श्रीआचार्य
जहाँ, जाँचमा चिट चोर्नु विद्यार्थी आफ्नो हक ठान्छन् र अभिभावक समर्थनमा जुलुस निकाल्छन् । चुनावमा मत किन्नु, बुथ क्याप्चर गर्नु– जसरी भए पनि जित हासिल गर्नुलाई नेता र कार्यकर्ता आफ्नो अधिकार ठान्छन् र जनता अर्काको नाममा भोट हाल्न पाउँदा आफूलाई गौरवशाली ठान्छ । उद्यमी व्यापारी कर छल्नमा रमाउँछन् र कर्मचारीहरू कर बुझाउन जाने इमानदारसँग घूस लिनु आफ्नो कर्तव्य मान्छन् । शिक्षक क्लास नलिई तलब लिन पाए खुसी हुन्छ– भने, त्यहाँको शिक्षा, राजनीति, व्यापार, राज्य–प्रशासन, न्याय आदि इत्यादि क्षेत्रमात्र होइन जनता स्वयं भ्रष्ट र स्वार्थी छ भन्ने बुझ्नुपर्छ– त्यो जुनसुकै पेसा र व्यवसायको होस् । हो, मैले बल्ल बुझें, हिरोशीले त्यतिबेला नै सही भनेको रहेछ । हामीमा कमनसेन्स् छैन । त्यसैले हामीले केही गर्न सकेनौं । जताततै बेथिति छ ।
हिरोशी अर्थात् मेरो यौटा जापानी साथी । ऊ विक्रम सम्वबत् ३० को अन्तिम दशकतिर मिलेको थियो । पूरा नाम हिरोशी काइदा । नाम जस्तै मान्छे पनि काइदाकै थियो । कसैलाई नबिझाउने तर कसैले पनि सामान्य–सार्वजनिक गल्ती गरेको वा नियम मिचेको देखेपछि असाध्यै रिसाउने । रिसाएपछि भन्थ्यो–‘कस्तो मान्छे ! कमनसेन्स् छैन !!’ म भन्थें, आ छोड त्यस्ता अरूका कुरा । अरूले के के गर्छन् के के । खुरुखरु आफ्नो काम मिलाउने, सक्ने र जाने हो । यस्तोमा केही बोल्नु वा हस्तक्ष्ोप गर्नु भनेको आफ्नै काम बिगार्नु वा अनाहक अप्ठेरोमा फस्नु हो ।’ तर अहँ, गर्न केही नसके पनि भन्न ऊ छोड्दैनथ्यो । ‘नो.. नो.. हुन्न हुन्न, त्यस्तो गर्न हुन्न । नराम्रो बानी । कमनसेन्स्को कुरा हो, त्यो । त्यो मान्छेलाई त्यत्ति पनि थाहा छैन । त्यो नराम्रो मान्छे ।’ रिस नमरुन्जेल यस्तै यस्तै के के भनिरहन्थ्यो । पसलमा साग लिन पनि लाइनमा बस्ने, भेटेसम्म फुटपाथमा हिँड्ने–सडकमा नओर्लने, जथाभावी फोहोर नफाल्ने, पिच्च नथुक्ने, बाटो काट्न जेब्राक्रसिङ खोज्दै हिँड्ने । उसको बानी यस्तै थियो । बसमा कसैले चुरोट खाएको देख्यो भने त साह्रै रिसाउँथ्यो । यद्यपि ऊ चुरोटको अम्बली थियो । तर मैले सार्वजनिक ठाउँमा उसले चुरोट खाएको कहिल्यै देखिनँ । हिँड्द हिँड्दै चुरोटको तलतल लागेपछि ऊ रेस्टुरामा छिर्ने प्रस्ताव राख्थ्यो । ठूलोलाई सम्मान गथ्र्यो र सानालाई माया । बत्तीसपुतली–ठमेल आतेजातेमा ट्याक्सीमा कति लाग्छ, उसलाई थाहा थियो । थाहा पाएर के गर्नु, ऊ सधंै ठगिएको हुन्थ्यो । कैयौं पटक प्रहरीलाई उसले गुनासो नगरेको हैन तर उपचार पाउँदैनथियो । मसँग आएर रिस पोख्थ्यो । म सामान्यीकरण गरिदिन्थें । किनकि ऊ मेरो विद्यार्थी थियो । उसलाई म नेपाली सिकाउथें ।
हिरोशी इतिहासको सामान्य विद्यार्थी हो । नेपालको राणाकालबारे शोधकार्यको निम्ति यहाँ आएको थियो । तर पत्रकारितामा निकै रुचि राख्थ्यो । ऊ खोजमूलक पत्रकारिताको पनि कुरा गथ्र्यो । आफू पत्रकारितामा प्रवेश गरेकोे तेस्रो वर्ष । अर्थात् भर्खरको सिकारु । बहुदलका नेताका भाषणलाई मात्र समाचार मानिन्थ्यो । तर त्यो थियो पञ्चायतकाल । ‘सुधारिएका’ पञ्चहरूले बहुदलीय प्रजातन्त्रवादीहरूलाई ‘अत’ भन्न छोडेका थिएनन् । ‘प्र’ अघि लेखेर मात्र पार्टीको नाम समाचारमा लेख्न पाइन्थ्यो । गाउँमा एउटा प्रधानपञ्चले गरेको अन्याय र शोषणको समाचार छाप्न सम्पादकहरू मुस्किलले हिम्मत गर्थे– कतै उसको सम्पर्क दरबारसम्म नहोस् र दुःख पाइयोस् । भने, यस्तोमा के को खोजी पत्रकारिता ? हिरोशी र यो खोजी पत्रकरिताको कुरा, प्रसंग परे कुनै दिन गरम्ला । आज उसले भन्ने गरेको कमनसेन्स्को कुरा ।
एक दिन उसले यो सारा बेथितिको निचोड टुटेफुटेको नेपालीमा यसरी सुनायो– ‘आचार्य, अहँ, नेपाल बन्दैन । यहाँ धेरै नराम्रो मान्छेहरू छ । पब्लिकमा कमनसेन्स् छैन । आफूले गर्न सक्ने र गर्नै पर्ने सामान्य कर्र्तव्य र नियमको पालना पनि नेपालीहरू गर्दैनन् । आफ्नो लागि यहाँको मान्छे जे पनि गर्छ । त्यसैले यहाँ प्रशासन, प्रहरी– कसैले जनतालाई सहयोग गर्दैन । नेता त झन् त्यही जनताको प्रतिनिधि हँु भन्छ, किन सहयोग गथ्र्यो । तिनले पनि शासन नै गर्छन् । सहयोग गर्दैनन् । त्यसैले यो देश बन्दैन । यहाँ राम्रो हुँदैन । सबै मान्छे गुनासो मात्र गर्छ । काम गर्दैन ।’ म उसका कुरामा त्यति ध्यान दिन्नथें । लाग्थ्यो सबैले आ–आफ्नो काम नै त गरिरहेका छन् ।
अचानक केही महिनापछि हिरोशीले एकदिन मसँग भन्यो— ‘नेपाली काइदा जति जान्यो त्यति आपूmलाई फाइदा । कासो आचार्य ? अरूलाई जेसुकै होस् । अब म पनि पसलमा लाइनमा बस्दैन, जेब्राक्रसिङ खोज्दैन ।’ मलाई लाग्यो, यसले पनि नेपाली सत्य स्वीकार ग¥यो ।
एकदिन हामी बत्तीसपुतलीको सडक छेउ हिँडिरहेका थियौं । उसले खल्तीबाट सेभेन स्टार (माइल्ड) चुरोट झिक्यो, सल्कायो र खाली बट्टा सडकमा फुत्त फाल्यो । चुरोट पूरै खाएन । दुइ–चार सर्को तानेर त्यो पनि सडकमै फालिदियो र मतिर मक्ख भएर हे¥यो । मैले असामान्य मानिनँ । सायद ऊ त्यही गर्ने तयारीका साथ आज घरबाट निस्केको थियो । यो अनुमान किनभने, घर बाहिर निस्कँदा ऊ एक–दुईवोटा मात्र चुरोट भएको बट्टा कहिल्यै लिँदैनथियो । भरिभराउ बट्टा लिन्थ्यो । साँझसम्म सँगै डुलियो । त्यसपछि भने उसले दिनभर त्यस्तो हरकत केही गरेन । पढाउन, सदा झैं भोलिपल्ट बिहान म उसकोमा पुग्दा ऊ केही दुःखी जस्तो देखियो । सिक्ने रुचि देखाएन । मैले सोधें, के भयो हिरोशी ? किन, डिस्टर्ब छौ नि ?
‘हिजो नराम्रो कम ग¥यो मैले । रातभर निदाएन म । नो, अब गर्दैन म । कमनसेन्स्को कुरा हो त्यो । तपाईंहरू जे सुकै गर्नुस् । म त्यस्तो गर्दैन’– हिरोशीले प्रायश्चित्त र प्रतीज्ञा दुवै ग¥यो । सायद, सबै जापानीहरू आफ्नो देशमा त्यस्तै गर्छन् । सामान्य नियम र शिष्टाचारका कुरा उनीहरू कहीँ कतै भुल्दैनन् । जनता शिष्ट, सभ्य र न्यायपरायण भए प्रहरी, प्रशासनले जनतालाई हेप्दैन, सहयोग गर्छ । नेताले शासन गर्दैैनन् । जनतालाई सघाउँछन् । अनि देश बन्छ । जापान त्यसरी तलैबाट जनताको साथ र सहयोगमा बनेको मुलुक हो । नत्र यस्तै हामी जस्तै हुन्थ्यो । हामी तलबाटै गिरेका छौं, अत्यन्त स्वार्थी छौं । आफ्नो सजिलोको लगि जे पनि गर्छौं । परिणाम, हिरोशीले तीन दशकअघि जे निचोड सुनाएको थियो, आज त्यही भोगिरहेछौं । किनभने, हामीमा उसले भनेको कमनसेन्स् छैन । हो पनि, देख्दा अचम्म लाग्छ, देशमा सामान्य र अत्यन्त मसिना काम पनि भएका हुँदैनन् । जबकि यस्ता काम गर्न कसैले पनि केही विशेष योगदान गर्नु पर्दैन । नागरिकले आफूले थाहा पाएको नियम–कानुन पालना गरिदिए र राज्य र राज्यको तर्फबाट जिम्मेवारी लिएर बसेका व्यक्तिका तर्फबाट नागरिकलाई त्यसमा सहयोग भए पुग्छ । यस्तो किन हुन सक्दैन, भइरहेको छैन । किनभने, हामी मित्र हिरोशी काइदाले भने जस्तै समान्य कर्तव्य र नियम पालना पनि गर्दैनम् । हामी जनता आफैं स्वार्थी र भ्रष्ट छौं । हामीमा कमन्सेन्स् छैन ।’
‘त्यसैले त यहाँँ, जाँचमा चिट चोर्नु विद्यार्थी आफ्नो हक ठान्छन् र अभिभावक समर्थनमा जुलुस निकाल्छन् । चुनावमा मत किन्नु, बुथ क्याप्चर गर्नु– जसरी भए पनि जित हासिल गर्नुलाई नेता र कार्यकर्ता आफ्नो अधिकार ठान्छन् र जनता अर्काको नाममा भोट हाल्न पाउँदा आफूलाई गौरवशाली ठान्छ । भने, भो साग किन्न लाइनमा बस्ने वा बाटो काट्न जेब्राक्रसिङमा कुर्ने कुरा चंै धेरै नगरम्, पच्दैन । त्यो हिरोशीहरूले मात्र गर्न सक्छन् र जापान बन्छ । हो, नेपाल चै यसरी चल्छ… ।
]]>
प्रतिक्रिया