श्रीआचार्य
लौ जा, शीर्षक त गलत पो लेखिएको छ । पौडेल र देउवालाई साथै राखेर तुलना गर्नु वा रोजारोज गर्नु सोह्रै आना गलत हो । तर माफ गर्नुु्स्, त्यो गलत भए पनि कांग्रेसभित्रको यतिखेर वा आजको दिनको वास्तविकता यही हो । अत: म र्शीर्षक परिवतर्न गर्दिनँ, सच्याउन्न । किनभने, तपाईं कांग्रेसका प्रतिनिधिहरूसँग यी दुईबाहेक यतिबेला अर्को विकल्प छैन । रामचन्द्र कि शेरबहादुर– यी दुईमध्ये यौटालाई रोज्नै पर्छ । रोज्दै हुनुहुन्छ पनि । विकल्पमा देखिन खोजेका कृष्णप्रसाद सिटौला कैंचीमात्र हुन् । आजका दिनसम्म, नेपाली कांग्रेसको सभापति बन्ने– यिनको त्यो हैसियत छैन । भोलि–भविष्य कस्को थाहा हुन्छ र । उसै पनि, अन्तर–पार्टी चुनावमा कुनै पनि पदमा उम्मेदवार बन्न टिकट चाहिन्न र उठ्दा कारबाहीमा पनि परिन्न । आफ्नो हैसियत आफैंले थाहा नपाएको भए चुनावमा उठेर परीक्षण गर्दा हुन्छ, थाहा लाग्छ । चुनाव लड्नु अपराध होइन । त्यस्तो आकांक्षा पाल्न पाइन्छ । यसअघि पनि कांग्रेसमा यसरी चुनाव नलडिएको हैन । लडेर चुनावबाट आफ्नो हैसियत थाहा पाएर बस्नेहरूको इतिहास सानेपामा सुरक्षितै छ । तथापि, सिटौलाको बारेमा कुरा के छ भने, उनले कति मत आफ्नो पक्षमा वा समर्थनमा ल्याउँलान्– यो भनिएको वा मानिएको छैन । उनले रामचन्द्रको कति मत कैंची लगाउँलान्– यो भनिँदो छ । अर्थात् सिटौलाले पाउने मत उनको समर्थनको मत नभएर पौडेलसँग व्यक्तिगत रूपमा रिसाएका र देउवाको तान्त्रिक पार्टीमा जान नसकेका वा नचाहनेहरूको मत हुनेछ । यो किन मानिएको भने, हिजोको दिनसम्म सिटौला र रामचन्द्र साथसाथै संस्थापनमा थिए । मिलेर काम गरेका थिए । तिनको एउटै उद्देश्य थियो । गन्तव्य र अभीष्ट पनि उही थियो । पार्टी नै फुटाएर आफ्नो स्वार्थ पूरा गर्ने देउवसँग दुवै मिल्दैनथे । अब बिना हेतु आफ्नै तर्फबाट चुनावमा दुईजना उठेपछि स्वाभाविक हो, सानोले ठूलोवालाको मत काट्छ र अर्को पक्षलाई सजिलो हुने अवस्था सिर्जना हुन्छ । सिटौलाबाट त्यही भयो । अब परिणाम जे आउला सो आउला, ज्योतिषी भएर बक्न सकिन्न । आफ्नो पक्षको राम्रो अपेक्षा गर्न कसैले रोक्न सक्दैन । जति गर्दा पनि हुन्छ, गर्नुुस् ।
कुरा रामचन्द्र र शेरबहादुर देउवाको छ । आजकै दिनमा हुने मतदानबाट कांग्रेसको भोलिको नेता यिनै दुईमध्ये एक छानिने हुन् । पक्का हो, यसमा कुनै सन्देह छैन । दुवैजना आफ्नो जमानाका खाँटी ख्यातनामा नेता हुन् । कुनै जमाना थियो, कांग्रेसका युवा नेताको नाम लिँदा आरएसएस भनिन्थ्यो । अर्थात् रामचन्द्र, शेरबहादुर, शैलजा । गणेशमान, कृष्णप्रसाद र, गिरिजाप्रसाद– यी तीन नेतापछि एकैचोटि रामचन्द्र, शेरबहादुर, शैलजाको नाम आउँथ्यो । उमेरले पाको भए पनि सुशील कोइरालाको नाम न माथिको तीन नेतासँगै आउँथ्यो न त पछिका यी तीन युवा नेतासँगै । उहाँ आफ्नै ठाउँमा आफ्नै ढंगले एक्लै जम्नुभयो । प्रजातन्त्र र कांग्रेस पार्टीप्रति उहाँको निष्ठा र कर्तव्य सधंै उँचो र सम्मानित रह्यो । तर पनि कोइराला हुनुको फइदा र बेफाइदा दुइटै स्वीर्कानु भयो र एउटा सफल इतिहास बनाएर जानुभयो ।
आरएसएसबीच भने मित्रता प्रतिस्पर्धा दुवै थियो । छोटकरीमा आरएसएस भनिए पनि पूरा नामभन्दा पहिलो नाम शैलजा र त्यसपछि शेरबहादुर अनि रामचन्द्रको लिइन्थ्यो । जनताको नजरमा शैलजा आचार्य अत्यन्तै सम्मानित हुनुहुन्थ्यो । कार्यकर्ता उहाँको नाम गर्वका साथ लिन्छन् । पार्टीभित्र होस् या सरकारमा रहेर काम गर्दा– उहाँमाथि औंला ठड्याउने मौका उहाँले कहिल्यै कसैलाई दिनुभएन । जीवनपर्यन्त सधंैं निर्विवाद र बेदाग रहनुभयो । त्यसरी नै बित्नुभयो । प्रजातन्त्र स्थापनाको लडाइँमा आफ्नो ठाउँबाट यी तिनैले पाएको जिम्मेवारी पूरा गरेका हुन् । दु:ख यातना पनि पाएका हुन् । व्यक्तित्व त्यसैले बनेको हो । यो बेग्लै हो कि– त्यसरी नै काम पनि गरेका र दु:ख पाएका सबैको व्यक्तित्व त्यस्तै बन्दैन र सबै नेतृत्वमा पनि पुग्दैनन् । मौका केहीलाई मात्र मिल्छ ।
पछि थाहा भयो, शैलजा आचार्यजस्तो शेरबहादुर र रामचन्द्र एकैकोटीका होइन रहेछन् । अब शैलजा, शेरबहादुर, रामचन्द्र– यी तीन नामसँगै राखेर तुलना गर्न हुँदैन । कहाँ शैलजा, कहाँ देउवा र पौडेल । तुलना गर्नु शैलजामाथि अन्याय हुन्छ । सत्तामा पुगेपछि यी दुई बेदाग रहन सकेनन् । असली चरित्र र नियत देखियो । एउटा अत्यन्तै स्वार्थी र अर्को संकुचित भए, देखिए । जे भए पनि नेताहरूले विश्वास गरेका यी युवा नेता उतिबेला प्रजातान्त्रमा विश्वास गर्ने विद्यार्थी– सबैका आस्था र प्रेरणाको स्रोत थिए, उदाहरणीय थिए । यिनको प्रजातन्त्रप्रति निष्ठा, पार्टीप्रति वफादारिता र क्रियाशीलतामा रत्ति शंका थिएन । शैलजापछि यी दुवै बरोबर थिए । पछि देउवाले सत्तास्वार्थले अन्धो भएर बाटो बदले । प्रजातन्त्रप्रतिको उनको निष्ठा र पुरानो त्याग सब धूलिसात् भयो । भएको मान्नैपर्छ । जनताले उनलाई बव विश्वास गर्देैन । उनी पार्टी नै फोरेर बाहिरिएका हुन् । पार्टी र पार्टीका नेताभन्दा उनलाई राजा नजिक र विश्वासिलो लाग्यो । उनको कदमले प्रजातन्त्र फेरि गुम्यो । कांग्रेस र जनता सबैले दु:ख पाए । रामचन्द्र संकुचित र सानो चित्तका भए पनि उनी आजका दिनसम्म प्रजातन्त्रप्रतिको आफ्नो निष्ठा र त्याग बचाएर राख्न सफल छन् । उनका कारण प्रजातन्त्र संकटमा परेको छैन र पार्टीघात पनि उनले गरेका छैनन् । उनको त्यो खुबी नै कांग्रेसको समग्र पुँजी हो । अर्थात् त्यसरी कुनै पनि लोभ लालसमा स्वार्थमा नपरी पार्टीको सिद्धान्त, आदर्श, मूल्य र मान्यतालाई आत्मसात् गरी सधैंभर जनताको विश्वास जोगाएर राख्ने लाखौं कार्यकर्ता हुन् कांग्रेसको साख । ती देशभर छन् । सबै प्रतिनिधि भएर आएका छैनन् । त्यस्ता निष्ठावान्हरू– अझ धेरै त समर्थकमात्रै छन् । तिनको साख र पुँजीलाई जोगाउन सक्नुपर्छ– अहिले प्रतिनिधि चुनिएर नेता चुन्न काठमाडौं आएकाहरूले । व्यक्तिगत गुण, अवगुण हरेक मान्छेको हुन्छ । हेर्ने, मान्छेको अवगुणले समाज, राष्ट्र, संस्था, पार्टीमा के कति खराब असर पार्यो वा पार्छ त्यो हो । रामचन्द्रको अवगुण– संकुचित मानसिकतामा काम गर्ने र परिवार–नातागोताभित्रै हराउने अत्यन्त छोटो प्रवृत्ति हो भने देउवाको अवगुण– सत्ता र पदको मोहमा पार्टी नै फुटाएर अर्कैसँग नजिकिन पुग्ने अनि नसकेपछि फेरि फर्केर आफ्नै स्वार्थपूर्ति गर्न घरभित्र मरिमेटी जे पनि गर्ने देउवाको प्रवृत्ति हो । देउवा, जिते भने पार्टी बोकेर कता के बुझाउन र लिन पुग्छन् थाहा छैन, तर पौडेल हारे भने पनि जहीँको तहीँ संस्थापक कांग्रेसमै रही रहन्छन्– यो पक्का हो । अत: यी दुई प्रवृत्तिबीच तुलना हुन सक्दैन । तुलना गर्नु वा सँगै राखेर रोजारोज गर्नु पौडेलमाथि अन्याय हुन्छ । त्यसैले माथिको शीर्षक गलत पर्यो भनेको हो । तर वास्तविकता यो छ कि: त्यस्तो अन्याय गर्न स्वयं कांग्रेसका प्रतिनिधि र दागी नेताहरू लाग्दछन् र त्यस्तो कपटपूर्ण खेलमा केही सम्मानित सादगीहरूसमेत निहुरिएको देख्नु पर्दछ भने थप भन्नु केही बाँकी रहन्न । दक्षिणको साथ पनि त्यतै देखियो । अब त हामी जनताले हेर्ने र मौका कुरेर बस्नेमात्र हो । ख्याल रहोस्, इतिहासमा लेखिएको र जनताको मनमा दबेको कालो धब्बा यस्ता अधिवेशनको सयौं जयले पनि मेट्न सक्तैन । भोट हाल्दै हुनुहुन्छ भने, अब आफैं विचार गर्नुस्, रामचन्द्र कि …. ।
]]>
प्रतिक्रिया