्ब ५३ करोड १५ रुपैयाँ राहतका लागि निकासा गरेको छ ।

जो उद्धारमा खटिए
भूकम्पपीडितको उद्धारका लागि मुलुकभर एक लाख ९७ हजार सात सय ६५ उद्धारकर्मी परिचालित भएका थिए । अन्य ३४ मुलुकका चार हजार पाँच सय २१ सैनिक पनि उद्धारमा खटिए । यसक्रममा १६ जनाको जीवित उद्धार र एक सय ७८ मृतकको उत्खनन गरियो ।

– आजको नयाँ पत्रिका दैनिकबाट

]]>