देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटौलाले घात नगर्ने संस्थापनको विश्वास

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कार्यवाहक सभापति रामचन्द्र पौडेलले संस्थापन पक्षबाट पार्टी कार्यालय सानेपामा उम्मेदवारी घोषणा गर्नु केही समयअघि महामन्त्री कृष्ण सिटौलाले पनि प्यानलसहित सभापतिमा उम्मेदवारी घोषणा गरे । यसले संस्थापन पक्षमा तरङ फैलियो । त्यसो त महामन्त्री सिटौलाले केही समयअघिदेखि नै सभापतिमा उठ्ने जनाउँदै आएका थिए । तर महामन्त्रीमा युवा नेता गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको भने महामन्त्री सिटौलाको समूहमा उठ्ने नउठ्ने टुंगो थिएन । यद्यपि संस्थापन पक्षबाट प्रतिनिधित्व गर्ने सिटौलाले अन्तिम अवस्थामा उम्मेदवारी नदिने धेरैको अनुमान थियो । तर अनुमान विपरीत उनले प्यानलै बनाएर उम्मेदवारी घोषणा गरेपछि एक प्रकारको तरङ पैदा भएको छ । उनको उम्मेदवारीलाई लिएर धेरै कोणबाट विश्लेषण भइरहेको छ । आफ्नै समूह संस्थापनलाई नै घाटा पुर्‍याउने गरी महामन्त्री सिटौलाले किन उम्मेदवारी दिए, धेरैको मनमा प्रश्न उब्जिरहेको छ । यसको चित्तबुझ्दो जवाफ सिटौलाले दिन सकेका छैनन् ।

पछिल्लो समय वरिष्ठ नेता शेरबहादुर देउवासँग निकटता बढाएका उनलाई महामन्त्री बनाउँदा देउवाले सघाएको गुन तिर्न उठेको भन्नेहरू छन् । यसो भन्नेहरू संस्थापनका सभापतिका उम्मेदवार कार्यवाहक सभापति रामचन्द्र पौडेलको मत तानेर देउवालाई मद्दत पुर्‍याउन सिटौलाले उम्मेदवारी दिएको तर्क गर्छन् । त्यसो त दक्षिणतिर हिमचिम भएकोले त्यतैतिरको संकेत पाएर सिटौला उठेको भन्ने हल्ला पनि बजारमा निकै चलेको छ । त्यस्तै आगामी १४ औं महाधिवेशनमा आफ्नो पकड र पहिचान स्थापित गर्न महामन्त्री सिटौलाले सभापतिमा अहिले नै उठ्ने हठ गरेको भन्नेहरू पनि छन् । यथार्थ जे भए पनि सिटौला जित्ने आत्मविश्वासका साथ उठेका होइनन् भन्ने अधिकांशको मत रहेको छ । यसैगरी उनी कुनै पनि हालतमा संस्थापन समूहलाई घाटा पार्न चाहँदैनन्, अन्त्यसम्ममा कुनै न कुनै प्रकारले संस्थापनलाई सहयोग गर्ने अझै पनि धेरैको विश्वास छ । उम्मेदवारी घोषणा गर्नुअघि संस्थापन पक्षबाट एकै उम्मेदवार बनाउन संस्थापनका नेता कार्यकर्ताले निकै दबाब दिएका थिए । कोइराला परिवारबाट हुने उम्मेदवारीलाई समेत फिर्ता गरेर निर्वाचित महामन्त्रीमै सिटौलालाई उठाउने चर्चासमेत चलेको थियो ।

कार्यवाहक सभापति पौडेलले चाहेको स्थानमा एडजस्ट गर्ने अफर गरे पनि महामन्त्री सिटौलाले आफ्नो हठ नत्यागेपछि अहिले पनि सिटौलालाई संस्थापनका नेता कार्यकर्ताले संस्थापनबाटै एउटै उम्मेदवार बनाउन उम्मेदवारी फिर्ता लिन निरन्तर दबाब कायमै गरेको बुझिएको छ । त्यसो हुँदा संस्थापन पक्षको एकमात्र उम्मेदवार हुने र संस्थापनलाई एक ढिक्का बनाएर प्यानलको विजय सुनिश्चित गराउन सहज हुने भएकोले चिन्तित नेता कार्यकर्ताले महामन्त्री सिटौलालाई अन्तिम समयसम्म पनि ठण्डा दिमागले सोचेर सहमतिमा पुग्न दबाब दिएका छन् ।

खासगरी जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि र कोइराला परिवारसहितका नेताहरूले त्यागको भावना देखाउन र पार्टीलाई समेत एक ढिक्का बनाएर लैजान यस्तो दबाबलाई कायमै राखेको बुझिएको छ ।

 

]]>