देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाकाबन्दी खुलेको अनुभव भएन जलविद्युत् आयोजनालाई

देशान्तर

काठमाडौँ । सरकारले पूर्णरुपमा जलविद्युत् आयोजनालाई इन्धन उपलब्ध गराउने बताएपनि मागअनुसार इन्धन उपलब्ध नभएपछि सहजरुपमा काम अगाडि बढ्न सकेको छैन । 

भारतको अघोषित नाकाबन्दी खुलेको एक महिना भएपनि जलविद्युत् आयोजनाले मागअनुसार इन्धन प्राप्त गर्न सकेका छैनन् । ऊर्जा मन्त्रालयले आपूर्ति मन्त्रालयलाई इन्धन उपलब्ध गराइदिन गरेको आग्रहअनुसार नेपाल आयल निगमको थानकोट डिपोले कूल मागको ५० प्रतिशत मात्रै इन्धन उपलब्ध गराउँदा निर्माणकार्य प्रभावकारी हुन सकेको छैन । 

रसुवामा आयोजनास्थल रहेका साञ्जेन, माथिल्लो सान्जेन, रसुवागढी जलविद्युत् आयोजनाले मागअनुसार इन्धन प्राप्त गर्न नसक्दा सोचेअनुसार निर्माणमा प्रगति हुन सकेको छैन । सरकारले सान्जेन र माथिल्लो सान्जेनलाई सातामा १२ हजार लिटर इन्धन उपलब्ध गराउने बताएपनि आयोजनाले लामो प्रतिक्षापछि मात्रै उक्त परिमाणमा इन्धन पाउने गरेका छन् । पूर्णरुपमा काम गर्ने हो भने प्राप्त भएको इन्धनले तीनदेखि चारदिन मात्रै पुग्ने अवस्था छ । 

नाकाबन्दीका कारण भन्सारमा रोकिएका सिमेन्ट, रडलगायतका सामग्री अझै सहजरुपमा आयोजनास्थल पुग्न सकेका छैनन् । प्राप्त भएको इन्धन सुरुङ निर्माण तथा अन्य भौतिक निर्माणको काममा प्रयोग भएको आयोजनाका अधिकारीहरुले जानकारी दिएका छन् ।  भूकम्पपछि गत असार १९ गतेबाट निर्माण सुरु भएको माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजनाको काम गत असोज २६ गतेदेखि ठप्प भएको थियो । 

सान्जेनका दुई वटा आयोजना निर्माणको क्रममा रहेका छन् । माथिल्लो सान्जेनको क्षमता १८.८ मेगावाट रहेको छ भने सान्जेनको क्षमता ४२.५ मेगावाट रहेको छ । विसं २०७४ को साउन भदौसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ती दुई आयोजना भूकम्प र इन्धन अभावका कारण एक वर्ष पछाडि धकेलिएको आयोजनाका अधिकारीहरुले बताएका छन् ।  

तीमध्ये माथिल्लो सान्जेन तुदी निर्माण कम्पनी र भारतीय निर्माण कम्पनीको संयुक्त उपक्रम तथा सान्जेन बज्रगुरु निर्माण कम्पनी र भारतीय उपक्रमले निर्माण गरिरहेको छ । दुई आयोजनाको कुल लागत रु सात अर्ब २४ करोड रहेको छ । इन्धन अभाव र भूकम्पका कारण लागतसमेत बढ्ने देखिएको छ । तर कति लागत बढ्छ भन्नेमा अहिल्यै यकिन भने भईनसकेको सम्बन्धितहरुको भनाईरहेको छ ।

रसुवाको चिलिमे गाविसमा निर्माणाधीन ती दुई आयोजनामा चिलिमे जलविद्युत् आयोजनाले निर्माण गरिरहेको छ । हाल आयोजनाको काम लगभग पचास प्रतिशत सम्पन्न भएको छ । दुई आयोजनाको गरी कुल ५७।३ मेगावाट विद्युत् उत्पादन हुनेछ । 

यस्तै चिलिमे जलविद्युत् कम्पनीले नै निर्माण गरिरहेको अर्को महत्वपूर्ण आयोजना रसुवागढीको काम भूकम्पपछि ठप्प छ । कुल १११ मेगावाट क्षमताको सो आयोजना रसुवाको थुमन र टिमुरे गाविसमा पर्छ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा नै निर्माण गरिएको सो आयोजनाको सबै संरचना भूमिगत रहेको छ । रसुवागढी छेउको तिब्बततर्फबाट प्रवाह हुने भोटेकोशी नदीमा बाँध बाँधी चार हजार २०० मिटर लामो हेडरेस सुरुङ र ३१३ मिटर लामो पेनस्टक पाइपको सहायताले तातोपानी भिरभित्र विद्युत् उत्पादन गरिनेछ । भूकम्पअघि सो आयोजनाको करिब तीन हजार मिटर सुरुङ निर्माण भइसकेको थियो । 

आयोजनाका प्रबन्ध सञ्चालक माधवप्रसाद कोइरालाले सातामा १२ हजार लिटर इन्धन पाउने भनिएपनि छ हजार लिटर मात्रै प्राप्त हुने गरेकाले हाल भूकम्पले ध्वस्त पारेको आवास, पहुँचमार्ग निर्माणको काम भइरहेको जानकारी दिनुभयो । यस्तै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम पनि इन्धन अभावकै कारण सोचेजति प्रगति हुनसकेको छैन । 

]]>