देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भुकम्प पीडितलाई अनुदानको रकम वितरण गर्ने बैंक तोकियो

देशान्तर

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान सम्झौता भएका आठ जिल्लाका आठवटा गाविसमा अनुदानको रकम वितरण गर्न बैंक तोकेको छ ।

गोरखाको हंसपुर, रामेछापको ओख्रेनी, सिन्धुलीको झाँगाझोली, नुवाकोटको खरानीटार र ओखलढुङ्गाको रुम्जाटार गाविसका लागि राष्ट्रिय वाणिज्य बैंक, धादिङको मार्पाक गाविसका लागि राष्ट्रिय वाणिज्य बैंक वा कृषि विकास बैंक, काभ्रेपलाञ्चोकको रविओपी गाविसका लागि नेपाल बैंक लिमिटेड वा राष्ट्रिय वाणिज्य बैंक तथा  रसुवाको ब्रिदिम गाविसका लागि नेपाल बैंक लिमिटेडबाट अनुदानको किस्ता पाउने गरी तोकिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

तोकिएका बैंकबाट पहिलो, दोस्रो र तेस्रो किस्ता दिने व्यवस्था मिलाउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय कार्यान्वयन एकाइलाई अनुरोध गरिएको छ । प्राधिकरणले तोकिएका बैंक र सम्बन्धित जिविसलाई सम्झौता गर्न लगाई सम्झौता गरिसकेका परिवारलाई प्रथम किस्ताको रकम उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको छ ।

“प्रथम किस्ताको रकम निकासा भइसकेको छ” थपलियाले भने । जिविसले तोकेका बैंकसँग आवश्यक सम्झौता गरी अनुदान रकम उपलब्ध गराउने छन् । सम्झौता हुन बाँकी गाविसको बैंकिङ सेवाबारे पछि जानकारी गराइने प्राधिकरणले जनाएको छ ।  प्राधिकरणले पुनःनिर्माणमा सहयोग गर्न चाहने गैरसरकारी संस्थालाई २०७२ साल चैत २९ गतेको निर्देशक समितिको बैठकले जारी गरेको कार्यविधिअनुसार स्वीकृति लिएरमात्र काम गर्न अनुरोध गरेकोे छ ।

लम्जुङको राइनोसकोटलगायत स्थानमा निजी आवास निर्माणको काममा बिनाजानकारी सङ्घसंस्था संलग्न भएको सूचना प्राप्त भएको प्राधिकरणले जनाएको छ । कार्यविधिअनुसार भूकम्पबाट प्रभावित ३१ वटै जिल्लामा प्राधिकरणको स्वीकृत लिएरमात्र पुनःनिर्माण र पुनःस्थापनाका कार्य अघि बढाउन गृहमन्त्रालयमार्र्फत सबै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको प्रवक्ता थपलियाले बताए ।

 

]]>